धनगढी । सरकारले देशभरि हर्षोल्लासका साथ संविधान दिवस मनाइरहँदा सुदूरपश्चिममा भने विरोधका स्वर गुन्जिएका छन् ।
संविधानप्रति असन्तुष्ट पक्ष थरुहट/थारुवान संयुक्त मञ्चले संविधान जारी भएदेखि नै विरोधको आवाज उठाइरहेको थियो । संविधान जारी भएको सातौं वर्ष पुग्दा अन्य राजनीतिक दलहरुले पनि संविधानप्रति विरोधका स्वरहरु उठाउँदै आएका छन् ।
राजनीतिक दलहरुले संविधानप्रति असन्तुष्टि राख्नु र विरोध गर्नुलाई नियमित मानिन्छ तर सुदूरपश्चिममा भने यो सातौ वर्षमा नयाँ आवाज सुनिएको छ ।
२०७५ साउन १०मा बेपत्ता र ११ गते मृत अवस्थामा फेला परेकी कञ्चपुरकी ११ वर्षीया बालिका निर्मला पन्तसहित भर्खरै भारतीय पक्षले तुइन काट्दा बेपत्ता जयसिंह धामीसहितको नामसहितको पम्पलेट देखाउँदै संविधानको विरोध सुरु भएको छ ।
राष्ट्रिय सरोकार मञ्चले प्रदेशको अस्थायी राजधानीमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअगाडि पम्पलेटसहितको धर्ना दिएका थिए । उनीहरुका पम्पलेटमा लेखिएका कुराले संविधानमाथि नै प्रश्न उठाएको थियो ।
‘संविधान दिवस केको खुसी हो ?, निर्मलाले न्याय नपाएको खुसी हो ? र के तपाईँका दाइलाई तुइन काटेर महाकालीमा बगाएको खुशी हो ?’ भन्दै संविधान दिवस हर्षोल्लासका साथ मनाउन उचित नरहेको उनीहरुले बताइरहेका थिए ।
उनीहरुको ब्यानरमा प्रदेशमा न्यायबाट वञ्चित भएका पीडामात्र थिएनन । उनीहरुले सरकारमाथि पनि प्रश्न उठाएका थिए । पम्पलेटमा भनिएको छ ‘लाखौ कर्णधार खाडीमा गरिब देशको चौकीदार करोडौँ गाडीमा ?, अझै कति चेलीहरु निर्मला बन्ने, तुइन काटेर बेपत्ता पारिँदा अन्याय भयो भन्ने कि नभन्ने ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया