२३ श्रावण २०७९, सोमवार

युवा राजनीति अनि समाजको अपेक्षा

२०७८,आश्विन,५,मंगलवार १५:२६

1.791k
Shares

केशवप्रसाद रूपाखेती- 

‘युवा’ शब्द सुन्नेबित्तिकै सबैको मनमा हाँकयुक्त शक्ति, हरेक अप्ठ्यारोलाई सहज बनाउने शक्ति, विषम परिस्थितिमा पनि अविचलित हुने शक्ति, समाज रूपान्तरणको संवाहक, नवीनताको पर्याय भन्ने लाग्दछ र यो सत्य पनि हो ।

संसारमा भएका युगान्तकारी परिवर्तनमा युवाहरूको अग्रणी भूमिका रहेको हुन्छ । कुनै पनि देश विकासको गतिमा कति अगाडि छ भन्ने कुराको लेखाजोखा गर्नुपर्दा त्यो देशमा रहेका युवा कति शिक्षित, सक्रिय, सभ्य, अनुशासित र आत्मविश्वासी छन् भन्ने कुरा हेरिन्छ । नेपालको राजनीतिक, सामाजिक, आर्थिक र समग्र विकासमा पनि युवाहरूको अवस्थाले नै भूमिका निर्धारण गरेको पाइन्छ ।

यसरी हरेक क्षेत्रमा उल्लेख्य योगदान दिँदै आएका युवाप्रति समाजले आशा र भरोसा राख्नु स्वाभाविक र न्यायपूर्ण पनि हो । तसर्थ नेपाली राजनीतिमा युवाको प्रवेश, सक्रिय र हस्तक्षेपकारी भूमिकाको अपेक्षा समाजले गर्नु झन् सान्दर्भिक र आवश्यक पनि हो ।

यहाँ समाजले राजनीतिमा युवाको कस्तो भूमिका अपेक्षा गरेको छ र युवाले के भूमिका निभाएका छन् भन्ने विषयमा चर्चा गर्ने जमर्काे गरेको छु ।

नेपालको वर्तमान राजनीतिक परिवेशलाई हेर्दा यहाँका राजनीतिक दलका प्राय सबैका अलग अलग भातृ संगठनहरू रहेका छन् र ती संगठनहरूमा धेरैजसो युवाहरूको संलग्नता रहेको पाइन्छ । यसरी युवाको सहभागिता धेरै हुनु र ती संगठनमा उनीहरूको नेतृत्व समेत हुनु झन् सुखद पक्ष हो ।

अर्काे कुरा युवाले नेतृत्व गरेको संगठनबाट समाजले नयाँ कुराको अपेक्षा गर्नु झन् ठूलो सुखद पक्ष हो र युवाप्रतिको विस्वास र भरोसा समेत हो तर समाजले उनीहरूसँग जे अपेक्षा गरेको छ त्यो प्राप्त गर्न नसक्नु वा युवाले देखाउन नसक्नु भने दुःखद कुरा हो । यहाँ मैले युवाप्रतिको अपेक्षा र युवा चरित्रलाई प्रस्तुत गरेको छु ।

समाजले राजनीतिमा युवाको प्रवेश रहोस् र उनीहरूले संगठनभित्रका पुरातन सोचलाई परास्त गरी नवीन विचारलाई लागू गरून् भन्ने अपेक्षा गरेका हुन्छन्, तर राजनीतिमा प्रवेश गरेका युवाले पुराना नेतृत्वको पुरातन विचारलाई विस्थापित गर्नुको साटो आफ्नो ऊर्जालाई उनीहरूसामु तिलाञ्जली दिइरहेका छन् ।

समाजले राजनीतिक दलमा आबद्ध भएका युवाले आफ्नो नेतृत्वले गरेका कमी कमजोरी औँल्याई नेतृत्वलाई सही बाटोमा ल्याओस् भन्ने सोचेका हुन्छन् । तर युवाले यसको विपरीत नेतृत्वलाई गलत सूचना सम्प्रेषण गरी उनीहरूको गलत कामलाई ढाकेर उल्टै जनतासँग प्रतिवाद गरिरहेका हुन्छन् र नेतृत्वलाई थप भ्रष्ट बनाउन भूमिका खेल्दछन् ।

समाजले चाहेको अर्काे कुरा के हो भने युवाले राजनीतिक सहिष्णुता प्रदर्शन गरोस् र फरक विचार र सिद्धान्त बोक्ने अन्य दलको राम्रो पक्ष, कार्य र विचारको सम्मान गरी आफैँ आबद्ध भएको दल भए पनि यदि नराम्रो काम र विचार छ भने विरोध गरोस् ।

तर युवाले यसको विपरीत आफू आबद्ध दल र संगठनले जतिसुकै नराम्रो काम गरे पनि त्यसको विरुद्ध चुँसम्म नबोल्ने र कसैले विरोध गरे भने पनि उल्टै प्रतिवाद गरेर गलत कार्यलाई प्रोत्साहन गरिरहेका हुन्छन् भने फरक विचार, आस्था र सिद्धान्त भएको दल वा संगठनले ल्याएका राम्रा, उपयोगी र ग्रहणयोग्य विचारलाई दबाउने, राम्रो कामको प्रशंसा गर्न दरिद्रता प्रदर्शन गर्नेजस्ता व्यवहार गरेर दुनियाँ हँसाइरहेका हुन्छन् ।

