सुदूरपश्चिम प्रदेश : कोरोनाबाट थला परेको पर्यटन क्षेत्र तंग्रिदै

कैलाली । कलाकार पल शाह एक महिनाअघि सुदूरपश्चिमको प्रमुख पर्यटन गन्तव्य खप्तड पुगे । उनीसँगै कलाकार गरिमा शाह सहितको टीम खप्तड पुगेको थियो । कलाकार शाह सहितको टोली खप्तडमा एउटा गीतको छायांकनका लागि पुगेको थियो ।

कलाकार शाह पहिलो पटक खप्तड पुगेका हुन् । उनले आफ्नो खप्तड यात्राको श्रव्यदृश्य बनाएर आफ्नो अफिसियल पेजमा राखेका छन् । बझाङदेखि पैदल खप्तडको यात्रा गरेका उनले भिडियोमा भनेका छन्, ‘लामो पैदल यात्रा गर्दा लागेको थकाई खप्तड पुगेपछि हरायो । साच्चै सुन्दर रहेछ, खप्तड ।’

कोरोना महामारीको झण्डै दुई वर्ष तहसनहस बनेको पर्यटन क्षेत्र केही तंग्रिने क्रममा छ । कोरोना रोकथामका लागि दोस्रो पटक गरिएको लकडाउन खुकुलो पारिएपछि कलाकार शाहसहितको टोली पनि खप्तड पुगेको थियो । उनी मात्रै होइनन्, पछिल्ला केही सातायता सुदूरपश्चिम प्रदेशका खप्तड, लगायतका पर्यटनस्थलहरूमा विस्तारै आन्तरिक पर्यटक आगमनमा बृद्धि हुन थालेको छ ।

नेपालमा २०७६ सालको चैत्र ११ गतेदेखि सरकारले लकडाउन शुरु गरेसँगै व्यापार, व्यवसाय, यातायात, विद्यालय, होटल आदि क्षेत्र प्रभावित बन्दै गए । कोरोना रोकथामका लागि गरिएको लकडाउनसँगै सिमा नाका बन्द भए । सडक तथा हवाई यातायात समेत बन्द भयो । मान्छेको चहलपहल पूर्ण रुपमा बन्द भयो । परिणामस्वरुप सबै पर्यटनस्थलहरू ठप्पप्रायः बने ।

अहिले अवस्थामा केही परिवर्तन आउन थालेको छ । सुदूरपश्चिम प्रदेशमा स्थानीय प्रशासनहरूले लकडाउन खुकुलो गरेसँगै पर्यटनस्थलहरूमा आन्तरिक पर्यटकहरूको चहलपहल पनि बढेको छ । सुदूरपश्चिम प्रदेशको खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, टीकापुर पार्क, बडीमालिका, रामारोशन, दोधारा चाँदनी पुल, निङ्लासैनी, उग्रतारा, कर्णाली पुल लगायतका प्रमुख पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरूको आगमन बढ्दै गएको छ । प्रमुख पर्यटन स्थलहरूमा मात्रै नभएर धार्मिक मठमन्दिर, झरना, ताल, पार्क आदि स्थानमा पनि आन्तरिक पर्यटकहरूको चहलपहल बढीरहेको पर्यटन क्षेत्रमा काम गरिरहेका व्यवसायीहरू बताउँछन् ।

‘हाम्रो प्रदेशका प्रायः पर्यटनस्थलमा बढीजसोे भारतीय र देशका विभिन्न जिल्लाका पर्यटकहरू नै आउने गर्दछन््’ पर्यटन व्यवसायी किशोर खड्काले भने, ‘कोरोना महामारीपछि भारतीय पर्यटकहरू आउने क्रम बढेको छैन । अहिले हामीहरू आन्तरिक पर्यटकहरूलाई केन्द्रित गरेर पर्यटनका गतिविधि अघि बढाइरहेका छौँ ।’

पर्यटन व्यवसायी खड्काका अनुसार सुदूरपश्चिम प्रदेशमा विदेशी पर्यटकको सबैभन्दा बढी रोजाईमा रहेको पर्यटनस्थल अपि सैपाल हो । उनी भन्छन््, ‘विदेशी पर्यटकहरू प्रायः हिमाल आरोहण र ट्रेकिङ (पैदलयात्रा) गर्न रमाउँछन् । द्वन्द्वकालको समयमा पनि अपिसैपाल हिमालमा उल्लेख्य संख्यामा विदेशी पर्यटक आउने गर्दथे ।’ उनले थपे, ‘हामीले अपिसैपाललाई केन्द्रमा राखेर कार्यक्रम बनाउनु आवश्यक भइसकेको छ । अहिले सैपाल हिमालको बेस क्याम्पसम्म पदमार्ग पनि निर्माण भइसकेको छ ।’

पर्यटन व्यवसायी मायाप्रकाश भट्टले पर्यटन क्षेत्रमा निजी क्षेत्रको निकै ठूलो लगानी रहेकोले व्यवसायीकरणमा बढी ध्यान दिनुपर्ने बताए । पर्यटन व्यवसायी भट्टले अब पर्यटन क्षेत्रको प्रचार–प्रसार भन्दा पनि व्यवसायीकरणमा बढी ध्यान दिनुपर्नेमा जोड दिए ।

कैलाली होटल व्यवसायी संघका अध्यक्ष कलमबहादुर बम अझैँ पनि सिमा नाका राम्ररी नखुलेका कारण भारतीय पर्यटकहरू आउन नसकेको बताउछन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा खुकुलो भएसंगै होटल व्यवसायमा पनि सुधार भइरहेको बताए ।

कैलालीको चुरे गाउपालिकाको खानिडाँडाँमा आठ वर्षदेखि होटल ब्यवसाय गर्दै आएका नविन रावत पनि पछिल्ला केही सातायता आन्तरिक पर्यटकहरूको चहलपहल बढेको बताछन् । उनका अनुसार बिहानै बुडर झर्ना अवलोकन गर्न जानेहरू फर्केर राती खानीडाडामा नै बास बस्ने गरेका छन्।

प्रदेश सरकारको उपलब्धी – पर्यटन ऐन

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पर्ने प्रदेश पर्यटन ऐन जारी गरिसकेको छ । प्रदेश सरकारले प्रदेशमा पर्यटन क्षेत्रको प्रवद्र्धन, विकास गर्न विभिन्न कार्यक्रमहरू पनि अघि बढाएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्र्तगतको पर्यटन इकाई प्रमुख भोजराज पाठकले भने, ‘हामीले प्रदेश पर्यटन ऐन ल्याइसकेका छौं । अब पर्यटन विकास गुरुयोजना ल्याउने तयारीमा छौं ।’ उनले गुरुयोजना निर्माणको अन्तिम चरणमा रहेको बताए ।

त्यस्तै, प्रदेश सरकारले बडिकेदार, खप्तड, रामारोशन, बैद्यनाथ क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन गरि बजेट तथा कार्यक्रमको अख्तियारी प्रदान गरि पर्यटन पूर्वाधार विकास सम्बन्धी कार्यहरू सञ्चालन गरिरहेको बताए ।
मन्त्रालयले यस वर्ष पूर्वाधार विकाससँगै पर्यटन क्षेत्रको पहिचान, प्रचार–प्रसार, भ्रमण लगायतका कार्यक्रम अघि बढाउने जनाएको छ ।

प्रदेश सरकारले होमस्टे सञ्चालनका अनुदान, सीमा नाकामा पर्यटक सहायता कक्ष स्थापना र सञ्चालन गर्ने लगायतका कार्यक्रम पनि चालु आर्थिक वर्षमा अघि बढाएको छ ।

