सामान्यतया महिला पुरुष बराबर हुन् । दुवैको समान अधिकार छ भनिए पनि व्यवहारमा लागू हुन सकेको छैन । विश्वका विकसित भनिएका मुलुकमा अझै पनि दैनिक महिला हिंसा भएको घटनाहरू बाहिरिने गरेका छन् ।
पितृसत्तात्मक सोच हावी भएको नेपालमा पनि महिला र पुरुषबीच ठूलो विभेद छ । नेपालमा सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, प्रशासनिकलगायतका सबै क्षेत्रमा पुरुषको तुलनामा महिलाहरूको सहभागिता ज्यादै न्यून छ । पहिलाको तुलनामा केही कम भए पनि पूर्णरूपमा महिलाहरू स्वतन्त्र भइसकेको अवस्था छैन । परम्परागत रूपमा जातपातको भेदभाव, चाँडो विवाह, छोराको महत्व र समाजको मूल्य मान्यता मान्नैपर्छ भन्ने रुढिवादी सोचाइका कारणले गर्दा पनि महिलाहरू पुरुष समान हुन पाएका छैनन् ।
लैंगिक भिन्नताका कारण लैंगिक असमानता, साधन र स्रोतको अवसरमा कमी भएको कारण महिलाहरूको स्तर निकै पछाडि परिरहेको छ । तर महिलाको हकहितको लागि काम गर्ने संस्थाहरू पनि कम छैनन् । साथै नेपालको संविधानमा समेत महिलासम्बन्धी हक सुनिश्चित गरिएको छ । त्यस्तै अन्तर्राष्ट्रियस्तरमा पनि नारीलाई पुरुषसरह हरेक क्षेत्रमा समानता हुनुपर्छ भन्ने उद्देश्यका साथ विभिन्न नारी सम्मेलनहरू भइरहेको पनि छ । तर प्रस्ट, व्यावहारिक र भरपर्दो रूपमा छैन ।
महिला र पुरुषमा हुने विभेदहरू
महिलाहरू शारीरिक र शक्तिका दृष्टिले पुरुषभन्दा कमजोर हुन्छन् भन्ने सोच हावी हुनाले पनि यो पुरुषप्रधान समाजले उनीहरूलाई घरधन्दा अनिवार्य गरेर बाहिरको जिम्मेवारी पनि थपिदिएका हुन्छन् । नेपालमा महिलाहरूप्रति विगत सयौँ वर्षदेखि गरिँदै आएका विभेदमूलक कार्यहरू निम्अनुसार छन् :
- महिलाले पतिको मृत्युपछि सती जानु पर्ने, तर पुरुषले जानु नपर्ने । विसं १९७७ असार २५ गतेका दिन चन्द्र शमशेरले सतीप्रथा पूर्ण रुपमा उन्मूलन गरेका थिए । त्यसयता करिब ९ लाख एकल महिलाहरुले जीवन पाए
- पुरुषले अर्की श्रीमती ल्याउन पाउने, तर महिलाले सहनुपर्ने ।
- महिलालाई सन्तान पैदा गर्ने साधनको रूपमा मात्रै लिने ।
- अचल सम्पत्ति, जायजाद आदि पुरुषको नाममा मात्रै दर्ता हुने तर महिलाको नाममा नहुने । हाल प्रोत्साहन गरिएको छ ।
- महिनावारी हुँदा अलग्गै वा छाउपडी गोठमा बस्नुपर्ने बाध्यता ।
- महिलाहरूले बालबच्चाहरूको स्याहार–सुसार गर्ने, बच्चा हुर्काउने, खाना बनाउने, बालबच्चाहरुलाई खाना खुवाउने, भाँडा माझ्ने, वस्तुभाउ हेर्ने, खेती गोडमेल गर्ने, बीउ रोप्ने, बुढाबुढीलाई स्याहार–सुसार गर्ने समेत गर्दछन् । यस्ता कामहरूमा पुरुषहरूको उपस्थिति भए पनि सहभागिता भने प्राय हुँदैन ।
- धेरैजसो परिवारहरूमा, अहिले पनि महिलाहरू परिवारका सम्पूर्ण पुरुष सदस्यहरूले खाना खाइसकेपछि मात्र खाना खान्छन् । यो पनि महिलाप्रति गरिने विभेदमूलक कार्य हो ।
- सुदूरपश्चिमका दुर्गम जिल्लाका नवविवाहित बुहारीहरु अझै पनि मध्ययुगीन दास प्रथाको जस्तै परिवेशमा जीवनयापन गरिरहेका छन् ।
- शिक्षामा पनि विभेद जस्तै : छोरालाई स्कुलमा पठाउने तर छोरीलाइ घरको काममा लगाउने, त्यसैगरी तराईतिर छोरालाई निजी स्कुलमा र छोरीलाई सरकारी स्कुलमा पढाउने । विभिन्न कलकारखाना र उद्योगहरूमा पनि महिलाहरूलाई निम्नस्तरको पारश्रमिक दिने र मामुली काममा लगाउने आदि गरिनु
केही सुधार तर भएन उल्लेखनीय प्रगति
पहिलाको तुलनामा महिलाहरूको स्तर उल्लेखनीय मात्रामा सुधार भएको छ । महिलाहरूको शैक्षिक गुणस्तरमा पनि वृद्धि हुँदै गएको छ । भनिन्छ, एक महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छन् । त्यस्तै गरी स्वास्थ्य अवस्थामा पनि विगतको तुलनामा महिलाको स्वास्थ्य स्थितिमा सुधार आएको विभिन्न अध्ययनले देखाएको छ ।
सती प्रथाको उन्मूलन भएसँगै नेपालमा अधिकार र स्वतन्त्रताको लागि धेरै कार्यहरू भएका छन् । जसको फलस्वरूप वर्तमानमा भएको परिवर्तन प्रत्यक्ष देख्न सकिन्छ । अहिले नेपालमा ठूलो संख्यामा महिलाहरू शिक्षित भएका छन् । पुरुषसरह विभिन्न पेसामा जागीरे भएका छन् । घर परिवारको जिम्मेवारी उठाउन सक्ने भएका छन् ।
पुरातनवादी सोच र पुरुषवादी मानसिकतामा शुद्धीकरण नभएसम्म नारी मुक्ति कतै सम्भव छैन । महिलामाथि हुने यातना, हिंसा, बालिका भ्रुणहत्या, बलात्कार, बालविवाह, बहुविवाह, अपहरण, तस्करी, बेचबिखन, महिलाहरूमा आइपर्ने कठिनाइबारे चेतना जगाउन, महिला अधिकारलाई विश्वव्यापी बनाउन, महिलाहरूप्रति गरिने सबै प्रकारका भेदभाव अन्त्य गर्नका लागि संयुक्त राष्ट संघीय महासभाद्वारा महिलाविरुद्व भेदभाव उन्मूलन महासन्धि पारित गरिएको छ । तर यसले मात्र समस्याको समाधान हुँदैन ।
पुरातनवादी सोचमा परिवर्तन र पुरुषवादी मानसिकतामा शुद्धीकरण हुनसके मात्र समानताको व्यवहार देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया