सरकारको गैरजिम्मेवारी : उत्तरी नाकामा सामान रोकिँदा दशैँको व्यापार प्रभावित

काठमाडौं । दशैँका बेला चीन नाकामा सामान रोकिँदा व्यापार प्रभावित भएको छ ।

सरकारको लापर्बाहीका कारण उत्तरी नाकामा भन्सार पास नहुँदा दशैँका लागि आएका सामानहरू दशौँ दिनसम्म रोकिन पुगे । दशौँ दिनसम्म नाकामा सामान रोकिँदा दशैँको व्यापारलाई असर गरेको व्यापारीले गुनासो गरेका छन् ।

‘नाकामा सामान रोकिँदा दशैँको व्यापार चौपट भयो’, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटवालले भने ।
अहिले दशैँका लागि बजारमा सामान नै नभएकाले व्यवसायीहरूले पुराना तथा नेपाली सामान मात्रै बेचिरहेको उनले बताए । दशैँमा सबैभन्दा बढी कारोबार हुने भए पनि सामान रोकिँदा व्यवसायीहरू मारामा परेको व्यवसायीको गुनासो छ ।

 

‘व्यवसायीले घरखेत धरौटीमा राखेर सामान हालेका हुन्छन्, समयमा सामान नआउँदा व्यवसायीहरूको उठीबास लागेको छ’, अध्यक्ष कटवालले भने ।

सरकारले हरेक वर्षका चाडबाडमा यस्तो लापर्बाही गर्दै आएको छ । सिमानामा एक हजारभन्दा बढी कन्टेनरले पालो पर्खिँदा नेपाली बजारमा सामान आउन ढिलाइ भएको छ । सामान आउन ढिला भएपछि नेपाली व्यवसायीहरूले करोडौँ रुपैयाँ घाटा बेहोर्नुपरेको अध्यक्ष कटवाल बताउँछन् ।

भन्सारका कर्मचारीहरू सरुवा भएको तथा कोरोना पोजेटिभ भएका कारण मात्रै होइन कि नाकामा पहिलेदेखि नै समस्या आएका कारण पनि हरेक वर्षजसो सामान आयातमा समस्या हुँदै आएको छ ।

तातोपानी र रसुवा स्थलमार्गबाट हुँदै आएको निर्यात व्यापार ६ वर्षदेखि पूर्ण रूपमा बन्द छ । भूकम्पपछि लगातार बन्द तातोपानी नाका चार वर्षपछि खुले पनि दैनिक १० कन्टेनरभन्दा बढी सामान आयात गर्न बन्देज लगाइएको छ ।

चीनले रसुवाबाट पनि दैनिक ९ कन्टेनर मात्र आयात गर्ने अनुमति दिएको छ । नेपालीले चीनमा खरिद गरेको सामान ल्याउन पाए पनि यताको व्यापारिक वस्तु उता बेच्न भने पाइँदैन । दुवै नाकाबाट नेपालीको आउजाउमा ‘अघोषित प्रतिबन्ध’ छ ।

नाकाको सडक वर्षौँदेखि जीर्ण भए पनि यसको निर्माण र मर्मत सरकारको प्राथमिकतामा देखिँदैन ।

चीनसँग जोडिएका यी दुई नाकालाई असजिलो पर्दा सघाउने वैकल्पिक मार्गका रूपमा हेरिने गरे पनि आयात–निर्यातमा देखिएको समस्या हल गर्न दुवै मुलुकको अग्रसरता देखिएको छैन ।

सुरु भयो जाँचपास

उत्तरी नाकामा रहेका भन्सारका कर्मचारीहरू केहीलाई कोरोना पोजेटिभ भएको र केही कर्मचारीहरू सरुवा भएका कारण जाँचपास नहुँदा समस्या आएको भन्सार विभागले जनाएको छ । दशैँका बेला समान समयमा नआइपुग्दा समस्या हुनु स्वभाविक भएको भन्दै नाकामा रोकिएका सामानको तत्काल जाँचपास सुरु गरिएको भन्सार विभागले जनाएको छ ।‘हामीले हिजोदेखि नै सामानको जाँचपास गराइसेका छौँ’, भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले भने ।

 

सामान रोकिएको भन्ने खबर आएपछि विभागले तत्काल जाँचपास गरेर सामान भित्र्याएको उनले बताए । सूचना अधिकारी खड्काका अनुसार मंगलबार मात्रै ३० वटा कन्टेनर नेपाल भित्रिएका छन् ।

‘अब सामान भित्रिन थालेको छ, चिन्ता गर्नुपर्ने अवस्था छैन’, उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?