पर्यटन क्षेत्रमा अझैँ पूर्वाधारको कमी

कुनै पनि पर्यटन स्थलमा जाँदा पर्यटकले आफ्ना लागि सुरक्षित बास, गाँससँगै अन्य कुरा खोज्छन् । तर, प्रदेशमा चर्चामा रहेका पर्यटकिय स्थलहरूमा पूर्वाधारको खासै विकास हुन सकेको छैन ।

सुदूरपश्चिम प्रदेशमा तराईका दुई तथा पहाडका सात जिल्लामा धार्मिक, सांस्कृतिक, पुरातात्विक, साहसिक (हिमाल आरोहण, ¥याफ्टिङ, प्याराग्लाईडिङ), ग्रामीण पर्यटन लगायतको पर्यटनको राम्रो सम्भावना रहेको चर्चा हुने गर्दछ । पर्यटन व्यवसायीहरू आवश्यक पूर्वाधारको कमीका कारण आन्तरिक तथा बाह्य पर्यटक आगमनको अवस्था कमजोर रहेको बताउँछन्।

सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय तहहरू तथा संघीय सरकारले पर्यटन पूर्वाधार विकासमा उचित ध्यान दिन नसकेको पर्यटन व्यवसायीहरूको गुनासो रहदै आएको छ । पर्यटन व्यवसायी किशोर खडकाले भने, ‘प्रदेशका पर्यटकीय स्थलसम्म पुग्न पर्यटकलाई सहज छैन । तर, प्रदेश सरकारले त्यसमा ध्यान दिएको छैन ।’ उनले सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन शिर्षकका नाममा ससाना मन्दिरहरूमा मात्रै बढी बजेट विनियोजन गरिरहेको बताए ।

सुदूरपश्चिम प्रदेशका अछाम, बझाङ, बाजुरा र डोटी जिल्लामा पर्ने खप्तड सधैँ आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाई हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा कर्णाली नदीमा ¥याफ्टिङको निकै सम्भावना रहेको छ । त्यस्तै, टीकापुर पार्क, विश्व रामसार क्षेत्रमा सूचिकृत घोडाघोडी ताल तथा डल्फिन क्षेत्र, जाखोर ताल, गोदावरीधाम, शिवपुरीधाम आदि महत्वपूर्ण गन्तव्य रहेका छन्।

त्यस्तै, कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष, दोधारा–चाँदनीको झोलुंगे पुल, वेदकोटताल, डडेल्धुराको उग्रतारा तथा परशुरामधाम, डोटीको शैलेश्वरी, अछामको रामरोशन, बैद्यनाथधाम तथा पञ्चदेवल, बाजुराको बडीमालिका, बुढीनन्दा, बझाङको सुर्मा सरोवर र साइपाल हिमाल, बैतडीको पात्लाभुमेश्वर गुफा, त्रिपुरासुन्दरी, जगन्नाथ, निंग्लासैनी, दार्चुलाको अपि हिमाल, मल्लिकार्जुन लगायतका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थल रहेका छन्।

यसबाहेक सुदूरपश्चिमको विविध जातजातिको भेषभूषा, कलासंस्कृति, खानपिन, रहनसहन ग्रामीण पर्यटनका भरपर्दो आधारका रुपमा रहेका छन्।

प्रदेशका तराईका दुई जिल्लामा रहेका पर्यटकीय स्थलहरूसम्म सडक यातायातको सुविधाका साथै सुविधासम्पन्न होटल, लज र अन्य पूर्वाधारको तुलनात्मक रुपमा विकास भइसकेकोले पर्यटन आगमनमा केही सहज भए पनि पहाडी जिल्लामा पूर्वाधार विकास हुन नसकेकोले पर्यटन विकासले गति लिन नसकेको नेपाल टुर एण्ड ट्राभल्स एशोसियसन (नाटा)का सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्ट बताउँछन्।

गत वर्ष सुदूरपश्चिम प्रदेश सभा सचिवालयका कर्मचारीहरूले कैलाली कञ्चनपुरका विभिन्न पर्यटकिय स्थलहरू भ्रमण गरेका थिए । प्रदेश भित्रको आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन सो भ्रमण गरिएको थियो ।

