धनुषा । धनुषाको ढल्केवर जटही सडक खण्डअन्तर्गत मिथिला नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकाबीचमा पर्ने औरही नदिमा निर्धारित समयभन्दा सात महिनाअघि नै तीनवटा पुल निर्माण सम्पन्न भएको छ । रसुवा निर्माण कम्पनीले सात महिनाअघि नै तीनवटै पुल निर्माण गरी सरकारलाई हस्तान्तरण समेत गरिसकेको छ ।
ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा रसुवा कन्स्ट्रक्सनले सात महिनाअघि नै तीनवटा पुल निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको छ । ढल्केवर जनकपुर जटही सडक खण्डमा रसुवा निर्माण कम्पनीले सम्झौता अबधि सकिन सात महिना बाँकी रहँदै तीनवटा पुल निर्माण सम्पन्न गरि सरकारलाई हस्तान्तरण गरेको हो ।

ढल्केवर जनकपुर जटही सडकलाई ६ लेनको सडकमा स्तरोन्नति गरेपछि धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा सरकारले ६ लेनको सडकलाई मिल्नेगरी तीन वटा पुल निर्माण गरेको हो । सडक विस्तार भएदेखि सवारी साधनको चाप बढेको र भएको पुरानो पुलबाट आउजाउ गर्न समस्या भइरहेका बेला एकै चोटी तीन तीन वटा पुल बनेपछि सवारी साधनलाई आउजाउ गर्न सहज भएको छ ।
सरकारसंग भएको सम्झौता अनुसार २०७८ चैत्र मसान्तमा तीन वटै पुल हस्तान्तरण गर्नुपर्ने भएपनि काम सम्पन्न हुनुपर्ने मिति भन्दा सात महिना अगाडि नै ७७ करोड २७ लाख रुपैयाँको लागतमा पुल निर्माणको काम सम्पन्न भएको हो । नेपाल सरकार र रसुवा कन्स्ट्रक्सनबीच २०७६ असोज ३० गते सम्झौता भर्इ मंसिरदेखि काम सुरु भएका तीनवटै पुल सवारीसाधनका लागि खुला गरिएको छ ।
औरही खोलामा निर्माण सम्पन्न तीन वटा पुलमध्ये दुई वटा पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्विस लेनको रुपमा राखिएको छ । पुलको लम्बाई १ सय ४३ दशमलब ५ मिटर र चौडाई ११ दशमलब ६ मिटर छ । सो पुलबाट एकतिरबाट एक पटकमा तीनवटा सवारी साधन चलाउन सकिने र छुट्टाछुट्टै लेनका लागि फरक फरक पुल नेपालमा पहिलो पटक यही निर्माण भएको रसुवा निर्माण कम्पनीका इन्जिनियर धिरेन्द्र साहनीले बताए ।

यस अघि पनि दर्जनौँ स्थानमा रसुवा कन्स्ट्रक्सनले ठेक्का सम्झौता अवधिभन्दा अगावै निर्माणसम्पन्न गरी सरकारलाई आयोजना हस्तारण गरिसकेको छ । औरही खोलामा ठेकेदारले सात महिनाअघि तीनवटा पुल निर्माण गरेर हस्तान्तरण गरेपनि ढल्केवर जटहीमा ६ लेनकै सडकको सपही र नक्टाझिज स्थित खहरे खोलामा एकैदिन सम्झौता भएको अर्को निर्माण कम्पनीले जग निर्माण गरेर पुलको बाँकी काम अधुरै छाडेको अवस्थामा रहेको छ ।
कतिपय ठाउँमा निर्माण कम्पनीको ढिलासुस्तिका कारणले विकास निर्माणका काम वर्षौँसम्म अलपत्र हुने गरेको भए पनि रसुवा निर्माण कम्पनीले समयसिमा अगावै निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेर उदाहरणीय काम गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया