ओमानविरुद्ध नेपाल ७ विकेटले विजयी, ज्ञानेन्द्रको अर्को अर्धशतक

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।

ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक अन्तराष्ट्रिय एकदिवसीय सिरिजमा आफ्नो अन्तिम खेल खेलेको नेपालले बलिङ तथा ब्याटिङ दुवै विधामा शानदार प्रदर्शनी गर्दा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो। खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दा ओमान १२१ रनको साधारण योगफलमै समेटिएको थियो। नेपालका लागि तिब्र गतिका बलर करन केसी तथा स्टार स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४-४ विकेट लिएका थिए।

त्यस्तै यस सिरिजमा पहिलो खेल खेलिरहेका शरद भेसवाकरले पनि खेलमा २ महत्वपूर्ण विकेट लिन सफल भएका थिए। ओमानका लागि कप्तान जिशन मकसुदले सर्वाधिक ४१ रनको योगदान दिँदा अन्य ब्याट्सम्यान सस्तोमै पविलियन फर्केका थिए।

जवाफी ब्याटिङमा १२२ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले १८.२ ओभरमा मात्र ३ विकेट गुमाएर जित निकाल्न सफल भएको हो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ५२ रनको पारी खेलेका थिए।

त्यस्तै ओपनर आशिफ शेखले ४० रनको योगदान दिएका थिए। ओमानका लागि नेस्टर धाम्बाले सर्वाधिक २ विकेट लिन सफल भएका थिए।

May be an image of one or more people, people playing sport, people standing and text

यस जितसँगै नेपालले आफ्नो ओमान भ्रमणमा सबै खेल खेलेको छ। नेपालले ओमनमा विश्वकप लिग २ अन्तर्गत ४ खेलमा २ जित निकाल्दा २ खेलमा पराजय भोगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?