हालसम्म साढे ५ खर्बभन्दा बढी जले झुत्रा र मैला नोट : कसरी गरिन्छ नष्ट ?

काठमाडौं। धार्मिक मान्यताअनुसार नोट जलाउन नपाइने भए पनि व्यवहारमा भने त्यस्तो मान्यता लागू हुँदैन ।

चल्तीचलनमा रहेका पुराना र झुत्रा नोट नेपाल राष्ट्र बैंकले जलाएर नष्ट गर्दै आएको छ । राष्ट्र बैंकले चलनचल्तीमा ल्याउन नमिल्ने मैला, थोत्रो, च्यातिएका तथा झुत्रा नोटहरू नष्ट गर्दै आएको छ । राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले यस्ता प्रयोग गर्न नमिल्ने नोटहरू हरेक वर्ष नष्ट गर्दै आएको छ ।

कसरी गरिन्छ झुत्रा नोट छनोट ?

राष्ट्र बैंकले आवश्यकताअनुसार नयाँ नोट बजारमा पठाउँदै आएको छ । सर्वसाधारणले दैनिक रूपमा प्रयोग गर्ने नोट हरेक दिनजसो प्रयोग गरेपछि मैला र झुत्रा हुँदै जान्छन् । जब ती नोट प्रयोगमा ल्याउनै नमिल्ने गरी कोरिने, मैला, झुत्रा तथा प्रयोग गर्न नमिल्ने हुन्छन् । तब राष्ट्र बैंकले त्यस्ता नोट नष्ट गर्नका लागि संकलन सुरु गर्छ ।

 

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार झुत्रा, मैला, च्यातिएका, केरमेट भएर प्रयोगमा ल्याउन नमिल्ने नोटहरू राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग तथा उपत्यकाबाहिरका राष्ट्र बैंकका विभिन्न शाखामा जम्मा गरिँदै आइएको छ ।

 

राष्ट्र बैंकले म्याद गुज्रिएका प्रयोग गर्न नमिल्ने नोटमा रातो ट्याग लगाएर सञ्चित गर्छ । ‘नयाँ नोट राष्ट्रको सम्पत्ति हो, त्यसैले केरमेट गरेर मैला र फोहोर नबनाऔँ’, प्रवक्ता ढकालले भने ।

कसरी गरिन्छ नष्ट ?

राष्ट्र बैंकले झुत्रिएर प्रयोगमा ल्याउन नमिल्ने नोट नष्ट गर्न मुद्रा व्यवस्थापन विभाग प्रमुखको संयोजकत्वमा जलन समिति गठन गरेको हुन्छ । सोही समितिले मैला तथा काम नलाग्ने नोटहरू संकलन गरी राष्ट्र बैंकको थापाथली, नेपालगञ्ज, वीरगञ्ज, पोखरा, विराटनगर, धनगढी, जनकपुर तथा भैरहवा शाखा कार्यालयहरूमा जलाउने गरिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट संकलन गरिएका विभिन्न दरका पुराना, मैला तथा झुत्रा नोटहरू पहेँलो स्टिकर लगाएर राष्ट्र बैंकको ढुकुटीमा ल्याउने गरिन्छ । त्यस्ता नोटहरूमा चल्ने र नचल्ने दुवै नोट हुन्छन् । त्यसमध्येबाट राष्ट्र बैंकका कर्मचारीहरूले प्रयोग गर्न नमिल्ने नोटहरूलाई छुट्टयाउँछन् । त्यसरी छुट्टयाइएका नोटहरू गणना गरी २ देखि ४ वटासम्म प्वाल पार्ने गरिन्छ ।

त्यसपछि सरकारको प्रतिनिधि, राष्ट्र बैंकको विभिन्न विभागको प्रतिनिधिको रोहवरमा कानुुनी प्रक्रिया पूरा गरी जलाइन्छ । राष्ट्र बैंकको सो व्यवस्थाअनुसार मुद्रा व्यवस्थापन विभागले नोट जलाउने खाल्डोमा हालेर आगो लगाई नष्ट गर्ने गर्छ । ती नोट पूर्ण रूपमा नष्ट नभएसम्म त्यहाँ उपस्थित कसैले पनि सो स्थान छोड्दैनन् ।

