मुटु रोग युवापुस्तामा भयावह बन्दै (भिडियोसहित)

लोकपथ
988
Shares

सन् २००० देखि प्रत्येक वर्षको सेप्टेम्बर २९ तारिखका दिन विश्व मुटु दिवस मनाउदैं आएकोमा यस पटकको नारा ‘युज हर्ट टु कनेक्ट’ रहेको छ ।

विश्वव्यापी रूपमा मुटु रोगको समस्या र मुटु रोगका कारणले मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गएको कारणले यस वर्षको नारा ‘युज हर्ट टु कनेक्ट’ राखिएको हो । डिजिटल प्रविधिको प्रयोग गरेर भए पनि आफ्नो मुटुलाई स्वस्थ राख्न सम्पर्क गरौँ भन्ने नै यो वर्षको नाराको अभिप्राय रहेको छ ।

मुटु रोगको समस्याबाट अहिले विश्वमा बर्सेनि १ करोड ७९ लाख भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । सरुवा रोग नभएको अवस्थामा पनि यो रोगबाट मृत्यु हुनेहरूको सङ्ख्यात्मक वृद्धिलाई चिकित्सा क्षेत्रका विशेषज्ञहरू यसलाई ‘साइलेन्ट किलर’ को उपनाम दिन्छन् ।

पछिल्लो समय नेपालमा पनि मुटु रोगका बिमारीहरूको सङ्ख्या तीव्र रूपमा बढी रहेका मान्छन् । पहिला वृद्ध अवस्थामा पुगेपछि देखिने मुटु रोगका समस्याहरू अहिले युवा पुस्ताहरूमा झन् व्यापक रूपमा देखा परिरहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रत्नमणि गजुरेल बताउँछन् । उनका अनुसार अहिलेका युवा पुस्ताको खानपिन, जीवनशैली र उनीहरूले अँगालेका दुर्ब्यसनका कारण उनीहरूमा मुटु रोगको समस्या बढेको बताउँछन् ।

डा. गजुरेलका अनुसार बिशेषत सहरी क्षेत्रमा बाल्यावस्था देखिनै शारीरिक मेहनत गर्नु पर्ने खेल र गतिविधिहरू कम हुदैं गएको छ । अधिकांश बालबालिका इण्डोर गेममै रमाउन थालेका छन् यसको प्रभाव उनीहरू युवापुस्तामा पुग्दा पनि देखिएको छ । यो बाहेक सहरी क्षेत्रको खानपिन शैलीमा परिवर्तन आएको छ । जङ्क फुड र चिल्लो खानेकुरामा स्वाद बढी बसेको कारणले पनि मुटु रोगको समस्या युवापुस्तामा बढेको देखिन्छ ।

डा. गजुरेलका अनुसार युवा अवस्थामै हर्ट अटेकका समस्याहरू देखा पर्नु राम्रो सङ्केत होइन । मुटु रोग सरुवा रोग नभएर पनि बिस्तारै महामारीको रूपमा फैलिरहनु सबैका लागि चिन्ताको विषय हो । मुटुमा हुने विभिन्न किसिमका समस्या आउन दिने र नदिने कुराको निर्णय स्वयं व्यक्ति नै जिम्मेवार रहन्छ । उचित खानपिन, जीवनशैली अपनाउने हो भने मुटु रोगको समस्यालाई हुन नदिन पनि सकिने चिकित्सकहरू बताउँछन् ।

विश्व मुटु दिवसको अवसरमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रत्नमणि गजुरेलसँग गरिएको कुराकानीको भिडियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?