सोहना जातिको संरक्षण गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री भट्ट

लोकपथ
715
Shares

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।

लोपोन्मुख सोनाहा जातिलाई राज्यले आदिवासी जनजातिका रूपमा सूचीकृत गर्नुपर्ने माग गर्दै सोनाहा विकास समाजले शुक्रबार बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सोनाहा जातिको संरक्षण र सम्वद्र्धन गर्न नसके अस्तित्व नै लोप भएर जाने बताए ।

सोनाहा जातिलाई राज्यले सूचीकरण नगरेका कारण राज्यले उपलब्ध गराउँदै आएको सेवासुविधाबाट वञ्चित हुनुपरेकाले राज्यले लोपोन्मुख सोनाहा जातिको संरक्षण र सम्वद्र्धन गर्न जरुरी रहेको उनले बताए ।

मुख्यमन्त्री भट्टले सर्वोच्च अदालतले नै सूचीकरण गर्न सरकारलाई निर्देशन दिइसकेकाले सोनाहाको सूचीकरण कसैले रोक्न नसक्ने बताए । उनले सोनाहा जातिलाई सूचीकृत गर्न सुदूरपश्चिम प्रदेश सरकारले सङ्घीयसरकारलाई आग्रह गर्ने आश्वासन दिए ।

सूचीकरणका लागि सोनाहा समुदाय आफँै सक्रियतापूर्वक लाग्नुपर्ने बताउँदै उनले भने, “कमैया र दलित समुदायले आफैँले सङ्घर्ष गरेर अधिकार लिएको उदाहरण सोनाहाले सिक्नुपर्ने हुन्छ ।”

सोनाहा समुदायले परम्परादेखि नै नदीमा सुन चाल्ने, माछा मार्नेलगायतका काम गर्दै आएका छन् । सोनाहाले सूचीकरण नहुँदा सुन चाल्ने, माछा मार्ने, डुङ्गा चलाउनेदेखि बास, गाँस, कपास, शिक्षा, स्वास्थ्य, राजनीतिक अधिकार, रोजगारी र सामाजिक सुरक्षासमेतमा वञ्चित हुनुपरेकोसमाजका अध्यक्ष बलबहादुर सोनाहाले गुनासो गरे ।

सोनाहा जातिको कैलाली, कञ्चनपुर र बर्दियामा गरी तीन जिल्लामा एक हजार २०० जनसङ्ख्या रहेको जनाइएको छ । सूचीकरण भएन भने सो सङ्ख्या लोप भएर जाने चिन्ता सो समुदायको चिन्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?