काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनको केन्द्र देखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडी बढ्ने बताएका छन् ।
अध्यक्ष नेपालले बिहीबार पार्टी केन्द्रीय कमिटी बैठकको समापनलाई सम्बोधन गर्दै सत्तारुढ पाँच दलीय गठबन्धनको बिचमा सम्बन्ध सुमधुर रहेको बताएका छन् । उनले बाहिर हल्ला भएजस्तो गठबन्धन टुट्ने, फुट्ने र सरकार ढल्ने कुनै सम्भावना नरहेको स्पष्ट पारे । अध्यक्ष नेपालले गठबन्धनकाबिचमा केन्द्रदेखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडी बढ्ने तयारी भइरहेको जानकारी दिए ।
गठबन्धनलाई आगामी चुनावभन्दा पछिसम्म निरन्तरता दिइने उनले उल्लेख गरे । उनले भने– ‘सरकारमा सहभागी दलहरुका नेताहरुका बिचमा निकै राम्रो सुमधुर सम्बन्ध छ । बाहिर कसैले कुनै हल्ला फैलाउन खोजेतापनि यो गठबन्धन टुट्छ, फुट्छ, यो सरकार ढल्छ भन्ने कुरामा कुनै सत्यता छैन । छिट्टै हामीले यसको संरचना बनाइरहेका छौँ । त्यो संरचना केन्द्रमा बन्नेछ । दस्तावेज पास गर्नेछ । यसको नामाकरण पनि गर्नेछ । त्यसको प्रदेश, जिल्ला र पालिकामा पाँचै दलको बिचमा समन्वय संयन्त्र बनाउनेछौँ । सहकार्य पनि गर्दै जानेछौँ । आगामी चुनावमा हामी, चनुाव सम्म र चुनावपश्चात पनि हामी यो गठबन्धनलाई निरन्तरता दिन चाहान्छौँ ।’
अध्यक्ष नेपालले यो गठबन्धनको मुल आधार राष्ट्रियता, लोकतन्त्र र समाजवादको दिशामा अगाडी बढ्ने नीति रहेको उल्लेख गरे । उनले आफ्नो पार्टी कसैसँग मिसिनुपर्ने आवश्यकता नभएको पनि स्पष्ट पारे । पार्टीको जग बलियो भएको र कार्यकर्ताहरुको व्यापक समर्थन भएका कारण संगठन फैलिदै गएको पनि उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया