३३ केजी सुन काण्डः ३८ जनाको सम्पत्ति रोक्का गरी अनुसन्धान

विराटनगर, ३ बैशाख । ३३ केजी सुन काण्डमा संलग्न सनम शाक्यको हत्या आशंकामा पूर्वी नेपालका केही सुन व्यपारीसहित ३८ जना अनुसन्धानमा तानिएका छन् ।सनमको हत्या आशंकामा तानिएका विरुद्ध प्रहरीले सम्पूर्ण सम्पत्ति रोक्का गरी अनसन्धान सुरु गरेको हो । अनुसन्धान तानिएका २१ जना भने फरार छन् ।प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरिसकेको छ । सुनकाण्डमा उर्लावारीका समन शाक्यको हत्यापछि घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव इश्वर पौडेलको नेतृत्वमा टोली गठन भएको थियो ।प्रहरीले चैत २६ गते अनुसन्धानका लागि ३८ जनाको सम्पूर्ण कारोबार रोक्का गर्न अदालतसँग अनुमति मागेको थियो । सोही अनुसार अदालतले बैंक खाता, जग्गालगायत सबै सम्पत्ति रोक्का गर्न अनुमति दिएको थियो ।पौडेलको टोली पूर्व गएपछि ३८ जनाको सम्पत्ति रोक्का गरी उनीहरुमाथि अनुसन्धान थालेको उच्च प्रहरी स्रोतले जनाएको छ ।गत चैत २६ गते मोरङबाट पक्राउ परेका १७ जनालाई थप अनुसन्धान गर्न म्याद थपिएको छ ।फरार सूचिमा ३३ किलो सुन आयात र समन शाक्य हत्या प्रकरणमा नाइके भनिएका चुणामणि उप्रेती ‘गोरे’ पनि छन् ।गोरेका केही आफन्त पनि प्रहरीको खोजी सूचिमा छन् । १९ फागुनमा सनमकोे शव राखिएको स्करपियो विराटनगर–३ मा फेला परेको थियो ।शाक्यको हत्यापछि खुलेको ३३ किलो सुन काण्डमा प्रहरीकै संलग्नता भएको आशंकामा गृहमन्त्रालयले छानविन समिति बनाएको हो ।तस्करी गरी ल्याएको सुन बाटोबाटै हराएपछि तस्करहरुले खोजीका लागि यातना दिने क्रममा भरिया सनम शाक्यको मृत्यु भएको आशंका छ ।प्रहरीले धरानबाट ‘चाचाजी’ भन्ने महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनलाई नियन्त्रणमा लिएको छ ।त्यस्तै मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरे छन् । जिल्ला अदालत मोरङबाट उनीहरुमध्ये गोल्यानलाई चैत २५ गतेबाट १६ दिन र अन्यलाई चैत २६ गतेबाट लागू हुने गरी १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।सनमको हत्या आंशकामा खोजी सूचीमा रहेका चुडामणि उप्रेती (गोरे), रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (तामाङ), कमल कार्की, सन्दिप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतमको सम्पूर्ण कारोबार रोक्न अदालतले अनुमति दिएको हो । उनीहरु सबै धरान, इटहरी, विराटनगर र झापाका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?