‘कसैको चित्त दुखे माफ गरिदिनुहाेला’ भन्दै कमेडी च्याम्पियनका ‘जज’ गजुरेलले गरे यस्तो पोष्ट

लोकपथ
4.4k
Shares

काठमाडौं – लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को दोस्राे संस्करण सकिएको छ ।

यस सिजनको उपाधि भरतमणि पौडेलले जिते। हिजो (शनिबार) भएको ग्रान्ड फिनालेमा उत्कृष्ट प्रस्तुति दिँदै आएका भरतमणि बने। विजेता पौडेलले २५ लाख रुपैयाँ नगद र कार उपहार छन् । यस्तै फस्ट रनरअप विक्की अग्रवाल बनेका छन् भने सेकेन्ड रनरअप सन्तोष थापा बने।

यसैबीच ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा बसेका चर्चित हाँस्यव्यङ्ग्य विधाका मुर्धन्य कलाकार मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै कमेडी ‘च्याम्पियन सिजन – २’ को सम्पूर्ण अवधिभर आफूले कुनै गल्ती गरेको भए क्षमा गरिदिन भन्दै आफ्ना अनुभव र बाध्यता शेयर गरेका छन् ।

अन्य ‘जज’ सन्तोष पन्त, प्रदीप भट्टराई र ऋचा शर्मासँगै निर्णायकको भूमिका निभाएका उनले यो बिचमा धेरै राम्रा र प्रतिभाशाली कमेडीयनहरुलाई भेटेको उल्लेख गर्दै उनीहरुलाई आफ्नो कला अनुभव सुनाउने र उनिहरुबाट ‘कमेडी ट्रेन्ड’ सिक्ने मौका पाएको बताएका छन् ।

कलाकार  गजुरेलले ‘जज प्यानल’ मा रहेर नयाँ प्रतिभाहरुलाई जाँच्ने, तिनका क्षमतालाई परख्ने, हौसला दिने र समीक्षा गर्ने काम सहज नभएको अनुभव समेत सुनाएका छन् । उनले लेखेका छन्, ‘एकातिर ‘कन्टेन्ट’मा सामाजिक मूल्य र मान्यता, राष्ट्र र राष्ट्रियता र व्यक्तिको आत्मसम्मानप्रति गम्भीर हुनु पर्दथ्यो । अर्कातिर मनोरन्जनको स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन पनि दिनु आवश्यक थियो।’

उनले कार्यक्रममा सहभागि कमेडियनतर्फ संकेत गर्दै भनेका छन्, ‘समीक्षाका क्रममा प्रतियोगीलाई रुखो बोल्यौँ होला, त्यो तपाईंको प्रतिभा निखार्नको लागी थियो न कि निरुत्साहित पार्नका लागि । कमेडीमा तपाईंहरु जति माथि पुग्नुभयो, हामी त्यति खुशी हुनेछौँ । जति परिस्कृत कला पस्कनुभयो, हामीलाई त्यति नै गौरव महसुस हुनेछ ।’

आमा बन्ने मिति नजिकिएका कारण ‘कमेडी च्याम्पियन–२’ बाट अघिल्लो हप्ताबाट बाहिरिएकी अभिनेत्री ऋचा शर्माले केही दिनअघि मात्रै पहिलो सन्तानको रुपमा पुत्रलाई जन्म दिएकी छिन् । त्यसैले फिनालेमा उनीबाहेक ३ जना ‘जज’हरु मात्रै सहभागी थिए । (सबै तस्बिर उनको सामाजिक सञ्जाल फेसबुकबाट लिइएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?