महामारी नियन्त्रणका लागि थप सहयोग जरुरी छ : अर्थमन्त्री शर्मा

लोकपथ
117
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि थप सहयोग उपलब्ध गराइदिन विश्व बैंकलाई आग्रह गरेका छन् ।

अर्थमन्त्रालयमा आज विश्व बैंकको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले नेपाललाई पुर्‍याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिँदै थप सहयोग आवश्यक रहेको बताएका हुन् । “विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो, “कोभिड–१९ सङ्क्रमणको समयमा बैंकले आपत्कालीन सहयोग र खोप खरिदमा वित्तीय र प्राविधिक सहयोग गरेको छ । यसका लागि धन्यवाद दिन चाहन्छु ।”

मन्त्री शर्माले वर्तमान सरकार कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराई आर्थिक पुनरुत्थानमा अग्रसर भएकाले यसमा विश्व बैंकको सहयोग आवश्यक रहेको बताए । “सरकार सबै नागरिकलाई खोप उपलब्ध गराएर आर्थिक पुनरुत्थातर्फ अगाडि बढ्न अग्रसर छ, यसमा बैंकको थप सहयोग र सहकार्यको अपेक्षा छ”, उनले भने ।

नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्दै मन्त्री शर्माले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र रोड कनेक्टिभिटीको माध्यमबाट गरिबी घटाउन विश्व बैंकको सहयोग रहने विश्वास व्यक्त गरे ।

भेटका अवसरमा बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपालको सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको आगामी संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागिताका लागि अनुरोध गरे ।

भेटमा बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाको तीव्र कार्यान्वयन तथा सहजीकरणका लागि मन्त्री शर्मालाई आग्रह गरे । उनले नीतिगत सुधारको आवश्यकता रहेको भन्दै बैंकले नेपाललाई दिँदै आएको सहयोगको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गरे । बैंकको प्रतिनिधिमण्डलले अर्थसचिव मधुकुमार मरासिनीसँग पनि छुट्टै भेटवार्ता गरेको थियो । भेटमा सहयोगका क्षेत्रमा विस्तृत छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?