मन्त्रीले वडाध्यक्षलाई हातपात गरेपछि प्रतिकारमा उत्रियो पौडेल पक्ष

लोकपथ
702
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको छ ।

बिहीबार (आज) पौडेल समूहले २ मुद्दालाई अघि सार्दै धर्ना सुरु गरेको हो ।

क्रियाशील सदस्यतामा अनियमितता र प्रदेश २ का एक मन्त्रीले वडाअध्यक्षमाथि कुटपिट गरेको विरोधमा धर्ना सुरु गरिएको कांग्रेस केन्द्रीय सदस्य अमरेशकुमार सिंहले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार पार्टीको क्रियाशील सदस्यताका बारेमा विधानमा भएका कुराहरुभन्दा व्यवहार फरक भएको भन्दै असन्तुष्ट समूहको माग सम्बोधन गर्नु धर्ना सुरु गर्न लागेको हो ।

‘खासमा दुई कुराको विरोधमा हामीले धर्ना सुरु गरेका हौँ । एक त क्रियाशील सदस्यतामा व्यापक अनियमितता भएको छ । विधि विधान र निर्णय एउटा भएको र इन्ट्री अर्को गरिएको छ’, उनले लोकपथसँग भने, ‘प्रदेश २ का युवा तथा खेलकुद र महिला बालबालिका मन्त्री वीरेन्द्रप्रसाद सिंहले वडा अध्यक्ष र नगरसभापति र वडासभापतिलाई नै हातपात गरेका छन् । गालिगलौज गरिएको छ । त्यसैको विरोधमा हामी उत्रिन लागेको हो ।’

धर्ना कार्यक्रममा नेता सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला लगायतको उपस्थित हुने उनले बताए ।

मंगलबार प्रदेश नं २ का युवा तथा खेलकुद र महिला बालबालिकामन्त्री विरेन्द्रप्रसाद सिंहले सर्लाहीको बरहथवा-४ का वडाअध्यक्ष लाखिन्द्र महतो लगायतलाई हातपात गरेका थिए । क्रियाशील सदस्यताको विवाद चर्किएपछि मन्त्री सिंहले वडाअध्यक्षलगायत नगरसभापति र वडा सभापतिलाई समेत हातपात र गालीगलौज गरेको भिडियो भाइरल बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?