झोलुङ्गे पुल मर्मतका लागि बजेटको व्यवस्था गर्छु : मुख्यमन्त्री भट्ट

लोकपथ
104
Shares

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जीर्ण अवस्थामा रहेको महाकालीको झोलुङ्गे पुल मर्मतका लागि बजेटको व्यवस्था मिलाइने बताएका छन् ।

आज दोधारा चाँदनी नगरपालिकामा भइरहेका विकास निर्माणको अवलोकन गर्न आइपुग्नुभएका मुख्यमन्त्री भट्टले झोलुङ्गे पुल मर्मतसम्भारका लागि छिट्टै बजेटको व्यवस्था मिलाइने बताए । उनले सीमा क्षेत्रका जनताको जीवनस्तरलाई सहज बनाउनका लागि विकास निर्माणका काम अगाडि बढाइएको बताए ।

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको अवलोकन गर्दै उनले पुल निर्माण निर्धारित समयमै पूरा गर्न ठेकेदारलाई निर्देशन दिए । मुख्यमन्त्री भट्टले पुल निर्माणमा आइपर्ने समस्या समाधान गर्नका लागि सहयोग गर्न तत्पर रहेको बताए । उनले पुल जोड्ने चारलेनको सडक गड्डाचौकीसम्म मात्रै निर्माण हुने भए पनि उक्त सडक चिसापानीसम्म विस्तारका लागि प्रदेश सरकारले पहल गर्ने बताए ।

मुख्यमन्त्री भट्टसहित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरी र राज्यमन्त्री मानबहादुर सुनारलगायतले निर्माणाधीन चार लेनको सडक, पक्की पुल, कृषि कार्यक्रमअन्तर्गत गरिएको मसला खेती, सुक्खा बन्दरगाहका लागि प्रस्तावित मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रसँगै महाकाली नदीमा निर्माण गरिएको तटबन्धको अवस्थाका बारेमा अवलोकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?