कांग्रेस १४औँ महाधिवेशन : को हुन् सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंह ?

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको लागि सभापतिमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

कांग्रेसको १४औँ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुँदै छ । अहिले स्थानीय तहका अधिवेशन धमाधम भइरहेका छन् ।

केही जिल्लामा भने क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन नै हुन सकेको छैन । सभापतिमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेका बेला कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले पनि आफूले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

संस्थापनइतर अर्थात् वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट साझा उम्मेदवारको खोजी भइरहेका बेला पौडेल खेमामै रहेका सिंहले उम्मेदवारी घोषणा गरेका हुन् । पौडेल समूहमा साझा उम्मेदवार चयनका नाममा अहिलेसम्म पनि सहमति नजुटेपछि सिंहले उम्मेदवारी घोषणा गरेका हुन् ।

पौडेल खेमामै रहेका कल्याण गुरुङले पनि यसअघि नै सभापतिमा उम्मेदवारी दिने बताएर उनी आफ्नो गृहजिल्ला महोत्तरी पुगेका छन् । पौडेल समूहबाट स्वयम् पौडेल, महामन्त्री डा. शशांक कोइराला र डा. शेखर कोइराला पनि सभापतिको आकांक्षी रहेका छन् ।

संस्थापन अर्थात् वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले पनि सभापतिमा पुनः दोहोरिनका लागि तयारी गरिसकेका छन् भने देउवा खेमामै रहेका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने देउवानिकट रहेका पाका नेता गोपालमान श्रेष्ठले पनि सभापतिमा उठ्ने बताएका छन् ।

श्रेष्ठले लोकपथसँग भने, ‘म सभापतिमा पछि हट्दिनँ । निधिले देउवासँगको लामो संगत छोडेर चुनावी अभियान सुरु गरिसकेका छन् । अहिले संस्थापन र संस्थापनइतर दुवै पक्षबाट साझा उम्मेदवारको टुंगो लागेको छैन । अहिलेसम्म उम्मेदवारी घोषणा गर्नेहरु सबैले पछि नहट्ने बताएका छन् ।

को हुन् त प्रकाशमान ?

प्रकाशमान नेपाली कांग्रेसका सर्वाेच्च नेता गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहका सुपुत्र हुन् । विक्रम संवत २०१२ मा काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका प्रकाशमानले स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् ।

प्रकाशमान कांग्रेसको पारिवारिक विरासतबाट राजनीतिबाट आए पनि उनलाई पार्टीमा दुःख गर्नसक्ने र कार्यकर्ताको भावना बुझ्न सक्ने नेताका रुपमा लिने पनि गरिन्छ । उनको राजनीतिक थलो काठमाडौं भए पनि देशभरका कार्यकर्तासँग उनी सहज रुपमा उपलब्ध हुने नेतामा पर्छन् ।

कांग्रेस एक केन्द्रीय सदस्यका अनुसार प्रकाशमान पार्टी उपसभापति र महामन्त्री हुँदा नियमित रुपमा पार्टी कार्यालय सानेपा पुग्थे । जब कि अहिलेका महामन्त्री डा. शशांक कोइरालालाई कार्यकर्ताले भेट्न निकै मुस्किल पर्ने मात्र होइन उनी महामन्त्री भईकन बिरलै मात्र पार्टी केन्द्रीय कार्यालय पुग्छन्, त्यो पनि कांग्रेसको बैठक भएको बेला मात्रै ।

प्रकाशमान कांग्रेसको काठमाडौं जिल्ला सचिव सभापति हुँदै केन्द्रीय सदस्य बनेर उपसभापति भएका हुन् । उनी २०३६ सालमा नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला सभापति भएका थिए । तर डा. शंशाक र शेखर सिधै केन्द्रको राजनीतिमा आएका हुन् । शशांक र शेखरको पारिवारिक विरासतबाहेक तल्ला तहका कार्यकर्तासँग चिनजान नभएको ती नेताको दाबी छ ।

प्रकाशमान रातदिन पार्टी र कार्यकर्ताका लागि खटिइरहेका छन् । उमेरले ६६ वर्ष टेकेका उनी राजनीतिमा निकै सक्रिय नेताका रुपमा चिनिन्छन् । प्रकाशमान अहिले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रतिनिधितव गर्छन् ।

प्रकाशमाननिकटका एक नेता भन्छन्, ‘प्रकाशमान राजनीतिमा छक्कापञ्जा गर्न नजान्ने, सिधाबाटो हिँड्ने नेता हुन् ।’

प्रकाशमानको कमजोरी त्यही रहेको ती नेताको भनाइ छ ।

प्रकाशमानले कांग्रेसमा पुस्तान्तरणको माग उठाउँदै आएका छन् । प्रकाशमानले देउवा र पौडेलबाट कांग्रेस नचल्ने भन्दै आइरहेका छन् ।

प्रकाशमान कांग्रेसमा आफ्नो अडान नछोड्ने नेताका रुपमा पनि चिनिएका छन् । प्रकाशमाननिकट ती नेताका अनुसार २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उनलाई बयानका लागि शाही आयोगले बोलाएको थियो । तर प्रकाशमान गएनन्, देउवाले शाही आयोगले बोलाएपछि जानुपर्छ नत्र जीवन तलमाथि हुनसक्छ भन्दा पनि प्रकाशमान नजाने अडानमै रहे । पछि गिरिजाप्रसाद कोइरालाले अडान लिएको भन्दै प्रकाशमानको प्रशंसा गरेका थिए ।

प्रकाशमान पार्टी उपसभापति बनिसकेका व्यक्ति हुन् । उनको अब उक्लिने पद भनेको पार्टी सभापति नै हो । प्रकाशमानलाई धेरैले पार्टीमा देउवा र पौडेलपछिको नेताका रुपमा लिनेगरेका छन् । त्यस कारण पनि प्रकाशमानले २१ फागुन २०७४ मा देउवासँग कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका थिए । देउवाले ४४ मत ल्याएर विजयी भए भने प्रकाशमानले १९ मत मात्रै लगाएका थिए । प्रकाशमान संघीय मामिला तथा उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्री भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?