राष्ट्र बैंकले जुन रूपमा पुराना नोट जलाउँदै जान्छ सोहीअनुरूप नयाँ नोट पनि छाप्दै जानुपर्छ । बजारमा नयाँ नोटको माग भएअनुसार राष्ट्र बैंकले नयाँ नोट छाप्दै जान्छ । पुराना नष्ट गर्दै जान्छ । राष्ट्र बैंकले आफ्नो ढुकुटीमा ल्याएका नयाँ नोटलाई सेतो ट्याग लगाएर बजारमा पठाउने गर्छ ।

राष्ट्र बैंकले १, २, ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नोट छाप्दै आएको छ । यसअघि २५ रुपैयाँको पनि नोट छापेको थियो । यी दरका नोट छाप्दा औसतमा १ रुपैयाँ ६५ पैसा लागत पर्छ । त्यस्तै, ५०० र १००० का नोट छाप्दा प्रतिनोट औसत २ रुपैयाँ ६४ पैसा लागत लाग्ने गर्छ ।

नयाँ नोट छाप्दा मुद्रास्फीतिको दर, देशको आर्थिक वृद्धिदर, बजेटको आकार, सर्कुलेसनको ट्रेन्ड, विनिमयदरको अवस्था, विप्रेषणको प्रवाह, भुक्तानी सन्तुलनलगायत विभिन्न मापदण्डलाई हेरेर नयाँ नोट छपाइ गरिन्छ ।

कति जले मैला र झुत्रा नोट ?

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हालसम्म ५ खर्ब ६० अर्ब रुपैयाँ पुराना तथा झुत्रा नोट जलाइसकेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले हरेक वर्ष ४३ अर्बका दरले पुराना तथा झुत्रा नोट जलाउने गरेको बताए । त्यस्तै, आर्थिक वर्ष २०७६÷७७ सम्ममा ५ खर्ब ४३ अर्ब ३६ करोड ७४ लाख ७३ हजार ५ सय २५ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाइसकेको छ ।

 

यस अवधिसम्म राष्ट्र बैंकले १९ करोड ३८ लाख ८ हजार ३ सय ९ थान बन्डल नोट जलाएको हो । त्यस्तै, राष्ट्र बैंकले आर्थिक वर्ष २०७५÷७६ मा ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६ सय २६ रुपैयाँ झुत्रा नोट जलाएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७४÷७५ मा ४ खर्ब १७ अर्ब ८० करोड ९९ लाख ६४ हजार ५ सय १७ रुपैयाँ, आर्थिक वर्ष २०७७३÷७४ मा ३ खर्ब ६१ अर्ब ४० करोड ४१ लाख ९४ हजार १ सय ७९ रुपैयाँ र आर्थिक वर्ष २०७२÷७३ मा ३ खर्ब ३५ अर्ब ६४ हजार ९९ लाख ८३ हजार ६ सय ८४ रुपैयाँ नष्ट गरेको राष्ट्र बैंकले जनाएको छ ।

कति हुन्छ नोटको आयु ?

नयाँ नोटको आयु त्यति लामो हुँदैन । नोटलाई जतन नगरी चलाउँदा कम समयमा नै प्रयोग गर्न नमिल्ने गरी मैला र झुत्रा हुने गर्छन् । त्यसकारण नोटलाई जतनपूर्वक चलाउनुपर्छ । राष्ट्र बैंकका अनुसार ५०० र १००० दरका ठूला नोटको आयु साढे तीन वर्ष अनुमान गरिएको छ ।

त्यस्तै, साना नोटको आयु दुईदेखि साढे दुई वर्ष हुने राष्ट्र बैंकको भनाइ छ । नोटको आयु छोटो हुने र छपाइमा महँगो पर्ने भएकाले जतनपूर्वक नोटको प्रयोग गर्न राष्ट्र बैंकले सबैलाई आग्रह गर्दै आइरहेको छ । सर्वसाधारणले जतनपूर्वक नचलाएकैले पनि नोट चाँडै मैला र झुत्रा हुनेगरेको राष्ट्र बैंकका अधिकारीहरूको भनाइ छ ।

नयाँ नोट संरक्षण नगर्नेलाई यस्तो छ कानुनी कारबाही ?

मुलुकी अपराध संहिता २०७४ को दफा २ सय ६३ मा नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न, लेख्ने वा कोर्न, केरमेट गर्न वर्जित गरेको छ । यस दफाको उपदफा ३ मा कसुर गर्ने व्यक्तिलाई ३ महिनासम्म कैद र ५ हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ ।

यही कानुनका आधारमा नोटको जतन नगर्नेलाई राष्ट्र बैंकले कारबाही गर्न सक्छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?