‘सेयर कारोबारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिबद्ध छ’

लोकपथ
42
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर कारोबारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा नेपाल धितापत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि जाँचबुझ गर्न गठित जाँचबुझ समितिको प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले सेयर कारोबारमा ठूलो संख्यामा आम जनता सहभागी भइरहेको भन्दै सेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्नु सरकारको दायित्व भएको बताएको हो । उनले प्रतिवेदनको अध्ययन गरी जाँचबुझ समितिले दिएको सुझाव अनुसार आवश्यक प्रक्रिया अगाडि बढाउने पनि बताए । जाँचबुझको प्रक्रियाले सेयर बजारलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

उनले भने, ‘नेपाल सरकारले यसको अध्ययन गरेर जाँचबुझ समितिले दिएको सुझाव अनुसार आवश्यक प्रक्रियामा अगाडि बढ्ने कुरा पनि म जानकारी गराउन चाहान्छु । सेयर कारोबारमा आम जनता ठूलो संख्या सहभागी भइरहेको र सेयर कारोबारसम्बन्धी सूचनाहरु, त्यसको बारेमा जानकारीहरु कम हुँदाहुँदै पनि कारोबारमा ठूलो संख्या सहभागी भइरहेको सन्दर्भमा हाम्रो दायित्व ती सबै सेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्ने कुरा नै हो । यो प्रक्रियाले सेयर मार्केटलाई व्यवस्थित गर्ने, सुरक्षित गर्ने कुरामा थप मद्दत पुग्नेछ भन्ने मैले विश्वास लिएको छु । सर्वसाधारणको अहित नहोस् भन्ने कुरामा सचेत रहेको जानकारी गराउँछु ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कानूनविपरीत सर्वोत्तम सिमेन्टको सेयर आफन्तको नाममा खरिद गरिदिएर विवादमा तानिएपछि सरकारले २०७८ भदौ १६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र सहसचिव अर्जुनकुमार खड्का रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो ।

सो समितिले मंगलबार अर्थमन्त्रीलाई प्रतिवेदन पेश गरेको हो । अर्थमन्त्री शर्माले प्रतिवेदन बुझ्दै आफूले प्रतिवेदन प्रधानमन्त्री समक्ष पर्‍याउने र प्रतिवेदनको अध्ययनपश्चात आवश्यक प्रक्रिया अगाडि बढाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?