नेपाली भूमि अतिक्रमण गरेको भन्दै चीनविरुद्ध काठमाडौंमा प्रदर्शन

लोकपथ
11.1k
Shares

काठमाडौं । नेपाली भूमि अतिक्रमण गरको भन्दै चीनविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ ।

हुम्लास्थित नेपाली भूमि चीनले अतिक्रमण गरेको विरोधमा राष्ट्रिय एकता अभियानले सोमवार प्रदर्शन गरेको हो । अभियानले माइतीघर मण्डलामा चीन विरुद्ध प्रदर्शन गर्दै चिनियाँ राष्ट्रपति सी चिङपिङको पुत्ला समेत दहन गरेको छ । चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गर्दै अभियानका केन्द्रीय संयोजक विनय यादवले चीनद्वारा विभिन्न बाहानामा बारम्बार नेपाली भूमि अतिक्रमण भइरहेको बताए ।

उनले मिचिएको नेपाली भूमि यथाशीघ्र फिर्ता गर्नु पर्ने मागसमेत राखे । उनले भने,‘चीनको नेपालमाथि जहिलेपनि गिद्ध कुदृष्टि रहेकोले चीनको राष्ट्रपतिको आज पुत्ला दहन गरिएको हो र अब उपरान्त चीनले हाम्रो भूमि फिर्ता गरेन भने देशभरी चीनको विरुद्धमा हामी आन्दोलन गर्न बाध्य हुने छौँ ।’

प्रदर्शनको क्रममा सहभागीहरुले चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर र अघोषित नाकाबन्दी खुला गर भन्दै चीनविरुद्ध नारा लगाएका थिए । प्रदर्शनमा हुम्ला जिल्लाको सीमावर्ती क्षेत्रका जनताहरुको पनि सहभागिता रहेको थियो ।

प्रदर्शनको क्रममा हुम्लाका स्थानीयवासीहरुले चीनले नेपालको भूमी मिचेको ठोकुवा समेत गरेका छन् । हुम्ला सीमा नाकाका स्थानीय कोटन्व तामाङले चीनले पिल्लर नै नयाँ राखेको र नेपाली भूमिमा भवनहरु बनाएर बार समेत लगाएको बताएका छन् । उनले भने,‘नेपाली भूमी चीनले मिचेकै हो, पुरानो पिल्लर नै गायब पारिएको छ ।’ १२ नम्बर पिल्लर राख्दा जनप्रतिनिधिलाई जानकारी नगराइएको र स्थानीय मान्छे पनि नराखी परिवर्तन गरिएको उनले बताए ।

अर्का स्थानीयका अनुसार नेपालको भूमिमा चीनले बार लगाएको छ । ती स्थानीयले भने,‘ नेपाली भूमि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी क्षेत्रको लाप्चामा पर्ने ललोङजोङमा ३÷४ वर्ष अगाडि कुनै भवन थिएन, कुनै बार लगाइएको थिएन, अहिले बार लगाएको पनि देखिन्छ, नेपाली भूमिमा चिनियाँहरुले भवन बनाएको पनि देखिन्छ ।’

नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङले भवनहरू नेपाली भूमिमै बनेको पाइएको बताए । भवनहरू नेपाली भूमिमा रहेपनि केपी ओलीको सरकारले हतारोमा सो भूमि चीनकै स्वामित्वमा रहेको बताउँदा स्थानीयहरू भने चिन्तित भएको उनले बताए ।

चिनियाँहरूले भवन बनाएको ठाउँभन्दा पर ग्यापुदोचा भन्ने ठाउँको पानी ढलो भएदेखि यता नेपाल उता चीन रहेकोमा उनीहरूले अतिक्रमण गरी भवनहरू बनाउँदा पनि तत्कालीन केपी आली नेतृत्वको सरकार सीमा मिचिएको होइन भनेर बसेकामा नाम्खा ६ का वडा अध्यक्ष पाल्जोर तामाङ गुनासो गर्छन् । वडा अध्यक्ष पाल्जोर तामाङले चिनियाँहरूले करिब डेढ किलोमिटर वर ललुङजोङको नेपाली भूमीमा आएर भवनहरू बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?