व्यापार घाटा ७०.६ प्रतिशतले वृद्धि

लोकपथ
208
Shares

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ७०.६ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहिवार सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थाले मुलुको वैदेशिक घाटा उच्च रुपले बढेको देखाएको हो । यस अवधिमा मुलुकको ब्यापार घाटा १२९ अर्ब ९७ करोड रुपैँया पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो ।

त्यस्तै,यस अवधिमा निर्यात–आयात अनुपात १३.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.२ प्रतिशत रहेको थियो । यस अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी १८ अर्ब ८६ करोड बराबरको वस्तु आयात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ९ अर्ब २६ करोड बराबरको यस्तो आयात भएको थियो । आर्थिक वर्ष २०७८÷७९ को पहिलो महिनामा कुल वस्तु आयात ७५.७ प्रतिशतले वृद्धि भई १ खर्ब ५० अर्ब ७३ करोडपुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८.७ प्रतिशत, ८७.६ प्रतिशत र १२०.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन लगायतका वस्तुको आयात बढेको छ भने रसायनिक मल, सिमेन्ट, सुर्ती, हवाईजहाजका पार्टपुर्जा, तयारी पोषाक लगायतका वस्तुको आयात घटेको छ । यस अवधिमा कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । त्यसैगरी,कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयात वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?