सुदूरपश्चिम सरकारद्वारा राजमार्गमा जटित सीसीटीभी क्यामरा हस्तान्तरण

लोकपथ
169
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारद्धारा राजमार्गमा जटित सीसीटीभी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले इलाका प्रहरी कार्यालय अत्तरियामा एक समारोहको आयोजना गर्दै जटित सीसीटीभी क्यामरा प्रदेश प्रहरी मुख्यालयलाई हस्तान्तरण गरेको हो ।

प्रदेश सरकारले गत आर्थिक वर्षमा पूर्वपश्चिम राजमार्ग कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकी र कैलालीको अत्तरियादेखि त्रिनगर नाकासम्म सीसीटीभी क्यामरा जडान गरेको थियो । मन्त्रालयका सचिव चुडामणि पौडेलले प्रदेश प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई हष्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री पूर्णा जोशीले सीसीटीभीले अपराध न्यूनीकरण, दुर्घटनाको जोखिम नियन्त्रण र प्रहरीलाई अनुसन्धानमा थप मदत पुग्ने बताइन् ।

‘हामीले प्रहरीलाई अपराध अनुसन्धानमा सहयोग पुगोस भनेर मुख्य राजमार्गमा सीसीटीभी जडान गरेका छौं । अब यसको सदुपयोग गर्ने जिम्मेवारी प्रहरीको हो’ उनले भने –‘जसरी तपाईँहरु भौतिक रुपमै सुरक्षामा खटिनु हुन्थ्यो अब त्यसरी नै प्रविधिको सही सदुपयोग गर्दै अपराध न्यूनीकरणमा खटिनुहोस्’, उनले प्रहरीले नखटिएसम्म क्यामरा जडान गरेको कुनै उपलब्धि नहुने बताइन् ।

उनले प्रहरीलाई अपराध न्यूनीकरण गर्न र अनुसन्धानमा सहयोग पुर्याउनका लागि प्रविधिमैत्री बनाउनतर्फ प्रदेश सरकार कटिबद्ध रहेको बताइन्।

प्रदेश प्रहरी प्रमुख पुरुषोत्तम कँडेलले प्रदेश सरकारले जडान गरेको सीसीटीभीले प्रहरीलाई अपराध अनुसन्धानमा थप सहयोग पुग्ने बताए । उनले भने, ‘यसरी नै प्रदेश सरकारले नौवटै जिल्लामा सीसीटीभी जडान गर्नुपर्छ ।’ उनले प्रहरीले पनि प्रविधिको विकाससंगै आफूलाई पनि अपराध अनुसन्धानमा थप परिवर्तन गर्दै लग्नुपर्ने बताए ।

प्रदेश सचिव पौडेलले प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा सीसीटीभी जडानका लागि दुई करोड विनियोजन गरेकोमा ठेक्का प्रक्रियामा जाँदा एक करोड ७१ लखमा एक सय ३८ स्थानमा सीसीटीभी जडान गरिएको बताए ।

उनले भने, ‘सिसिटिभी जडानका लागि ९० वटा पोल प्रयोग गरिएका छन । जसमा सातवटा चौकमा चौतर्फी घुम्ने सीसीटीभी जडान गरिएको छ । ती सीसीटीभीका १२ वटा स्थानमा स्टेशन मोनिटर राखिएको छ ।’

प्रदेश सचिव पौडेलले प्रदेश सरकारले सीसीटीभी जडान गरेपनि विद्युत अवरुद्ध हुँदा समस्या हुन सक्ने बताए । उनले भने –‘विद्युत गएपछि सीसीटीभी पनि बन्द हुने हुँदा सम्बन्धित स्थानीय तहले सोलार सिस्टमको प्रयोग गरी सो क्यामरालाई सुचारु राख्नमा मद्दत गरोस् ।’ उनले प्रदेश सरकारले चालु आर्थिक वर्षमा नौवटै जिल्लाको सदरमुकाम, मुख्य बजार र राजमार्गमा सीसीटीभी जडान गर्ने लक्ष्य लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?