काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधीशहरुलाई आग्रह गरेका छन् ।
आइतबार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको सरकारका विरुद्ध भुमिका खेल्ने तथा सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने कानून व्यवसायी लगायतका व्यक्तिहरु लगायत मुद्दाको फैसला गर्ने संवैधानिक इजलाशमा बसेका व्यक्तिहरुले सरकारबाट पदक पाएको भन्दै यो काम बेठिक भएको बताए । उनले तुरुन्तै पदक अस्वीकार गरेको घोषणा गरे ।
उनले भने, ‘त्यो सरकारलाई विस्थापित गर्ने र परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित मान्य न्यायाधिशहरु, त्यो सरकारका विरुद्धमा मुद्दा दर्ता गर्नका लागि सम्पूर्ण पहल र प्रयास गर्ने मुद्धावालाहरु, त्यसका पक्षहरु उहाँहरुले मेडल पाउनुभएछ । महत्वपूर्ण मेडल । एकजना साथी दिल्लीमा हुनुहुन्थ्यो दिल्लीबाटै पार्टी फुटाउन भुमिका खेल्नुभयो, उहाँले पाउनुभएछ । दुईजना नेताहरु यही रहेर क्रियाशील हुनुहुन्थ्यो उहाँहरुका परिवारका महत्वपूर्ण सदस्यहरुले मेडल पाउनुभएछ । हाम्रो पार्टीको सरकारको विरुद्धमा मुद्दा लगाउने साथीहरुले मेडल पाउनुभएछ सँगसँगै कानून व्यवसायी मित्रहरुले मेडल पाउनुभएछ । त्यो मुद्दाको फैसला गर्ने संवैधानिक इजलाशमा बस्नुभएका न्यायाधिशज्यूहरुले मेडल पाउनुभएछ । यसमा म यस्तै भएको हो भनेर म आरोप लगाउँदिन । पारी चितुवा करायो वारी सिँगारी हरायो भनेजस्तै यो जुन कार्य भयो यो संविधान दिवसकै दिनमा सुन्नुपर्दा यो बेठिक भयो भन्ने लाग्यो । म मान्य न्यायाधीशज्यूहरुलाई आदर गर्छु । त्यसैले यो कार्यक्रम मार्फत् तपाईहरु मार्फत् म उहाँहरुलाई आग्रह गर्छु यस्तो सन्देश जान दिनु हुँदैन । यहाँहरुले तुरुन्तै यो दिएको मेडललाई हामी अस्वीकार गर्छौ भनेर अस्वीकार गरेको घोषणा गर्दिनुस् । मेरो मान्य न्यायाधिशज्यूहरुलाई यो आग्रह छ ।’
नेता नेम्वाङले केन्द्र तथा प्रदेश सरकारमा समेत सहभागी भएर संसदमा पनि सबै प्रक्रियामा सहभागी भएका राजनीतिक दलहरुले आजको दिन संविधान दिवस नमनाउने भन्नकुरा नसुहाएको बताए । संविधान स्वीकार्य भएको पनि उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया