दशैँका लागि अग्रीम टिकट बुकिङ : व्यवसायीले झिके बखेडा, भन्छन्– ‘हामीलाई जानकारी छैन’

सरकारले यही असोज १० गतेदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खोल्ने तयारी गरे पनि व्यवसायीहरूले भने आफूहरू त्यसबारेमा जानकार नरहेको बताएका छन् ।

दशैँकका लागि टिकट खोल्ने विषयमा यातायात व्यवस्था विभाग तथा ट्राफिक प्रहरीसँग छलफल भए पनि टिकटको अग्रीम बुकिङका विषयमा कुनै निर्णय नभएको यातायात व्यवसायीले जनाएका छन् । हरेक वर्षको दशैँमा टिकटको अग्रीम बुकिङ खोल्ने बेलामा व्यवसायीहरूले कुनै न कुनै विषयमा बखेडा झिकेर निहुँ खोज्ने काम गर्दै आएका छन् । जसले गर्दा दशैँका लागि उपत्यकाबाट बाहिरिने हजारौँ यात्रुहरू प्रभावित हुँदै आएका छन् ।

सरकारले टिकटको अग्रीम बुकिङ खोल्ने तयारी गरे पनि त्यसबारेमा आफूहरू जानकार नरहेको व्यवसायीको भनाइ छ । ‘टिकट बुकिङबारे हामीलाई कुनै जानकारी छैन’, यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने ।

सरकार तथा ट्राफिक प्रहरीसँग यस विषयमा दुई पटक छलफल भए पनि हालसम्म कुनै निर्णय नभएको उनले बताए । सरकारले टिकट बुकिङ आफ्नो तर्फबाट खोले पनि व्यवसायीले जानकारी नभएको महासचिव सिटौलाले बताए ।

दशैँ नजिकिएसँगै सरकारले बाटोघाटो मर्मतमा ध्यान दिनुपर्ने भए पनि त्यसतर्फ ध्यान नदिएर टिकट बुकिङ खोल्नु जिम्मेवार काम नभएको सिटौलाको भनाइ छ ।त्यसैले केही दिनमै यातयात व्यवसायीहरूको बैठक बसेर टिकट बुकिङबारे टुंगो लगाउने उनले बताए । ‘भोलिपर्सिमा हामी बैंठक बसेर टिकट बुकिङबारे टुंगो लगाउँछौँ’, उनले लोकपथसँग भने । सरकारले खोलेको टिकट बुकिङसँग यातायात व्यवसायी सहमत छैनन् ।

उता सरकारले भने असोज १० गतेदेखि दशैँकका लागि टिकटको अग्रीम बुकिङ खोल्ने तयारी गरिसकेको छ । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, प्रशासन तथा यातायात व्यवसायबीच असोज १ गते शुक्रबार भएको बैठकले टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । भाडाको विषयलाई लिएर व्यवसायीहरू असमत थिए । भाडा नबढाएसम्म बुकिङ खुला नगर्ने यातायात व्यवसायीले अडान लिएपछि सरकारले असोज १० गतेदेखि टिकट बुकिङ खोल्ने तयारी गरेको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता डा.लोकनाथ भुसाले सरकारले गरेको निर्णय सबैले मान्ने बताए ।

‘सरकारले गरेको निर्णय नमान्ने कुन व्यवसायी छन् र ? उनले भने । असोज १ गते आगामी १० गतेदेखि टिकट खोल्ने तयारी भए पनि भोलि या पर्सिमा निर्णय हुने प्रवक्ता भुसालले बताए ।

दशैँकका लागि अग्रीम टिकट खुल्ने भएपछि ट्राफिक प्रहरीले पनि आफ्नो तयारी सुरु गरेको छ । उपत्यकाका बाहिर जाने विभिन्न नाकामा हेल्प डेक्स राख्ने, हेल्प डेक्समा मास्क सेनेटाइजर राख्ने, फर्जी टिकट काट्नबाट यात्रुलाई बचाउने, एउटै सिटमा दुई पटक टिकट काट्न नदिने था संभाविभत दुर्घटना हुन नदिन साधा पोषाकका प्रहरी समेत खटाउने गरी तयारी गरेको छ ।

‘हामीले दशैँको यात्राका लागि यात्रुलाई सहज हुनेगरी तयारी गरेका छौँ’, ट्राफिक प्रहरी प्रवक्ता सञ्जिव शर्मा दासले भने । ट्राफिक प्रहरीले कलंकी, थानकोट, कोटेश्वर, गौशालालगायतका १४ स्थानमा हेल्प डेक्स राख्ने प्रवक्ता दासले बताए ।

हरेक वर्ष दशैँमा २० लाखको हाराहारीमा यात्रुले उपत्यका छाड्ने अनुमान गरिएको छ । गत वर्ष कोरोनाका कारण निकै कम मात्रै यात्रुले उपत्यका छाडेका थिए । यसपाली कोरोनाको संक्रमण केही मात्रामा घटेका कारण दशैँका लागि घर जाने यात्रु बढ्न सक्ने ट्राफिकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?