सात जिल्ला जोड्ने सडक : ठाउँ–ठाउँमा एकतर्फी बाटो, दुर्घटनाको जोखिम

धनगढी । डँडेल्धुराका स्थानीय भीमबहादुर साउद सामान ढुवानी गर्न धनगढी–डँडेल्धुरा गरिरहन्छन् । सो सडकखण्डमा यात्रा गरिरहँदा उनलाई कति बेला कहाँ दुर्घटनामा परिने हो भन्ने भय लागिरहन्छ ।
ठाउँ–ठाउँमा भत्किएका र भासिएका सडकखण्ड, कतिपय स्थानमा माटोको घेरबार, कतिपय ठाउँमा सडक भासिएका कारण एकतर्फी रुपमा मात्रै आवागमन चलाउनुपर्ने अवस्थाका कारण उनी सधैँ सो सडकमा यात्रा गर्दा भयग्रस्त हुने गरेका छन् ।

धनगढी–डँडेल्धुरा मार्गको गोदावरीदेखि माथि तीन किलोमिटर सडकखण्ड ठाउँ–ठाउँमा भासिएको छ । गत वर्ष साउनमा आएको भारी वर्षाका कारण सो सडकखण्डको तीन किलोमिटरको दूरीसम्म ठाउँ–ठाउँमा सडक भासिएको थियो ।

त्यस्तै सहजपुर–फल्टुडेसम्मको खण्डका विभिन्न स्थानमा पर्खाल समेत भत्किएका छन् । सडक बिग्रेको एक वर्ष बढी भइसक्दा पनि मर्मतसम्भार हुनसकेको छैन । भीमबहादुरले भने, ‘सो मार्गका तीन ठाउँमा एकतर्फी रुपमा सवारीसाधन चल्ने गरेको छ । त्यहाँ सवारीसाधन चलाउँदा निकै डर लाग्छ ।’

एक वर्षअघिको भारी वर्षाका कारण बिग्रेको सो सडक यस वर्षको वर्षाका कारण झन् क्षतिग्रस्त भएको छ । यस वर्षको वर्षाले सो सडकखण्डका अरु स्थानमा पनि भासिएको छ ।

उनले भने, ‘अरु ठाउँमा पनि सडक भासिएका छन् । सडक भासिएका स्थानमा माटोले घेरेर सुरक्षित बनाउने प्रयास गरिएको छ ।
धनगढी–डँडेल्धुरा सडक सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लाहरू जोड्ने मुख्य मार्ग हो । दिनरात यात्रुवाहक बस, मालवाहक ट्रक, जीप, मोटरकार, मोटरसाइकल चल्ने सो सडकमा दशैँ तिहार नजिकिँदै गर्दा सवारीसाधनहरूको संख्या वृद्धि भइरहेको छ ।
दशैँ तिहारलगायतका चाडपर्व सुरु हुँदै गर्दा भारतका विभिन्न स्थानबाट नेपालीहरू घर फर्किने क्रममा वृद्धि हुनेगरेको छ । त्यस्तै, पढाइ, रोजगारी, व्यापारव्यवसायका लागि जिल्लाबाहिर गएकाहरू पनि दशैँ तिहारमा घर फर्किने गरेका छन्् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख बामदेव गौतमले पछिल्ला केही महिनायता सवारी दुर्घटनाका घटनामा वृद्धि नभए पनि चाडबाडमा सवारीसाधनको संख्या बढ्ने भएकाले सतर्क हुनुपर्ने बताउँछन्् ।

प्रदेश ट्राफिक प्रहरी प्रमुख गौतमले दुर्घटना न्यूनीकरणका लागि बढी जोखिम क्षेत्रमा ट्राफिक चिह्न राख्ने, क्षमताभन्दा बढी यात्रु बोक्नबाट नियन्त्रण गर्ने, ट्राफिक सचेतना कार्यक्रमहरू अघि बढाउने तयारी भइरहेको जानकारी दिए ।

उनले भने, ‘हामीले आफैँ सडक बनाउन सक्दैनौँ । सडक बनाउने तथा मर्मत सम्भार गर्ने जिम्मेवारी सडक डिभिजन कार्यालयको हो । हामी सडक दुर्घटना न्यूनीकरण गर्न हरसम्भव प्रयास गरिरहेका छौँ ।

उनले सडक डिभिजन कार्यालयले दुर्घटनाको बढी जोखिम हुने सडकखण्डहरूलाई लक्षित समयमै मर्मतसम्भार गर्नुपर्ने बताए । उनले भने, ‘सडक डिभिजन कार्यालयलाई पनि तत्कालै बिग्रेभत्केका सडकहरू एकैचोटी पूर्णरुपमा मर्मत सम्भार गर्न गाह्रो होला, तर चाडपर्वमा सवारीसाधनको चापलाई ध्यानमा राखेर अल्पकालीन रुपमा व्यवस्थापनचाहिँ गर्नै पर्दछ ।

सडक डिभिजन कार्यालय, महेन्द्रनगरका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ र चुरे गाउँपालिकाको वडा नम्बर ३ का विभिन्न स्थानमा भारी वर्षाका कारण धेरै स्थानमा सडक बिग्रेका छन्् ।

सडक डिभिजन कार्यालयले बिग्रेका सडकखण्डमा आवागमन सुरक्षित बनाउने प्रयास गरिरहेको जनाएको छ ।

चुरे गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष टेकबहादुर शाहले बिग्रेका सडकखण्डहरूको तत्काल मर्मत सम्भार कार्य हुन नसकेपछि अहिले एकचोटी एउटा सवारीसाधनलाई चलाउने गरी माटो भरेर सडक सञ्चालनमा ल्याइएको बताए ।

२०४९ सालमा निर्माण गरिएको धनगढी–डँडेल्धुरा मार्गमा मालवाहक ट्रकहरूको संख्या पनि निकै बढेकोले बिगे्रका सडकखण्ड झनै जीर्ण बन्दै गएको उनी बताउँछन् ।

सडक डिभिजन कार्यालय, महेन्द्रनगरका प्रमुख नरेन्द्र भट्टले भासिएको र पहिरोले क्षति पु¥याएको सडक छिटै मर्मत गरिने बताए । उनले भने, गोदावरीदेखि फल्टुडेसम्मको सडक मर्मतका लागि पाँच करोड रुपैयाँ बढीको बजेट विनियोजन गरिएको छ । हामीले टेन्डर आह्वान समेत गरिसकेका छौँ । दशैँपछि ठेक्का सम्झौता र तिहारपछि मर्मतको कार्य अघि बढाउने तयारी गरेका छौँ ।

उनले गोदावरीदेखि तीन किलोमिटर माथिसम्म भासिएको सडक मर्मतका लागि डेढ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

सडक डिभिजन कार्यालयले गत वर्ष नै सो सडकखण्ड मर्मतका लागि सरकारसँग बजेट माग गरेको थियो । संघीय सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ मा सो सडकका लागि बजेट विनियोजन गरेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?