कहिलेदेखि भन्न थालियो जय नेपाल ?

लोकपथ
546
Shares

जय नेपाल ! हामी धेरैले सुनेको वाक्य हो । व्यक्ति पेशा र सन्दर्भमा फरक फरक अर्थ लाग्ने गरि यसको प्रयोग हुने गरेको छ। यो वाक्य राष्ट्रिय अभिवादनको रुपमा पनि प्रयोग भैरहेको छ । सैनिक प्रहरीले आफ्नो अभिवादनमा जयनेपाल शब्द प्रयोग गर्ने गरेको छ । यस्तै राजनैतिक रुपमा कांग्रेस र कांग्रेस निकट रहेकाहरुले पनि अभिवादन गर्नु परे जय नेपाल भन्ने चलन छ । अझ भनौ कसैले जय नेपाल भन्यो भने कि त्यो सेना वा प्रहरी हो कि त्यो नेपाली कांग्रेसको कार्यकर्ता हो बुझ्ने चलन छ । विदेशमा जयनेपाल भनेर सम्बोधन भएमा नेपाली रहेछ भनेर बुझ्ने गरिन्छ ।

खासमा यो वाक्य कसरि प्रयोगमा आयो त ? कतिपयले गोपालप्रसाद रिमाल र शुक्रराज शास्त्रीले जय नेपाल भन्ने चलन चलाए भन्ने पनि छ । तर त्यसको आधिकारिक प्रमाण रेकर्ड पाइदैन ।

बीपी, कोइराला गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारी लगायत धेरै नेपाली युवाहरु भारतीय स्वतन्त्रता आन्दोलनमा सकृय रुपमा सहभागी थिए । भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन अन्त्य गर्न सकिदैन भन्ने उनीहरुको वुझाई थियो ।

भारत स्वतन्त्र हुने करिव करिव तय भएपछि नेपालमा राजनीतिक दलहरु खुल्न थाले । नेपाली कांग्रेसका नेताहरु बीच जय नेपाल भनेर संवोधन गर्ने चलन त्यही बेला शुरु भएको हो ।

त्यो बेलासम्म नेपाललाई गोर्खा भनिन्थ्यो । काठमाडौंलाई मात्र नेपाल भन्ने चलन थियो । पछिसम्म पनि त्यो चलन रह्यो ।

नेपाली कांग्रेसमा खास गरी बीपीलाई के लाग्यो भने काठमाडौंलाई काठमाण्डौं र मेची देखि महाकालीसम्मलाई नेपाल भन्ने चलन चलाउनु पर्छ । २००७ सालको क्रान्ति देखि त्यसलाई आन्दोलनकै रुपमा अघि वढाइयो । मुक्ति सेनाका जवानहरु विच भेट्दा र छुट्टिदा जय नेपाल भन्ने चलन शुरु भयो । त्यसैको आधारमा पुलिसले अहिले पनि जय नेपाल नै भन्ने गरेको छ ।

२००७ सालको क्रान्ति सफल भएपछि मुक्ति सेनाका धेरै कमाण्डरहरु नेपाल प्रहरीमा समाहित भए । प्रहरीको उच्चपद आईजीपी पनि भए । जसमा जीबी याकथुम्वा, पूरण सिंह खवास, रोमवहादुर थापा र डीबी लामा लगायत थिए ।

त्यसै गरी रेडियो नेपालले अहिले पनि दिनको सुरुवात जय नेपालबाट गर्छ । किन भने नेपाली कांग्रेसले क्रान्तिको वेला तारिणीप्रसाद कोइरालाले खोलेको प्रजातन्त्र रेडियोले जय नेपाल भनेर प्रशारण शुरु गर्दथ्यो । पछि विराटनगरबाट त्यही रेडियोलाई काठमाडौं ल्याएर रेडियो नेपालमा परिणत गरियो । त्यसैले रेडियो नेपालले अहिले पनि प्रशारण शुरु गर्दा जय नेपाल भनेर प्रशारण शुरु गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?