मुख्य राजमार्गमा सिसीटिभी जडान पूरा

लोकपथ
130
Shares

सुदूरपश्चिम । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलाली, कञ्चनपुर सडकखण्डका मुख्य भागमा सिसीटिभी जडान पूरा भई सञ्चालनमा आएको छ ।

प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको एक करोड ७१ लाख ३१ हजार रुपैयाँ लागतमा विभिन्न ठाउँमा १३८ थान सिसीटिभी जडान पूरा भएको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले आज अत्तरियामा आयोजित कार्यक्रमा जडान भएका सिसीटिभी प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गरे । सो अवसरमा मन्त्री जोशीले सिसीटिभी सञ्चालनसँगै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कैलालीको पूर्वी सीमा चिसापानीबाट कञ्चनपुरको पश्चिमी सीमा गड्डाचौकीसम्म र अत्तरियाबाट धनगढीको त्रिनगरनाकासम्मका संवेदनशील ठाउँमा सिसीटिभी जडान भई सञ्चालनमा आएको हो । मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले दुवै जिल्लाको १०८ दशमलव पाँच किलोमिटर लामो सडकमा फाइबर तार बिछ्याएर सिसीटिभी जडान भइ सञ्चालनमा आएको बताए । यी क्यामेरा जडानका लागि ९० वटा पोल (खम्बा)को प्रयोग गरिएको छ ।

यससँगै राजमार्ग क्षेत्र निगरानीमा आउँदा आपराधिक गतिविधि रोकथाम, अनुसन्धान, दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने विश्वास गरिएको छ । प्रहरीका गतिविधिलाई प्रविधितर्फ केन्द्रित गराउने नीति सरकारको छ । प्रदेश सरकारले यसअघि प्रहरीले प्रयोग गर्न मिल्ने गाडी, जीप, मोटरसाइकल प्रदेश प्रहरी कार्यालयलाई उपलब्ध गराएको थियो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेलले सिसीटिभी सञ्चालनसँगै शान्ति सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण गर्नमा सहयोग पुग्ने बताए । उनले भने, “मुख्य सडक सिसीटिभीको निगरानीमा आउँदा दुर्घटना गराएर भाग्ने घटनामा कमी आउने छ ।” विद्युत् आपूर्ति बन्द भएका बेला भने जडान भएका यी क्यामेरा चल्न नसक्ने बताइएको छ । कैलाली, कञ्चनपुरमा झ्याप्पझ्याप्प बत्ती जाने समस्या यथावत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?