कांग्रेस महाधिवेशन : कैलालीमा दोस्रो पटक अनिश्चित, बाजुरामा असोज ६ गतेदेखि

धनगढी । नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन दोस्रो पटक अनिश्चित बनेको छ । जिल्लामा क्रियाशील सदस्यको विवरण नआउँदा असोज ५ गतेलाई तय गरिएको वडा अधिवेशन दोस्रो पटक अनिश्चित बनेको हो ।

जिल्लामा क्रियाशील सदस्यको नामावलीमा विवाद रहेको कैलाली जिल्लामा १७ गतेदेखि वडा अधिवेशन सुरु नभएपछि अनिश्चितकालका लागि स्थगित भएको थियो । केन्द्रीय कार्यसमितिले केही दिनअघि विज्ञप्ति जारी गर्दै विवादित जिल्लामा असोज ५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने उल्लेख गरेको थियो ।

‘अहिलेसम्म क्रियाशील सदस्यको विवरण आएको छैन’, कैलाली कांग्रेस सचिव पूर्ण कुँवरले भने, ‘असोज ५ गतेदेखि त वडा अधिवेशन हुँदैन । अब केन्द्रले के निर्णय गर्छ । सोहीअनुसार अघि बढ्छौँ । अहिलेसम्म अधिवेशनको अनिश्चित नै छ ।’

कैलालीमा सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा सबैभन्दा बढी क्रियाशील सदस्य (१८ हजार एक सय ३४) रहेका छन् । यो संख्यामा कैलाली क्षेत्र नम्बर १ को टीकापुर नगरपालिकाको वडा नम्बर १ को ५७६ जना नयाँ क्रियाशील सदस्य समावेश रहेको छैन ।

कैलालीमा १२६ वडा छन् । सचिव कुँवरले केन्द्रीय कमिटिले क्रियाशील सदस्यको विवाद समाधान गरिसकेको प्रतिक्रिया दिए पनि नामावली भने उपलब्ध नगराउँदा अधिवेशन केही दिनलाई अनिश्चित बनेको बताए ।

केन्द्रीय कार्यसमितिले केही दिनअघि जारी गरेको विज्ञप्तिअनुसार विवादित जिल्लामा असोज ५ गतेदेखि वडा अधिवेशन, असोज ९ गते नगर/गाउँ सभा, असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज १५ गतेदेखि प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

क्रियाशील सदस्य विवरण नआउँदा समयमै अधिवेशन सुरु गर्न नसकेको बाजुरा जिल्लामा पनि असोज ५ गते देखि वडा अधिवेशन नहुने जनाइएको छ । केन्द्रीय कार्यसमितिले मंगलबारदेखि नै हुने भने पनि बाजुरामा जिल्ला निर्वाचन समितिले असोज ६ गतेदेखि वडा अधिवेशन सुरु गर्ने जनाएको छ । निर्वाचन समितिले अन्य अधिवेशन भने केन्द्रीय समितिकै निर्णयअनुसार गर्ने निर्णय गरेको बाजुरा सभापति कविराज पण्डितले बताए ।

‘केन्द्रीय कार्यसमितिले असोज ५ गते भनेपनि दुर्गम क्षेत्र भएकाले सबै कुरालाई ध्यानमा राखेर हामीले छ गतेदेखि अधिवेशन गर्ने निर्णय गरेका छौं’, सभापति पण्डितले भने । एक संसदीय निर्वाचन क्षेत्र रहेको बाजुरामा ६९ वडाहरू रहेका छन्। सो जिल्लामा साढे छ हजार बढी क्रियाशील सदस्य रहेका छन ।

नौवटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा चार वटा जिल्लाको अधिवेशन तोकिएकै समय भदौ १७ गतेदेखि सुरु भएको थियो । क्रियाशील सदस्यको टुङ्गो लागेको बैतडी र दार्चुलामा भदौ २२ गतेदेखि अधिवेशन सुरु भएको थियो ।
सबैभन्दा विवादित बनेको प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा भदौ २५ गतेदेखि वडा अधिवेशन सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?