काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सुरु गरेको क्यूआर कोडले कारोबारमा छलाङ मार्न थालेको छ ।
सरकारले विद्युतीय भुक्तानीलाई प्राथमिकता दिएसँगै क्यूआर कोडमार्फत हुने कारोबारले छलाङ मार्न थालेको हो । गभर्नर अधिकारी राष्ट्र बैंक छिरेसँगै क्यूआर कोडमार्फत कारोबारलाई अभियानकै रुपमा अगाडि बढाएका थिए ।
गभर्नर अधिकारीले फलफूल बजार, तरकारी बजार, चिया पसल, किराना पसल, होटल, रेष्टुरेन्टलगायतका क्षेत्रमा क्यूआर कोड लागू गरे । गत वर्ष त गभर्नर अधिकारीलाई क्यूआर कोड उद्घाटन गर्न भ्याई नभ्याई थियो । काठमाडौं उपत्यकामा मात्र होइन, बैंक तथा वित्तीय संस्थाहरूले उपत्यकाबाहिरका विभिन्न जिल्लाहरूमा पनि धमाधक क्यूआर कोड लागू गरे । जसले गर्दा क्यूआर कोडमार्फत हुने कारोबारले छलाङ मार्न सफल भयो ।
राष्ट्र बैंकले क्यूआर कोडमार्फत हुने कारोबारलाई अभियानका रुपमा अगाडि बढाएपछि सर्वसाधारणको चासो पनि त्यसतर्फ बढेको देखिन्छ । क्यूआर भुक्तानी गर्दा भुक्तानी भएको पैसा स्वदेशमै रहन्छ । अर्थात् विदेशमा जाँदैन । भिषा र मास्टरकार्डको प्रयोग गर्दा निश्चित पैसा विदेश पठाउनुपर्ने हुन्छ । तर क्यूआर कोडको माध्यमबाट कारोबार गर्दा त्यस्तो गर्नु पर्दैन । त्यसै कारण क्यूआर कोडको कार्यान्वयनमा गभर्नर अधिकारी उत्साहित रुपमा लागेका थिए ।
गभर्नर अधिकारीले पहिलो पटक सानिमा बैंकको अगुवाइमा नक्साल तरकारी बजारबाट क्यूआर कोडबाट भुक्तानी गर्ने कार्यको सुरुवात गरेका थिए । काठमाडौंका तरकारी, फलफूल बजार तथा होटल रेष्टुरेन्ट र चिया पसलहरूमा समेत क्यूआर कोड लागू गरेर विद्युतीय भुक्तानीमा छलाङ मार्न सफल भए ।
राष्ट्र बैंकले क्यूआर कोडलाई अभियानको रुपमा अगाडि बढाउँदै गर्दा तरकारी बजार, फलफूल बजार, टेम्पो, मन्दिरको भेटी, यातायात क्षेत्र, चिया पसल, होटल तथा रेष्टुरेन्टलगायतमा क्यूआर कोड लागू गरिसकेको छ । कोरोनाको संकमण सुरु भए पनि डिजिटल कारोबारको विकल्पको रुपमा आएको क्यूआर कोडमार्फत कारोबार गर्न सर्वसाधारण आकर्षित भएको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।

‘पछिल्लो समय क्यूआर कोर्डतर्फ सर्वसाधारणको आकर्षण देखिन्छ’, उनले भने ।
के हो क्यूआर कोड ?
‘क्यूआर कोड’ अर्थात् ‘क्वीक रेस्पोन्स’ । यो प्रणालीबाट कारोबार गर्दा मोबाइलबाट बैंकले उपलब्ध गराएको कोड क्लिक गर्नेबित्तिकै कारोबार हुन्छ । अर्थात् क्यूआर कोडको माध्यमबाट छिटो छरितो तरिकाबाट तत्काल कारोबार गर्न सकिन्छ ।

मोबाइलको सहाराबाट कुनै पनि कारोबार सजिलैसँग गर्न सकिन्छ । बैंकले उपलब्ध गराउने कोडको प्रयोग गरी त्यसलाई स्क्यान गरी सजिलैसँग भुक्तानी गर्न सकिन्छ ।
यसरी गर्न सकिन्छ क्यूआर कोडबाट भुक्तानी
यस प्रकारको भुक्तानी विशेष गरी मोबाइलबाट हुने भएकाले कुनै पनि व्यक्तिको बैंक खातासँगै मोबाइलमा बैंकिङ एप हुनु अत्यन्तै जरुरी छ । आईएमई–पे, प्रभु–पे ई–सेवा तथा खल्तीलगायतका वालेटबाट क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिन्छ ।
मोबाइल बैंकिङ एपभित्रै कुनै पनि भुक्तानी सेवा प्रदायक कम्पनीहरूको फिचर लिंक रहेको हुन्छ । क्यूआर कोर्ड स्क्यान गरेर बैंकिङ एपमार्फत रकम भुक्तानी गर्न सकिन्छ । त्यसका लागि इन्टरनेट अनिवार्य रुपमा आवश्यक पर्छ । भुक्तानी गर्दा क्यूआर कोडमा व्यक्ति वा संस्थाको नाम, खाता भएको बैंकको नाम तथा खाता नम्बर भएको हुनुपर्नेछ ।
यस्तो छ कारोबार
चालू आवको पहिलो महिनासम्मै क्यूआर कोडमार्फत हुने कारोबार उत्साहजनक भएको देखिएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार क्यूआर कोडमार्फत हुने कारोबार उल्लेख्य मात्रामा बढेको देखिएको हो । राष्ट्र बैंकका अनुसार साउन महिनामा मात्रै क्यूआर कोडमार्फत ५ अर्ब ५६ करोड रुपैयाँको भुक्तानी भएको छ ।