समाजले युवासँग अपेक्षा गरेको अर्काे कुरा युवाले कुनै एक दलको नेताको भक्तको रूपमा जीवन व्यतीत नगरी आफू आबद्ध दलको नेता र त्यो दलले लिएको कार्यशैली जनअपेक्षाविपरीत भएमा र त्यसलाई आफ्नो पहलमा सुधार गर्न नसके अरु जुन दलले जन अपेक्षा सम्बोधन गरेको छ त्यसलाई समर्थन गर्ने हिम्मत गरोस् तर यसको सट्टामा उनीहरू उल्टै आफू आबद्ध दलको गलत कार्यको ढाकछोप गरी जनतालाई भ्रम छर्न कम्मर कसेर लाग्दछन् ।

समाजले गरेको अर्काे अपेक्षा के हो भने निर्वाचनको समयमा दलको आवरण ओढेर आफ्नो कुकर्म छोप्न खोज्ने उम्मेदवारलाई नङ्ग्याउन र राम्रो आचरण र विचार भएको समाज विकासमा दूरदृष्टि राख्ने उम्मेदवार जोसुकै भए पनि उसलाई निर्वाचित हुन सहयोग गरोस्, तर युवाहरू राम्रो होइन कुहिएको भए पनि हाम्रै हुनुपर्छ भनी तिनै खराब छवि भएका पात्रलाई काँधमा बोकेर हिँडिरहेका हुन्छन् ।

समाजले गरेको अर्काे अपेक्षा भनेको युवाले आफ्नै पार्टीले गरेको गलत क्रियाकलापविरुद्ध आवाज उठाएर राष्ट्रको असल सिपाहीको रूपमा प्रस्तुत होउन्, तर युवाहरू यसको विपरीत पार्टीको गलत क्रियाकलापको ढाकछोप गर्ने घृणित कार्यमा उद्यत देखिन्छन् ।

त्यसैगरी जनसरोकार र जनजीविकाको सवालमा सरकार र जिम्मेवार निकायले गरेको राम्रो कार्य अर्काे पक्ष वा दलले गरेको भए पनि साथ, सहयोग र प्रचारप्रसार गरून् र नराम्रो कार्य भए आफ्नै दल, नेता भए पनि विरोध गरून् भन्ने हो । तर दलमा आबद्ध युवाहरू भने त्यही काम आफू सत्तामा रहेको समयमा गर्दा ठीक र आफू सत्ताबाहिर रहँदा बेठीक भनेर द्वैध चरित्र प्रदर्शन गरिरहेका हुन्छन् ।

समाजले युवालाई समाज रूपान्तरणको संवाहक होस्, कुनै एक दलविशेषको गलत कार्यको ढाकछोप गर्ने कलङ्कित नबनोस् भन्ने चाहेका हुन्छन् तर युवा भने तिनै भ्रष्ट दलको भ्रष्ट नेतृत्वको प्रसस्तिगान गाउदै दिउँसो नै रात पारिरहेको हुन्छन् ।

यो हामी नेपालीहरूको दुर्भाग्य हो । हाँकयुक्त शक्ति, हरेक अप्ठ्यारोलाई सहज बनाउने शक्ति, विषम परिस्थितिमा पनि अविचलित हुने शक्ति, समाज रूपान्तरणको संवाहक तथा नवीनताको पर्यायको रूपमा चिनिएको शक्ति आज समाजका तिनै गनाएका पात्रलाई जयजयकार गर्दै उनीहरूको हरेक कमजोरीहरू लुकाउन साक्षी बसेर उनीहरूको दौराको फेर समातेर सत्ता र राजनीतिको वैतरणी तर्ने जुन सपना देखेर विकासको दिवास्वप्नदेखि आफू त दुर्गतितर्फ लम्किएका छन् नै दुःखको कुरा यिनले सामज र राष्ट्रलाई समेत कहिल्यै शान्तिको मार्गमा लैजाने छैनन् ।

अझै सोचौँ, आफू को हुँ भन्ने बुझौँ, राष्ट्रमा जन्मिनुको र समाजमा बाँच्नुको आधार तयार गरौँ, गलतलाई गलत भन्ने हिम्मत गरौँ, आफूमा निहित दृष्टिदोषलाई पखालौँ, सभ्य नागरिकको भूमिका देखाऔँ यसैबाट नै सबैको कल्याण हुनेछ ।

प्रकाशित मिति: २०७८,आश्विन,५,मंगलवार १५:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राधिका ढकाल म एसएलसीपछि पाल्पा क्याम्पस पढदै थिएँ । गर्मी बिदा भएको थियो । असारको समय थियो । असारमास आफू

सरोज सुवेदी । राजनीतिक विषयमा प्राय सबैतिर कुराकानी सुन्न र गर्न पाइन्छ । त्यसै क्रममा आज एक जना लेखकसँग चियासँगै

काठमाडौं । ‘सुन साइँली साइँली परदेशबाट आउँला                 सुन साइँली साइँली ४० कटेपछि

 नवराज भट्ट । काठमाडौं- मुलुक राजनीतिक रूपमा अत्यन्त संकटमा फसेको अवस्थामा नेपाली कांग्रेस सत्तारुढ हुन पुगेको अवस्था हो यो ।

ताजा समाचार