पर्यटन दिवसमा पोखरामा मिनी महोत्सव हुने

RSS
182
Shares

काठमाडौं । रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले पर्यटन दिवसका अवसरमा असोज ११ गते मिनी महोत्सव गर्ने भएको छ । रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले आज पत्रकार सम्मेलन गरेर हरेक वर्ष गर्दै आइरहेको मिनी महोत्सवलाई यस वर्ष स्वास्थ्य सतर्कतासहित निरन्तरता दिइने बताएका हुन् ।

अध्यक्ष बरालले खोपको सहजता र निषेधाज्ञा खुला भएसँगै पर्यटनलाई चलायमान गराउन एकदिने मिनी महोत्सवको आयोजना गरिएको बताए । उनका अनुसार महोत्सवमा साङ्गीतिक व्याण्ड, नेवार समुदायको लाखे नाँच, पञ्चेबाजा, थारु समुदायको प्रचलित झुम्रा नृत्य, गन्धर्व समुदाय लगायतको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।

उनले कोरोना महामारी पूर्णरुपमा निर्मूल भई नसकेकाले महोत्सव क्षेत्रमा नो भेइकल जोनको अवधारणालाई अङ्गीकार गरी भीडभाड व्यवस्थित गरेर महोत्सव गरिने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले कोरोनाका कारण सुस्ताएको पर्यटनलाई अब चलायमान गराउन पर्यटक लक्षित गतिविधि आवश्यक रहेको जनाउँदै मिनी महोत्सवले पोखरा सुरक्षित र खुला छ भन्ने सन्देश दिने बताए ।

सो अवसरमा भट्टराइले कोरोना महामारीले आक्रान्त भएको पर्यटन क्षेत्रलाई वित्तीय संस्थाले व्याजदर बढाएर थप पीडा दिएको भन्दै सिङ्गल डिजिटमा ऋण उपलब्ध गराएर पर्यटन व्यवसायीलाई विस्थापित हुनबाट जोगाउनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत नवीन पोखरेलले पर्यटन दिवसका अवसरमा कूटनीतिक नियोगका पदाधिकारीको टोली पोखरा र आसपासको पदमार्गमा पुग्ने र यसले पोखरा सुरक्षित र खुला छ भन्ने सन्देश दिने बताए । उनले पोखरामा पर्यटक आकर्षित गर्ने धेरै कुरा रहेको उल्लेख गर्दै मिनी महोत्सव जस्ता कार्यक्रमले आन्तरिक पर्यटकलाई प्रर्वद्धन गर्ने बताए ।

रेवानका सचिव भीष्मराज पौडेलले पोखरा खुल्दैछ र यहाँका व्यवसायी पाहुनालाई सेवा दिन तयार छन् भन्ने सकारात्मक सन्देश दिन र पर्यटन दिवस पोखरामा मनाउनका लागि निम्तो दिन पनि महोत्सव गरेको जानकारी दिए ।

पौडेलका अनुसार नेपाल पर्यटन बोर्ड प्रवद्र्धक र प्रदेश सरकार पर्यटन मन्त्रालय र पोखरा पर्यटन परिषद् सहयोगी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?