एक करोड मात्रा खोप आउने सुुनिश्चित

लोकपथ
624
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक करोड मात्रा खोप आउने सुुनिश्चित भएको बताएका छन् ।

संयुुक्त राज्य अमेरिकाको नेतृत्वमा भएको विश्व कोभिड–१९ सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस वर्ष लक्षित जनसङ्ख्यामध्ये कम्तीमा आधा जनसङ्ख्यालाई एक मात्रा खोप लगाउने जानकारी दिए ।

उनले हालसम्म एक चौथाइ बढीले खोपको पूर्णमात्रा पाइसकेको प्रस्ट पारे । अबको खोप अभियानका लागि एक करोड मात्रा खोप सुनिश्चित गरिएको समेत प्रधानमन्त्री देउवाले जानकारी दिए । उनले भने, “अबको हाम्रो ध्यान सक्रिय जनसङ्ख्याका रूपमा रहेको १२–१८ वर्ष उमेर समूूहलाई खोप लगाउनेतर्फ केन्द्रित रहेको छ ।”

प्रधानमन्त्री देउवाले नेपालले स्वास्थ्य पूर्वाधारमा सुधार, अक्सिजन र अत्यावश्यक चिकित्सा सामग्रीको आपूर्ति र परीक्षण सुविधाको विस्तारमा केन्द्रित भएको सम्मेलनमा जानकारी गराए । कोभिड महामारीको त्रासदी अहिलेको पुस्ताले सामना गर्नुपरेको औँल्याउँदै उनले पहिलो र दोस्रो लहरबाट पाठ सिक्दै सुुविधा विस्तारमा लागेको बताए । साथै कोभिडको जिन सिक्वेसिङ क्षमताको विकासमा पनि नेपाल अघि बढेको बताए ।

कोभिडबाट सुरक्षा प्रदान गर्ने शिक्षा जारी राखिएको भन्दै प्रधानमन्त्री देउवाले नेपाललाई सङ्कटको समयमा सहयोग गर्ने सबै साझेदारलाई धन्यवाद प्रकट गरे ।

विश्व स्वास्थ्य सुरक्षा कोष स्थापनाको समर्थन गर्दै र त्यसको सही परिचालनका लागिसमेत उनले आह्वान गरे । त्यस कोषमा विकसित साझेदारबाट नियमित सहायताका लागि प्रतिबद्धता आवश्यक रहेकोमा प्रधानमन्त्रीले जोड दिए ।

अमेरिकी राष्ट्रपति जोए बाइडेनको अध्यक्षतामा भएको सम्मेलनमा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले आफ्ना अनुभव तथा दृष्टिकोण आदानप्रदान गरेका थिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?