भुक्तानी ढिलाइले स्वास्थ्य बीमा सेवा बन्द

लोकपथ
208
Shares

भक्तपुर । सरकारले स्वास्थ्य बीमावापतको रकम उपलब्ध नगराएपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले स्वास्थ्य बीमावापतको सम्पूर्ण सेवा बन्द गरेको छ । विगत चार दिनदेखि अस्पतालले बीमा सेवा बन्द गरेपछि उपचारका लागि आएका बीमाका बिरामी मारमा परेका छन् ।

सरकारले समयमा स्वास्थ्य बीमाको रकम उपलब्ध नगराउँदा बाध्य भएर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका सेवा तत्कालका लागि बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । अस्पतालले उधारोमा औषधि ल्याएर बिरामीलाई वितरण गरिरहँदा रु नौ करोड बाँकी रहेपछि बाध्य भएर अस्पतालले बीमा सेवा बन्द गर्नुपरेको उनको भनाइ छ ।

“दैनिक कम्तीमा ६०० देखि बढीमा ६५० जनासम्म बीमा कार्ड भएका बिरामी अस्पतालमा सेवा लिन आउँछन्, ल्याबमा करिब तीन लाख रुपैयाँ, फार्मेसीमा करिब चार लाख रुपैयाँ र अन्य सेवामा करिब तीन लाख रुपैयाँ गरि दैनिक कम्तीमा १० लाख रुपैयाँको सेवा दिन्छौँ”, श्रेष्ठ भन्छन्, “स्वास्थ्य बीमा बोर्डसँग नौ करोड रुपैयाँ लिन बाँकी भइसक्यो, अनि बाध्य भएर बीमा सेवा बन्द गर्नुप¥यो ।”

अस्पतालको आन्तरिक स्रोतबाट सङ्कलन भएको रकम औषधि र ल्याबका केमिकल आपूर्तिकर्तालाई सात करोड रुपैयाँ भुक्तानी दिँदा पनि अझै तीन करोड रुपैयाँ भुक्तानी गर्न बाँकी भएपछि औषधि आपूर्ति नै बन्द भएकाले बाध्य भएर सेवा बन्द गर्नुको विकल्प नभएको उनको भनाइ छ । नगरप्रमुख श्रेष्ठले भने, “अस्पतालको आन्तरिक स्रोतको रकम औषधि आपूर्तिकर्तालाई भुक्तानी दिँदा अस्पतालको प्रशासन सञ्चालन गर्न र चिकित्सकदेखि कर्मचारीसम्मलाई पाँच महिनादेखि तलब खुवाउन समस्या परेपछि बीमा सेवा नै बन्द गर्नुपरेको हो, बोर्डसँग छिटो रकम पठाइदिन ताकेता गरेका छौँ, पैसा पठाएपछि बीमा सेवा पुनः सुरु गर्छौँ ।”

औषधि आपूर्तिकर्तालाई धेरै रकम भुक्तानी गर्न बाँकी भएपछि औषधि आपूर्ति नै बन्द गरेको र बैंकको ब्याज तिर्न सकिएन भन्दै रकम भुक्तानी गर्न दबाब दिएको उनको भनाइ छ । बीमाको रकम पटक–पटक रोकिँदै आएको र यसअघि पनि असारसम्ममा पाँच करोड रुपैयाँ बाँकी हुँदा असार १ गते नै सेवा रोक्न खोजेपछि बोर्डले दुई करोड रुपैयाँ भुक्तानी गरेको थियो ।

यस अस्पतालमा बीमा कार्ड भएका बिरामीले बहिरङ्ग तथा अन्तरङ्ग सेवा, शल्यक्रिया, प्रसूति, फार्मेसी, ल्याब, फिजियोथेरापी, एक्सरेलगायत अस्पतालले प्रदान गरेका सम्पूर्ण सेवा लिँदै आएका छन् । अस्पतालमा बीमा स्वास्थ्य सेवा बन्द भएपछि बिरामी भक्तपुर अस्पताल जान थालेका छन् ।

हाल १०२ शय्या सञ्चालनमा रहेको यस अस्पतालमा १६ शय्याको आइसीयू, १५ थान भेन्टिलेटर, बच्चाका लागि दुई भेन्टिलेटर सञ्चालनमा छन् । आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्दै कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारदेखि पिसीआर परीक्षणसम्ममा राम्रो काम गरेको अस्पतालमा यतिखेर बीमा सेवा भने बन्द भएको छ ।

अस्पतालले तिहारपछि सिटीस्क्यान, एमआरआई, मुटुका बिरामीका लागि क्याथ ल्याब, मिर्गौलाका बिरामीका लागि छवटा डायलायसिस मेसिन सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालले रेडियोलोजी सेवासमेत सञ्चालन गर्दैछ । स्वास्थ्य बीमा कार्ड भएका बिरामीको प्रथम बिन्दु अर्थात् सिफािरस केन्द्रमध्येको एक यस अस्पतालले भक्तपुर जिल्लाका साथै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखादेखिका बिरामीलाई स्वास्थ्य बीमाअन्तर्गतको सेवा प्रवाह गर्दै आएको छ ।

जिल्लामा बीमा लागू भएका भक्तपुर अस्पतालमा तीन करोड रुपैयाँ, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा पाँच करोड रुपैयाँ, सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रमा दुई करोड रुपैयाँ, भक्तपुर क्यान्सर अस्पतालमा दुई करोड रुपैयाँ, सिद्धिस्मृति बाल अस्पतालमा ९० लाख रुपैयाँ बोर्डबाट भुक्तानी हुन बाँकी रहेको अस्पतालले जनाएका छन् ।

सरकारले सर्वसाधारणलाई स्वास्थ्य बीमा गराएर विसं २०७२ चैतदेखि रु एक लाख बराबरको औषधि र उपचार खर्च निःशुल्क गराउँदै आएको छ । बीमा सेवा लागू भएको भक्तपुर पहिलो जिल्ला हो । सरकारले घरघरमा स्वास्थ्य बीमा सुविधा पु¥याउने लक्ष्य लिएर सुरु गरेको यस कार्यक्रमले जनताका लागि राहत पुग्ने र राम्रो भए पनि व्यवस्थापन तथा रकम भुक्तानी प्रक्रियामा हुने ढिलाइले स्वास्थ्य बीमा कार्यक्रम नै असफल हुने अवस्थामा पुगेको नगरप्रमुख श्रेष्ठले बताए ।

जिल्लाका नगरपालिकाले यस वर्ष घरघरमा स्वास्थ्य बीमाको पहुँच पु¥याउने उद्देश्यले प्रतिपरिवार एक हजार रुपैयाँ अनुदानसहितको बजेट व्यवस्थापन गर्दै बीमा अभियान नै चलाएको छ । बोर्डका एक कर्मचारीका अनुसार बीमा कार्यक्रम सुरु हुँदाका १० जिल्लाका लागि राखेको जनशक्तिका भरमा अहिले सबै जिल्लाको काम गर्नुपरेकाले जनशक्ति अभावले अस्पतालले पठाएको बीमा भुक्तानीको रकम हेर्नै नभ्याइदिँदा भुक्तानीमा समस्या आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?