सेयर बजारमा ‘प्यानिक’ : दुबिधामा नयाँ लगानीकर्ता, जानकार भन्छन्- ‘आत्तिनु पर्दैन’

काठमाडौं । पछिल्लो केही समय यता सेयर बजारमा निकै उतारचढाव आइरहेको छ । दिनहुँजसो नयाँ कीर्तिमानी राख्दै आइरहेको सेयर बजार पछिल्लो समय निरन्तर ओरालो यात्रामा छ । बजार निरन्तर घट्न थालेपछि सेयर बजारमा एक किसिमको ‘प्यानिक’ उत्पन्न भएको छ ।

सेयर बजारमा व्यापक उतारचढाव देखिएसँगै लगानीकर्ताहरु सामाजिक सञ्जालभरि आ-आफ्ना तर्क बितर्क पोख्न थालेका छन् । कोही बजार बढ्नको घटेको निष्कर्ष निकालिरहेका छन् भने कोही बजारमा आउनुपर्ने करेक्सन आएको दाबी गरिरहेका छन् । यतिबेला सामाजिक सञ्जालका सेयर बजारसम्बन्धी ग्रुपहरु विभिन्न तर्क बितर्कले भरिएका छन् । कोही यो किन्ने बेला भएको भनिरहेका छन् भने सेयर बजारमा बियरिस ट्रेन्ड सुरु भएकोले आफूसँग भएको सेयर बेचेर बाहिरिनुपर्ने तर्क दिइरहेका छन् ।

कसै-कसैले ठूला लगानीकर्ताहरु बजार घटाउन लागि परेको आरोप पनि लागिरहेका छन् । केही लगानीकर्ताहरु भने बजार फेरि पहिलेकै गतिमा फर्कने भन्दै घाटा खाएर नबेच्न आग्रह गरिरहेका छन् ।

यसो हुँदै गर्दा साना तथा लाखौँको संख्यामा भर्खरै मात्र बजार प्रवेश गरेका नयाँ लगानीकर्ताहरु भने दुबिधामा परेका छन् । सेयर बजारमा लगानी गर्छु भनेर बजार प्रवेश गरेकाहरु के गर्ने, के नगर्ने भन्ने दुबिधामा परेका छन् । यसका साथै साना लगानीकर्ताहरु भने मारमा परेका छन् ।

पछिल्लो समय सेयर बजारमा गिरावट आउनुका मुख्य कारण भनेको राष्ट्र बैंकले जारी गरेको सेयर धितो कर्जाको सीमा, बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशन गरेको ब्याजदर, प्रोफिट बुक र तरलताको कारण बजारमा करेक्सन आएको हो । यी कारण नै पछिल्लो समय सेयर बजारमा गिरावट आएको हो ।

सेयर बजारका जानकार तथा लगानीकर्ता तिलक कोइराला बजारमा सुझबुझपूर्ण लगानीको अभाव भएको बताउँछन् । ‘सेयर बजारमा बजार थोरै बढ्दा उक्कसिएर भोलि सेयर नै पाउँदिन भने जसरी किन्ने अनि थोरै बजार घट्दा मेरो सर्वस्व गुम्यो भनेर बेच्ने प्रवृति देखिएको छ । सेयर किन्ने, बेच्ने कुरामा लगानीकर्ताहरुको आफ्नै स्वतन्त्रता हुन्छ । त्यसैले सेयर बजारमा लगानीकर्ताले सुझबुझपूर्ण लगानी गर्नुपर्छ । हल्लाको पछि लाग्नु हुँदैन । तथ्य र आफ्नो क्षमताको मूल्यांकन गर्नुपर्छ’, उनले भने ।

सुझबुझपूर्ण लगानी नगर्दा बजारमा बयाको अवस्था सिर्जना हुने उनी बताउँछन् । अहिले सस्तोमा सेयर उठाउने र आफूसँग भएको सेयर बेच्ने होइन होल्ड गर्ने बेला भएको उनको भनाइ छ । ‘अहिले राम्रा कम्पनीहरुको पनि सेयर घटेको छ । यो उठाउने राम्रो मौका हो । अहिले सेयर उठाउने हो भने दीर्घकालीन फाइदा लिने समय हो । राम्रो कम्पनीलाई छनोट गरेर आफ्नो क्षमतालाई निर्धारण गरी बजारमा लगानी गर्ने हो, भने राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ । सस्तोमा त सेयर किन्ने हो ।’ उनले भने ।

लगानीकर्तालाई संयमित हुन आग्रह गर्दै उनी भन्छन्, ‘धैरयातापूर्वक लगानी गर्नुस्, बुझेर लगानी गर्नुस्, हल्लाको पछि नलाग्नुस, आत्तिनु पर्ने अवस्था छैन ।’

आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११४.०२ अंकले घटेर २६९८.२४ अंकमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक १९.५१ अंकले घटेर ५०५.२७ विन्दुमा पुगेको छ । आज कुल २२५ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता सेयर खरिदबिक्री गर्दा ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमा १३ वटै समूहको सेयरमूल्य घटेको छ । आज फाइनान्स समूहको सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यो समूहको सेयरमूल्य ८.५६ प्रतिशतले घटेको छ । त्यसैगरी, विकास बैंक र हाइड्रोपावर समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?