पत्रकारको पाठेघर र स्तन क्यान्सर परीक्षण गराउने कार्यक्रम शुभारम्भ

लोकपथ
70
Shares

चितवन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले पत्रकार र परिवारका सदस्यको पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण कार्यक्रम शुभारम्भ गरेको छ । कार्यक्रमको आज बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शुभारम्भ गरिएको हो ।

महासङ्घको अगुवाइमा आज र असोज १४ गते शिविर गरिने छ भने अन्य समयमा आउनेलाई आवश्यक सहजीकरण गरिने अस्पतालले जनाएको छ । उद्घाटन सत्रमा महासङ्घका केन्द्रीय सचिव सिर्जना अर्यालले दिनरात नभनी काम गर्ने पत्रकार महिला र पत्रकारका परिवारका महिला सदस्यलाई अभियानको रुपमा कार्यक्रम थालनी गर्नु सह्रानीय कार्य भएको बताए ।

सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले समयमा उपचार गरेमा क्यान्सर निको हुने भएकाले नियमित परीक्षण गर्न सुझाव दिए । उनले भने, “समयमा रोग पहिचान भएमा थोरै खर्च र समयमा क्यान्सर निको पार्न सकिन्छ ।” स्तन र पाठेघरको क्यान्सर मुख्य पाँच वटा क्यान्सरमा पर्ने उल्लेख गर्दै उनले भने, “स्तन क्यान्सर आफैँ छामेर परीक्षण गर्न सकिन्छ ।” जनचेतनाको अभावका कारण सामान्य हेलचक्र्याइले क्यान्सर फैलिने गरेको उनको भनाइ छ ।

खानपान र जीवनशैलीमा परिवर्तन गर्न सक्ने हो भने धेरै क्यान्सरका रोगबाट बच्न सकिने बताउँदै उनले अगाडि भने, “शारीरिक रुपमा सक्रिय जीवनयापन गर्ने र विषादीरहित खाना खाँदा पनि धेरैजसो क्यान्सरबाट बच्न सकिन्छ ।” क्यान्सर रोग रोकथामका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रम संयोजक समीक्षा पुरीको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका अध्यक्ष नारायण अधिकारी, अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्मा, अस्पतालका प्रशासक गृनारायण महतो, डा अस्मिता राणा, कार्यवाहक नर्सिङ प्रमुख रिता घिमिरे, सिनियर स्टाफ नर्स तारा दवाडीलगायतको उपस्थिति रहेको थियो । महासङ्घका अध्यक्ष अधिकारीले सुन्दा सामान्य लागे पनि स्तन र पाठेघरको क्यान्सर परीक्षण महत्वपूर्ण भएको बताए । कार्यक्रममा ३२ जना महिलाको पाठेघरको मुखको र स्तनको स्क्रिनिङ्ग (परीक्षण) गरिएको थियो ।

मागअनुसारको मोटरसाइकल चोरी

मोटरसाइकल चोरी गर्ने गिरोहले माग अनुसारको मोटरसाइकल चोरी गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मोटरसाइकल चोरी गर्ने गिरोहले ग्राहकको चाहनाअनुसार मोटरसाइकल चोरी गर्ने गरेका हुन् ।

मोटरसाइकल चोरीमा संलग्न भएकालाई सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसार मात्रै मोटरसाइकल चोरी गर्ने गरेको पाइएको बताए । पक्राउ परेकाको बयान उद्धत गर्दै उनले भने, “ग्राहकको मागअनुसार ब्राण्ड, रङ्ग, मोडल खोजी खोजी चोरी गरेको पाइयो ।”

कार्यालयले विगत एक महिनादेखि सुरु गरेको ‘अप्रेशन माइक चार्ली’ अभियानका क्रममा पक्राउ परेका १४ जनालाई कार्यालयले आज सार्वजनिक गरेको छ । आठ वटा मोटरसाइकल र रु ९१ हजार नगद बरामद गरिएको अधिकारीले जानकारी दिए । पक्राउ परेकालाई चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?