रोनाल्डो भर्सेज मेस्सी : युनाइटेड फर्किएपछि रोनाल्डोको ४ गोल, मेस्सी खाता खोल्ने पर्खाइमा

काठमाडौं । विश्व फुटबलमा सर्वाधिक चर्चा हुने गरेका दुई नाम हुन् क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी । फ्यानहरुबीच सधैँ रोनाल्डो र मेस्सीमा को नम्बर वान ? भनेर चर्का चर्की हुने गरेको छ । यसमा को नम्बर वान भन्नेमा फ्यान र फुटबल विश्लेषकहरुको आ-आफ्नै तर्क छन् । समकालीन खेलाडीमध्ये उनीहरुलाई चिर–प्रतिद्वन्द्वीको रुपमा हेर्ने गरिन्छ ।

उमेरले रोनाल्डो मेस्सीभन्दा २ वर्षले जेठा छन् । फुटबल मैदानभित्र उनीहरुका अलग–अलग विशेषता छन् । फुटबल जगतमा उनीहरुको रेकर्डहरुको बारम्बार तुलना हुने गर्दछ ।

तर रोनाल्डो र मेस्सीमध्ये को उत्कृष्ट त ?

यसको उत्तर कसैसँग पनि छैन् । अहिले चलिरहेको सिजनमा पनि यी दुई खेलाडीबीच को उत्कृष्ट भनेर तुलना सुरु भइसकेको छ ।

१२ वर्षपछि रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा फर्किएका छन् । त्यस्तै मेस्सी पनि बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मेन पीएसजीमा आबद्ध भएका छन् ।

यस सिजनको सुरुवाती समयलाई हेर्ने हो भने मेस्सीको तुलनामा रोनाल्डो सफल रहेका छन् भन्ने अवस्था छ । किनभने, रोनाल्डोले म्यानचेस्टरका लागि ४ गोल गरिसकेका छन् । उता मेस्सीले पीएसजीका लागि गोलको खाता खोल्न सकेका छैनन् ।

म्यानचेस्टरमा दोस्रो पटक आबद्ध भएपछिको पहिलो डेब्यूमै रोनाल्डोले दुई गोल गर्दै उत्कृष्ट खेल खेलेका थिए । रोनाल्डोले म्यानचेस्टरका लागि तीन खेलमा चार गोल गरिसकेका छन् । पीएसजीमा मेस्सीको खेलमा केही कमी कमजोरी रहेको फुटबल विश्लेषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?