भ्रमणपश्चात तयार पारिएको प्रतिवेदनमा खाना र बासका लागि व्यवस्था मिलाउनुपर्ने सँगै थुपै्र सुझाव दिइएको छ । पर्यटकिय स्थलमा पर्यटकका लागि सुरक्षाको व्यवस्था नभएको, फोहोर व्यवस्थापनमा ध्यान नदिइएको, स्थलसम्म सडक मार्ग यात्रा कठिन हुने गरेको लगायतका सुझाव दिइएको छ ।

कैलालीका पर्यटकीय स्थल

कैलाली बढि सामुदायिक वन, तालतलैया, विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल, वसन्ता जैविक मार्ग, विभिन्न भेषभुषा, जातजाती, रहनसहन, संस्कार र संस्कृतिले भरिएको जिल्ला हो ।

कैलालीमा १३ वटा स्थानीय तहले ताल, पार्क तथा मन्दिरलाई पर्यटकिय गन्तव्य बनाइरहेका छन्। जिल्लामा थारु समुदायको कलासंस्कृति, रहनसहन, परिकार पर्यटकका लागि आकर्षण रहदै आएको छ ।

जिल्लाका हरेक स्थानीय तहमा पर्यटनको प्रचुर सम्भावना रहेको छ । स्थानीय तहहरूले पर्यटन विकासका लागि विविध प्रयास गरिरहेका छन् ।

गोदावरी नगरपालिकाको गोदावरी धाम, हाटखोली, लामीताल, बनदेवी मन्दिर, बुढीताल, भल्का पिक्निकस्थल, मछेली नदी पर्यटकीय सम्भावना क्षेत्र रहेको पर्यटक व्यवसायीहरू बताउँछन् ।

गौरिगंगा नगरपालिकामा राधाकृष्ण मन्दिर, कालिका मन्दिर, बागडोला मन्दिर, गायत्री अनुष्ठान, दैद्वारी मन्दिर, गोलादेउ मन्दिर, मोहन्याल मन्दिर, सप्तऋषि आश्रम, शिव मन्दिर, कालिका मन्दिर, रामकृष्ण मन्दिर र मोहन्याल बाबा मन्दिरलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने प्रयास भइरहेको छ ।

त्यस्तै, घोडाघोडी नगरपालिकामा विश्व सिमसार सूचिमा सुचिकृत घोडाघोडी ताल रहेको छ । नगर प्रमुख ममताप्रसाद चौधरीले घोडाघोडी नगरपालिकामा सबैभन्दा बढी सामुदायिक वन, तालतलैया रहेको बताए ।

भजनी नगरपालिका, टीकापुर र जानकी नगरपालिकाको प्रमुख पर्यटकिय गन्तव्यका रुपमा डल्फिन क्षेत्र रहेको छ । तीनवटै स्थानीय तहले डल्फिन क्षेत्र संरक्षणलाई प्रोत्साहन गरी आन्तरिक तथा बाहय पर्यटक भित्रयाउने नीति लिईने उल्लेख गरेका छन्।
कैलालीको लम्कीचुहा नगरपालिकाले कर्णाली नदीमा ¥याफटिङलाई जोड दिएको छ । बर्दगोरिया गाउँपालिकाले बर्दगोरिया धामको विकासमा ध्यान केन्द्रीत गरेको छ ।

त्यस्तै, कैलारी गाउँपालिकाले बनदेवी मन्दिरमा पार्क निर्माण, कालीमाई मन्दिर, कोईलही ताल, सामरचौरा गाउमा होमस्टे संचालन र शिव मन्दिर खरेटी गाउमा पर्यटकीय संरचना निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

जोशीपुर गाउँपालिकाले लभ्ली पार्क निर्माण गरेको छ भने चुरे गाउँपालिकाले गर्भा दरवार, कम्पासे धुरा, रातीपहिरो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?