दशैँ नजिकिँदै गर्दा दर्जनौँ सडक अवरुद्ध : कसरी जालान् यात्रु घर ?

काठमाडौं। अत्यधिक वर्षका कारण दर्जनभन्दा बढी सडकको अवस्था नाजुक रहेको छ ।

नेपालीहरूको महान चाड दशैँ नजिकिँदै गर्दा मुलुका सडकहरूको अवस्था निकै दयनीय अवस्थामा रहको हो । वर्षायाममा लगातार भारी वर्षाका कारण अहिले अधिकांश सडकहरू अवरुद्ध भएका छन् ।

सडक विभागका अनुसार मुलुका विभिन्न १२ स्थानमा सडक अवरुद्ध भएका छन् । अत्याधिक वर्षका कारण सडक अवरुद्ध भएपछि विभागले १२१ स्थानमा अवरोध हटाएर एकतर्फी रूपमा बाटो सञ्चालन गरेको छ । विभिन्न ८४ स्थानमा दुवैतर्फ बाटो खुला भएको विभागका प्रवक्ता शिवप्रसाद नेपालले बताए ।

विभागका अनुसार बाजुराको साँफेबगर–मार्तडी–कोल्टीको बल्दे अम्कोटमा सडक अवरुद्ध भएको छ । त्यसैगरी, मनाङ जिल्लाको डुम्रे–बेँशीसहर–चामे राजमार्गको तिमाङ छहराको राजमार्ग अवरुद्ध भएको छ । त्यस्तै, पाल्पाको पीपलडाँडाको बाटो पनि अवरुद्ध भएको छ । यो बाटो बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्यांजा–पोखरा खण्डअन्तर्गतको हो ।

त्यसैगरी, अमेलिया–तुल्सिपुर–शीतलपाटी–थारमारे–मुसीकोट सडकखण्डअन्तर्गतको शंखमुलको बाटो अवरुद्ध भएको छ ।

त्यस्तै काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडकखण्डअन्तर्गतको गौडे पुल अवरुद्ध भएको छ । हालसम्म पनि यो बाटो खुलेको छैन ।

त्यसैगरी डुम्रे बेँशीसहर–चामेको तिमाङ खोला,सोही सडक खण्डको धारापानी, बगरछाप, रामबजार, अर्खलेलगायतका सडकखण्ड अवरुद्ध भएका छन् ।

त्यसैगरी, डोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशुली–वेत्रावती, मैलुङ–स्वफ्रुबेँसी–रसुवागढीअन्तर्गतको त्रिशुली खोला, सानो भार्खु खोला गाँजाबारी सडकखण्ड अवरुद्ध भएको छ । त्यस्तै, काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारीअन्तर्गतको जुरे सडकखण्ड अवरुद्ध भएको छ । खाड्पे–चैनपुरअन्तर्गतको चेनपुर सडकखण्ड पनि अवरुद्ध भएको छ ।

उपत्यका छाड्ने यात्रु प्रभावित हुने

उपत्यका छाड्ने अधिकांश यात्रु स्थलमार्ग नै प्रयोग गर्छन् । बाढी, पहिरो, वर्षा तथा अन्य विभिन्न कारणबाट दर्जनौँ सडकहरू अवरुद्ध भएपछि दशैँका लागि घर जाने यात्रुहरू प्रभावित हुने भएका छन् ।

हरेक वर्षको दशैँमा हजारौँ यात्रुहरू हवाइ मार्ग हुँदै पनि घर जाने गरेका छन् । तर अधिकांश सर्वसाधारण स्थलमार्ग हुँदै घर जाने गरेका छन् ।

यात्रा सहज बनाउन यातायात व्यवसायीको माग

दशैँ नजिकिँदै गर्दा मुलुका अधिकांश बाटोहरूको अवस्था नाजुक भएपछि यातायात व्यवसायीहरूले सहज यात्राका लागि सरकारसँग अनुरोध गरेका छन् । अधिकांश बाटोघाटोको अवस्था नाजुक भएका कारण दशैँमा यात्रा गर्न असहज हुने भन्दै यातायात व्यवसायीले तत्काल बाटोघाटो मर्मत गर्न आग्रह गरेका हुन् ।

‘सरकारले तत्काल बाटोघाटो मर्मत गरेर यात्रा सहज बनाओस्’, यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने ।

यातायात व्यवसायीले सरकारले बाटाघाटो मर्मत नगरे दशैँका लागि अग्रीम टिकटको बुकिङ खोल्ने अवस्था नभएको बताउँदै आएका थिए । तर सरकार, ट्राफिक प्रहरी, जिल्ला प्रशाशन र यातायात व्यवसायीबीच असोज ११ गतेदेखि टिकटको अग्रीम बुकिङ खोल्ने निर्णय भने भइसकेको छ ।

विकल्प के ?
दशैँको यात्रालाई मध्यनजर गर्दै विभागले जतिसक्दो चाँडो विभिन्न स्थानमा भएका सडक अवरुद्ध हटाउने काम गरिरहेको जनाएको छ ।

‘सडक अवरुद्ध हुनेबित्तिकै हामीले तत्काल खोल्ने प्रयास गरिरहेका छौँ’, विभागका प्रवक्ता नेपालले भने ।

दशैँको यात्रालाई लक्षित गर्दै अवरुद्ध भएका सडकहरू खोल्ने र गाडी सञ्चालन गर्ने प्रयास गरिरहेको उनले बताए । साथै खाल्डाखुल्डी भएका स्थानमा पुर्ने, सवारी चल्न मिल्ने गरी बाटो सहज रूपमा खोल्ने काम भइरहेको नेपालको भनाइ थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?