प्रधानमन्त्री देउवा भन्छन् : ‘वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाउने योजना छ’

लोकपथ
234
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् ।

बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधामन्त्री देउवाले यस्तो बताएका हुन् । उनले कोरोना महामारीको खतरनाक रुप नेपालमा आएको तर यसबारे अझै कतिपय मानिसलाई जानकारी नभएकोमा दुखेसो गरे ।

प्रधानमन्त्री देउवाले नेपालको पत्रकारिता जगतलाई सुरक्षित गर्दै थप विकसित, व्यवसायीक र समृद्ध बनाउने कार्यमा लाग्न सरकार तयार रहेको बताए । उनले नेपालमा प्रेस स्वतन्त्रता रहेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमहरु खोजमुलक र सत्यतथ्यमा आधारित भएर स्वतन्त्र रहनुपर्ने सरकारको चाहना रहेको बताए । प्रधानमन्त्री देउवाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता विचार स्वतन्त्रतालाई संरक्षण गर्दै नेपालको पत्रकारिता जगतलाई थप विकसित, व्यवसायीक र समृद्ध बनाउँदै लैजाने कार्यमा सरकार आवश्यक सहयोग गर्न तत्पर रहेको समेत बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘अघि वासुदेव बर्माजीले भन्नुभयो, उहाँलाई कोरोना भएछ, उहाँको बुबाको कोरोनाको कारण निधन भएछ, बहुत दुःख लाग्यो मलाई,कपिलवस्तुमा अहिले पनि त्यस्तै स्थिती छ कि, के छ त्यहाँ मैले अक्सिजन नपाएर मरेको सुन्दाखेरि त, अत्यन्तै दुखित भएको छ। म आजै बुझेर अक्सिजनको व्यवस्था मिलाउने प्रवन्ध गर्ने विश्वास दिलाउन चाहन्छु, मैले भ्याक्सिन भ्याक्सिन भनेको थिएँ, नेपालभर नै छिटै नै भ्याक्सिनको व्यवस्था पूरा हुँदैछ, मलाई लाग्छ वैशाखसम्म सबैलाई भ्याक्सिन लगाइसकिने हाम्रो योजना छ, त्यसैकारण अहिले कोभिड पनि खतरनाक रुप नेपालमा आएको छ, धेरै मान्छेहरु मरेका छन्, कतिपयलाई कति खतरनाक छ भन्ने कुरो ज्ञान पनि छैन, यसलाई कम गर्नको लागि हामी अवश्य नै काम गर्नेछौँ, महामारी प्राकृतिक विपत्ति हो, समावेशी लोकतन्त्रको पक्षधर भएको नाताले राज्यका सञ्चारमाध्यमहरु पनि सम्पादकीय स्वतन्त्रतको सुनिश्चितता गर्दै स्वतन्त्ररुपमा सञ्चालन हुन् भन्ने वर्तमान सरकारको चाहना छ, नेपालको पत्रकारिता पेशा जोखिमपूर्ण भएको छ, यस्तो जोखिमका बाबजुद नेपाली नागरिकको सूचनाको हक रक्षा पत्रकारहरुले गर्दै आइरहेको सूचनाको संकलन र सम्प्रेषण गर्ने कार्य वर्तमान सरकार प्रेस स्वतन्त्रताको प्रवद्र्धन पत्रकारहरुको पेशागत हीत रक्षाको लागि प्रतिवद्ध छ, विगतका गौरवमय संघर्षको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता विचार स्वतन्त्रतालाई संरक्षण गर्दै नेपालको पत्रकारिता जगतलाई थप विकसित, व्यवसायीक र समृद्ध बनाउँदै लैजाने कार्यमा सरकार आवश्यक सहयोग गर्न तत्पर छ, नेपालमा प्रेस स्वतन्त्रताको हक छ, त्यसैले सत्य,तथ्यमा आधारित समाचार बनाउनुपर्छ, आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर स्वतन्त्र पत्रकारिताको काम गर्नुपर्छ, सरकारको पनि यही चाहना छ ।’

उनले नेपाल टेलिभिजन सरकारको टेलिभिजन भएकोले विभिन्न सांस्कृतिक,ऐतिहासिक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने भन्दै उमेर समूहलाई ध्यानमा राखेर कार्यक्रम ल्याउनुपर्ने बताए । प्रधानमन्त्री देउवाले नेपाल टेलिभिजन सरकारको भएकोले सरकारको मात्रै गुणगान गाउने कतिपयलाई लागेकोले त्यो काम हट्नुपर्ने बताए । उनले सरकारको टेलिभिजन भएपनि सबैलाई निष्पक्ष रुपले हेर्नुपर्ने बताए । २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा कञ्चनजंगा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्किने क्रममा तत्कालीन वन तथा भू संरक्षण मन्त्री गोपाल राईसहित २४ जनाको बाक्लो हुस्सुका कारण हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । जसमा नेपाल टेलिभिजनका पत्रकार द्वय हेम र सुनिलको निधन भएको थियो ।

त्यसयता हरेक वर्ष नेपाल टेलिभिजनले आजकै दिन हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ ।

यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका कपिलवस्तु जिल्ला संवाददाता वासुदेव बर्माले पाएका छन् । बर्माको समाचारलाई यो वर्षको जोखिमपूर्ण समाचार मान्दै टेलिभिजनले पुरस्किृत गरेको छ । हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारप्राप्त गरेको बर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?