‘संविधान कार्यान्वयन गर्न सबै राजनीतिक दल प्रतिबद्ध हुनुपर्छ’

लोकपथ
78
Shares

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले नेपालको संविधान उत्कृष्ट भए पनि समयसापेक्ष संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन)को पाँचौँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित साक्षात्कारमा दलका नेताहरुले संविधानमा सबै जात÷जाति, धर्म, क्षेत्र र सबै समुदायका मुद्दा समावेश भए पनि समयानुकूल परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा कुनै कमीकमजोरी नरहेको जनाउँदै कार्यान्वयनका लागि सबै राजनीतिक दलका नेताहरु प्रतिबद्ध हुनुपर्ने बताए । उनले राष्ट्रिय जिम्मेवारीका साथ संविधान कार्यान्वयनका लागि सबै नागरिकलाई आग्रह गरे । वरिष्ठ नेता पौडेलले कांग्रेस पार्टी फोरेर आफू पार्टी सभापति वा प्रधानमन्त्री हुने कुनै योजना नरहेकोसमेत प्रस्ट पारे ।

नेकपा (एमाले) का नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले सबै दलको ऐक्यबद्धता र एकताले मात्रै साझा संविधान निर्माण गर्न सफल भएको स्मरण गर्दै कार्यान्वयनका लागि एकताबद्ध हुनुपर्ने धारणा राखे । उनले भने, “संविधानमा खराबी छैन, कमीकमजोरी छैन, तर समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्छ ।”

नेपाली कांग्रेसका नेताद्वय डा चन्द्र भण्डारी र रामहरि खतिवडाले सञ्चार माध्यमको विकास भए मात्र लोकतन्त्र बलियो हुने बताए । पूर्वमहान्याधिवक्ता तथा संविधानविद् रमण श्रेष्ठले संविधानमा संसद् विघटन गर्ने प्रावधान नभएको तर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा नेता सुवास नेम्वाङ किन बोल्नुभएन ? भन्दै प्रश्न गरे । कार्यक्रममा रेडियोविज्ञ तथा रेडियोकर्मीले साना लगानीमा रहेका एफएमलगायत रेडियो संरक्षणका लागि सरकारले रेडियोमैत्री सञ्चार नीति ल्याउनपर्ने मागसमेत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?