यस अवधिमा १२ लाख ९३ हजार ३४९ वटा कारोबार भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यो कारोबार हालसम्मकै बढी हो ।
क्यूआर कोडमार्फत हुने कारोबार गत असारमा ३ अर्ब ६५ करोड १० लाख रुपैयाँ, जेठ महिनामा १ अर्ब ९६ करोड ८० लाख, वैशाख महिनामा २ अर्ब ५२ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

कोरोनाले निम्त्याएकोे विकल्प
कोरोना संकटले निम्त्याएको डिजिटल कारोबारको विकल्प हो, क्यूआर कोड । क्यूआर कोड लागू गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अभियान नै चलाए । गभर्नर अधिकारीले तरकारी बजार, फलफूल बजार, खाद्यान्न पसल, किराना पसललगायतका स्थानमा क्यूआर कोड लागू गरे । कोरोनाका कारण सामाजिक दूरी कायम गर्नुपर्ने हुन्छ ।
त्यसैले कारोबार गर्दा एक व्यक्तिले अर्काे व्यक्तिलाई छुनु नपर्ने भएकाले क्यूआर कोडबाट हुने कारोबार उच्च रुपले बढ्यो । २०७७ मा डिजिटल बैंकिङले छलाङ मारेको वर्ष हो । त्यसमध्ये क्यूआर कोडले व्यापकता पायो ।
पछिल्ला दिनहरूमा गाउँ–गाउँमा इन्टरनेटको पहुँच पुगिसकेको छ । जसले गर्दा डिजिटल कारोबारलाई थप टेवा पुगेको छ । विगतका वर्षहरूमा राजधानी तथा देशका मुख्य सहरहरूमा मात्रै इन्टरनेट सेवा थियो । जसले गर्दा डिजिटल बैंकिङ प्रभावकारी हुन सकेको थिएन ।
एकातिर राष्ट्र बैंकले क्यूआर कोडलाई डिजिटल बैंकिङको पछिल्लो अभ्यासका रुपमा अगाडि बढायो भने बैंक तथा वित्तीय संस्थाहरूले पनि केही समयअघिदेखि विदेशमा कारोबार गर्न डलर कार्डको पनि सुरुवात गरिसकेका छन् । यसले पनि डिजिटल कारोबारलाई थप टेवा पु¥याएको छ ।
यस्ता छन् क्यूआर कोडका फाइदाहरू
क्यूआर कोडको माध्यमबाट कारोबार गर्दा छोटो समयमा तत्कालै गर्न सकिन्छ । त्यसैले सबैभन्दा ठूलो फाइदा त समयको बचत हुन्छ । स्मार्टफोन तथा इन्टरनेट भएमा खल्तीमा पैसा बोकेर हिँड्नुपर्ने झन्झट हटाउँछ ।
काम प¥यो भने पैसा झिक्न एटीएम बुथ धाउनुपर्ने अवस्था पनि हुँदैन । त्यसैले पनि यो भुक्तानी सेवा लोकप्रिय हुँदै गएको छ ।
त्यस्तै, क्यूआर कोडमार्फत भुक्तानी गर्दा खुद्रा पैसाको झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने र ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने हुँदा सुरक्षित समेत हुने राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, बैंकमा आवतजावत गर्न समय पनि नलाग्ने, क्यूआर कोडको प्रयोग गरेर सामान खरिद गर्दा कागजी नोटबाट कारोबार गर्दा हुने सम्भावित खतराबाट पनि जोगिन सकिन्छ । जस्तो ः रोगका किटाणुहरू कागजी नोटमा लामो समयसम्म रहन सक्छन् ।
पछिल्लो समय आएको कोरोना भाइरस ‘कोभिड १९’ पनि कागजी नोटबाट सर्ने चिकित्सकहरूले बताएका छन् ।
त्यसका साथै क्यूआर कोडका माध्यमबाट कारोबार गर्दा नोटको जतन समेत हुन्छ । नोट छपाइमा सरकारले ठूलो रकम खर्च गर्नुपर्ने भएकाले सो खर्च बचाउन पनि क्यूआर कोडको माध्यमबाट हुने कारोबारले ठूलो सहयोग गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया