कांग्रेस महाधिवेशन : बाजुराका ६९ वडामै खटिए निर्वाचन अधिकृत

कैलाली । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बाजुरामा बुधबारदेखि वडा अधिवेशन हुँदै छ । केन्द्रिय समितिले असोज ५ गतेदेखिनै बाजुरासहित सात जिल्लामा वडा अधिवेशन हुन लागेको भने पनि निर्वाचन समितिको तयारी नपुग्दा जिल्लाको वडा अधिवेशन बुधबारदेखि हुन लागेको हो ।

बाजुराको वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाइएको छ । बुधबारबाट सुरु हुने वडा, गाउँ/नगरपालिका, प्रदेश निर्वाचन क्षेत्र र ७ औँ जिल्ला अधिवेशनका लागि जिल्ला निर्वाचन समिति बाजुराले मतदान अधिकृतहरु खटाएको जनाएको छ ।

जिल्लाका ६९ वडामा एकै पटक हुने अधिवेशनका लागि निर्वाचन समितिले ६९ मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी एक सय ३८ जना निर्वाचनमा खटाएको निर्वाचन अधिृकत सन्तोष भण्डारीले बताए ।

उनले ६९ वडामा मतदान अधिकृत र सहायक अधिकृत गरी एक सय ३८ जना नौ वटै पालिकामा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी १८ र प्रदेश निर्वाचन क्षेत्र (क) मा तीन र प्रदेश निर्वाचन क्षेत्र (ख) मा तीन जना गरी जिल्लाका वडा, गाउँ÷नगरपालिका र प्रदेश निर्वाचन क्षेत्र गरी एक सय ६२ जना खटाइएको बताए ।

निर्वाचनका लागि आवश्यक सामग्रीसहित उनीहरुलाई निर्वाचन आचारसंहिता, निर्देशनसहित वडा, पालिका र प्रदेश निर्वाचन क्षेत्रमा मतदान अधिकृत खटाएको निर्वाचन अधिकृत भण्डारीको भनाइ छ ।

जिल्ला निर्वाचन समितिले मतदान अधिकृतलाई पार्टीको विधान नियमावली, निर्वाचन कार्यविधि लगायतका सामग्री र उनीहरुलाई निर्वाचनको विषयमा प्रशिक्षण गरी प्रत्येक वडामा मतदान अधिकृत खटाइएको जिल्ला निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

जिल्लाका ६९ वडामा असोज ६ गते वडा अधिवेशन, असोज ९ गते गाउँ/नगरपालिका अधिवेशन, असोज १२ गते प्रदेश निर्वाचन क्षेत्र अधिवेशन र असोज १६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र अर्थात् जिल्ला अधिवेशन हुने निर्वाचन समिति बाजुराका निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।

उनले दिएको जानकारीअनुसार नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनका लागि नेपाल शिक्षक संघ बाजुराको कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

क्रियाशील सदस्यको विवाद समाधान भइसकेको कैलाली जिल्लाको अधिवेशन कहिले हुने भन्ने अझै टुङ्गो छैन । बाजुरामा बुधबारदेखि वडा अधिवेशन सुुरु भए प्रदेशमा वडा अधिवेशन गराउन बाँकी कैलाली जिल्लामात्र रहने छ । कांग्रेसका जिल्ला सचिव पूर्ण कुँवरले सदस्यता विवाद समाधान भएको छ । प्राविधिक कुराको समाधान नहुँदा अधिवेशन कहिले देखि हुने भन्ने टुङ्गो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?