नवनियुक्त परराष्ट्रमन्त्री खड्काको प्रतिबद्धता : परराष्ट्र नीति सन्तुलनदेखि एमसीसीसम्म

लोकपथ
494
Shares

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो कार्यकालमा परराष्ट्र नीतिलाई सन्तुलित राख्नेदेखि जल्दाबल्दा राष्ट्रिय समस्या समाधानतिर लाग्ने बताएका छन् ।

बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका परराष्ट्रमन्त्री खड्काले सञ्चारकर्मीहरुमाझ आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सन्तुलित हुने बताए ।

सो क्रममा परराष्ट्रमन्त्री खड्काले सञ्चारकर्मीहरुमाझ छिमेकी दुई मुलुक भारत र चीनबीचको सम्बन्ध अत्यन्तै सुमधुर, अत्यन्तै घनिष्ठ, मैंत्रीपूर्ण र अत्यन्तै सन्तुलित हुने बताएका हुन् ।

उनले परराष्ट्र नीति कुनै दल विशेषको नहुने उल्लेख गर्दै राष्ट्रिय सहमतीका साथ अघि बढने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्री खड्काले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउने काममा आफू केन्द्रित भएर लाग्ने पनि बताए ।

उनले एमसीसीलगायतका जल्दाबल्दा समस्या समाधानका लागि राष्ट्रिय सहमति कायम गर्दै त्यसका तथ्यगत र मिथ्यागत कुरालाई ध्यानमा दिएर राष्ट्रिय हितअनुकूलका कामलाई मात्रै अघि बढाउने पनि स्पष्ट पारे ।

नवनियुक्त परराष्ट्रमन्त्री खड्काले भने, ‘भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सुमधुर, अत्यन्तै घनिष्ठ, मैंत्रीपूर्ण र अत्यन्तै सन्तुलित हुनेछ । हाम्रो अन्तराष्ट्रिय सम्बन्धलाई सन्तुलन कायम गर्दै हाम्रो राष्ट्रिय हितलाई अगाडि बढाउनका लागि राष्ट्रिय सहमतीलाई समेत ध्यानमा राखेर सबै दलका नेताहरुसँग परामर्श गरेर, सबैसँग सहमती गरेर हाम्रो अहिलेको जल्दाबल्दा समस्याहरु, साथसाथै भावी दिनमा आउन सक्ने समस्याहरुका लागि पनि मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ । त्यसैगरी परराष्ट्र मन्त्रालयलाई एउटा गतिशील, आधुनिक प्रविधियुक्त मन्त्रालयको रुपमा अगाडि बढाउनका लागि पनि मेरो प्राथमिकता हो ।’

उनले थपे ‘एससीसीबारे अध्ययन गरेर यसले पार्न सक्ने प्रभावहरुबारे र यसको बारेमा सृजना भएका केही तथ्यगत, केही मिथ्यागत कुराहरुलाई पनि ध्यान दिएर नेपालको राष्ट्रिय हितलाई कसरी प्रवद्र्धन गर्दा नेपालको सार्वभौमिकता, हाम्रो राष्ट्रिय अखण्डता, हाम्रो सुरक्षा र हाम्रो आर्थिक हितलाई प्रवद्र्धन गर्नका लागि हामीले सबै राष्ट्रहरुसँग खास गरेर छिमेकी राष्ट्रहरुसँग घनिष्ट र सन्तुलित सम्बन्ध कायम गर्दै अगाडि बढने हो ।’

नवनियुक्त परराष्ट्रमन्त्री खड्काले संयुक्त राष्ट्र संघको महासभामा एमसीसीबारे छलफल नहुने पनि स्पष्ट पारे । उनले त्यस अवसरमा विश्वको विभिन्न देशका परराष्ट्रमन्त्रीहरुसँग द्धिपक्षीय हितका विषयमा छलफल हुने बताए । नवनियुक्त परराष्ट्रमन्त्री खड्काले आफू संयुक्त राष्ट्र संघको महासभाको बैठकमा भाग लिएर आएपछि विभिन्न देशमा राजदुत नियुक्तीको प्रक्रिया अघि बढाउने जानकारी समेत दिए ।

सरकारको सिफारिसमा खड्का बुधबार परराष्ट्रमन्त्रीमा नियुक्त भएका हुन् । लामो समयसम्म मन्त्रिमण्डललाई पूर्णता दिन नसकेको आरोपकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?