काठमाडौं। मुलुक मासुमा लगभग आत्मनिर्भर भएको देखिएको छ । स्वदेशी उत्पादनले बजार माग धान्ने देखिएपछि मुलुक आत्मनिर्भरतर्फ गएको देखिएको हो ।
नेपालमा हरेक वर्ष डेढ करोडको हाराहारीमा खसीबोका तथा भेडा च्यांग्रा उत्पादन हुनेगरेका छन् । खपत पनि त्यसैको हाराहारीमा हुनेगरेको छ । दशैँका लागि भारतबाट पनि खसीबोका आउने गर्छन् । तर अब भने भारतबाट नआए पनि स्वदेशी उत्पादनले धान्ने उत्पादक संघ तथा संस्थाहरूले जनाएका छन् ।
उपत्यकामा मात्रै ३८ हजार खपत
यसपालिको दशैँमा काठमाडौँ उपत्यकाका लागि ३८ हजार हजार खसीबोका खपत हुनेभएको छ । दशैँ नजिकिँदै गर्दा खसीबोका तथा भेडाच्यांग्राको खपत बढ्न थालेको हो । पशु सेवा विभाग तथा उत्पादक तथा व्यवसायीको छलफलले काठमाडौं उपत्यकाका खसीबोका खपतको अनुमान गरेको हो । गत वर्षको दशैँमा उपत्यकामा ३० हजार खसी खपत भएको थियो ।
चौपाया संघ, कृषक, सहकारी संस्था, खसीबोका उत्पादक महासंघलगायतका संघसंस्थाले मागअनुसारको आपूर्ति गराउन सक्ने जनाएको विभागका सहायक सूचना अधिकारी श्याम यादवले बताए ।

‘खसीबोका उत्पादन गर्ने विभिन्न संघहरूले ५१ हजार खसीबोका उपलब्ध गराउने जनाएका छन्’, उनले भने ।
काठमाडौं उपत्यकामा आवश्यक मासुको मोटामोटी मागको अनुमान गरेको विभागले खसीबोका तथा भेडा च्यांग्रालगायत विभिन्न स्थानबाट आएको प्रतिबद्धताका कारण अभाव नहुने जनाएको छ ।
सहायक सूचना अधिकारी श्याम यादवका अनुसार नेपाल व्यावसायिक बाख्रापालक महासंघले उपलब्ध गराएको प्रतिबद्धताअनुसार सातै प्रदेशबाट खसीबोका उपलब्ध गराउने जानकारी आएको छ ।
जसमा :
प्रदेश १ – ११ हजार वटा
प्रदेश २ – ६ हजार वटा
बागमती प्रदेश –१७ हजार ५ सयवटा
गण्डकी प्रदेश–२ हजार ५ सयवटा
लुम्बिनी प्रदेश –७ हजार ५ सयवटा
कर्णाली प्रदेश –७ हजारवटा र
सुदूरपश्चिम प्रदेश – ९ हजारवटा
उत्पादक संघले ५१ हजारसम्म उपलब्ध गराउने
बाख्रा उत्पादक महासंघले दशैँमा मासुको अभाव हुन नदिने जनाएको छ । दशैँमा आवश्यक मासुको सहज आपूर्ति गराउन उत्पादक महासंघ तयार रहेको नेपाल व्यावसायिक बाख्रापालक महासंघले जनाएको छ ।
‘हामीले ५१ हजारको हाराहारीमा खसीबोका उपलब्ध गराउन सक्छौँ’, महासंघका अध्यक्ष प्रेमसागर पौडेलले भने ।

महासंघले वार्षिक १ करोड वटाको हाराहारीमा खसीबोका उत्पादन गर्दै आएको छ । खसीबोकामा नेपाल आत्मनिर्भर हुने अवस्थामा पुगेकाले भारतबाट ल्याउन नपार्ने अवस्था भएको पौडेलले बताए ।
सरकारले २ हजार खसीबोका र च्यांग्रा बेच्ने
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैँमा दुई हजारवटा खसीबोका बेच्ने तयारी गरेको छ । घटस्थापनाका दिनदेखि खसीबोका बेच्ने तयारी गरेको तयारी थालेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने (सुवेदी)ले बताइन् । उनका अनुसार खसीबोका ल्याएर लामो समय राख्न समस्या हुने भएकाले घटस्थापनाको अघिल्लो दिन ल्याएर बिक्री वितरण गरिने योजना रहेको छ ।
‘लामो समय खसीबोका होल्ड गर्न समस्या हुन्छ । त्यसैले ल्याउनेबित्तिकै बिक्री गरिहाल्नुपर्छ’, सूचना अधिकारी न्यौपानेले भनिन् ।

गत वर्ष कम्पनीले १ हजार ५ सय १० वटा खसीबोका बिक्री गरेको थियो । कम्पनीले करिब ७ करोड रुपैयाँ छुट्याएको छ ।
यस्तो उत्पादन र खपत
नेपालमा वर्ष १ करोड २८ लाख १२ हजारको हाराहारीमा खसीबोका र बाख्रा उत्पादन हुनेगरेको पशु सेवा विभागले जनाएको छ । जसमा ४५ लाख खसीबोका मासुका लागि योग्य हुने विभागको भनाइ छ ।
काठमाडौंमा मात्रै करिब १ हजार २ सयको हाराहारीमा खसीकोका दैनिक जसो काट्ने गरिन्छ । दशैँ सुरु हुनुसाथ थप ३० देखि ५० हजारको हाराहारीमा खपत हुनेगरेको विभागका सहायक सूचना अधिकारी यादवे बताए ।

नेपालमा वार्षिक ५ लाख ४९ हजार ३ सय ३२ मेट्रिक टन मासु खपत हुनेगरेको विभागको तथ्यांकले देखाएको छ । जसमा ५ लाख ४८ हजार ९ सय ३४ मेट्रिक टन मासु स्वदेशी उत्पादन हो भने ३ सय ९८ मेट्रिक टन मासु भारतबाट आउने गरेको छ ।
पछिल्लो समय भारतीय बजारबाट निकै कम मात्रामा मासुका लागि खसीबोका आयात हुनेगरेको छ । नेपाल र भारतको खुला सीमाका कारण पनि गैरकानुनी रुपमा समेत भित्रिने गरेको विभागको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया