संविधान दिवसमा के भने एमाले अध्यक्ष ओलीले ?

लोकपथ
35
Shares

काठमाडौं । नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान सर्वस्वीकार्य भएको बताएका छन् ।

आइतबार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा(एमाले)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालको संविधान सर्वस्वीकार्य भएको बताएका छन् । संविधान जारी गर्दाताका केही मतभेद भएको भएपनि अहिलेको अवस्थामा संविधान सर्वस्वीकार्य बनेको उनले बताए । मधेशकेन्द्रीत दलहरुप्रति लक्षित गर्दै उनले नेपालको संविधानको निष्ठा र बफादारितका साथ सपथ खाइ लाभको पदमा पुग्ने र संविधानमा मतभेद कायम नै छ भन्ने दोहोरो नीति जनतालाई धोका दिने कुरा मात्रै भएको उनले बताए ।

संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानीको समेटिएको नेपालको नक्सा संविधानको अनुसूचीमा राख्ने बेला सर्वसम्मती भएको उल्लेख गर्दै उनले संविधानको आधारभुत प्रस्तावना, मुल्यमान्यता सही छन् भन्नेकुरामा सर्वस्वीकार्यता भएको बताउनुभयो । उनले भने– ‘अझैपनि संविधान दिवस नमनाउँ भन्ने कुरा अथवा संविधानमा हाम्रो मतभेद छ भन्नेकुरा अथवा संविधान मान्दैनौँ भन्नेकुरा यो जनतालाई धोका दिने कुरा मात्रै हो । त्यसो भन्ने हरेक नेताहरुले संविधानको सम्बन्धमा सपथ ग्रहण गरेका छन् । हरेकले नेपाली जनतामा सार्वभौमसत्ता रहेको नेपालको संविधान बिना सर्त स्वीकार गर्दै म यो सपथ ग्रहण गर्छु कसैले ईश्वर साक्षी राखेर भनेका होलान् । कसैले देश र जनता साक्षी राखेर भनेका होलान । हरेकले संविधानको सपथ खाएका छन् । अनि यस्तो दोहोरो नीति हुनु हुँदैन । एकातिर लाभको लागि संविधानको सपथ खाने, संविधान प्रतिको निष्ठा र बफादारिताको सपथ खाने । अरु भाषामा बोल्दा बुझ्दैनन् कि भनेर कहिले कहिले आफ्नै भाषामा सपथ खाने ता की आफ्ना आसपासका जनताले बुझुन् भनेरै होला । आफ्नै भाषामा सपथ खाने कुरा पनि बेस्सरी चल्यो एकपल्ट जिद्दी । त्यसरी सपथ खाने एकातिर, अर्कातिर सधैँ मतभेद कायम छ भन्ने नक्कली कुरा हो । अर्को संविधानको दोस्रो संशोधन जब हामीले लिम्पियाधुुरा, लिपुलेक र कालापानी क्षेत्र हाम्रो भुभाग हो । हामीले हाम्रो नक्सामा कायम गरेर राजनीतिक र प्रशासनिक नक्सा जारी ग¥यौँ । त्यसलाई संविधानको अनुसूचीमा भएको लोगोमा हामीले सामेल गर्नुपथ्र्यो । र त्यसको निम्ति संविधान संशोधन गर्नुपथ्र्यो । त्यो पनि हामीले सर्वसम्मतीले गरेका छौँ । अर्थात् यसमा संवैधानिक प्रश्नमा सर्वसम्म्ती देशमा बनेको छ । अब कसैले हिंसाको वकालत गरिरहेको छैन । कसैले पृथकतावादको वकालत गरिरहेको छैन । अथवा ठुला भिन्नता र मतभेदका विषयहरु बाँकी छैनन् । संविधानले गरेका आधारभुत प्रस्तावनाहरु, मूल्यमान्यताहरु सही छन् भन्नेकुरा सर्वस्वीकार्य बनेको छ ।’

अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउनका लागि असंवैधानिक, अलोकतान्त्रिक र गैर कानूनी क्रियाकलाप भएको भन्दै संविधानको रक्षा र कार्यान्वयनका लागि यस्ता क्रियाकलापले बाधा सिर्जना गर्ने बताए ।

उनले सर्वोच्च अदालतप्रति लक्षित गर्दै संविधानको व्याख्याको नाममा संशोधन गरिएको आरोप पनि लगाए । उनले संविधानमा स्पष्ट व्याख्या गरिएको कुरालाई उल्लंघन गरेर अर्को कुरा गर्नु व्याख्या नभइ संशोधन भएको तर्क गर्नुभयो । संविधान संशोधनको अधिकार संसदको दुई तिहाईलाई मात्रै भएको भन्दै उनले यस्तो काम अन्तैबाट हुनु खतरनाक भएको टिप्पणी गरे । उनले भने– ‘पार्टी फोड्ने, पार्टी फोड्नका लागि अनेक तमासा । अलोकतान्त्रिक, असंवैधानिक, गैर कानूनी, र अनैतिक खालका क्रियाकलाप पार्टी फोड्नका लागि गरिए । त्यो संविधानको रक्षाको सन्दर्भमा, कार्यान्वयनको सन्दर्भमा र यसलाई विकसित गर्दै अगाडी बढाउने सन्दर्भमा गम्भिर बाधाको रुपमा यि चिजहरु पैदा भएका छन् । जसप्रति हामी सजग, सतर्क हुनुपर्दछ । संविधानको व्याख्याको नाममा जे हुँदैछ । व्याख्या होइन, व्याख्याको नाममा संशोधन । संविधानमा नभएका चिज, भएका चिजको व्याख्या हुन्छ । संविधानमा स्पष्ट व्याख्या गरिएका चिजलाई उल्लंघन गरेर अर्कै चिज गर्नुलाई व्याख्या भनिदैन संशोधन हो । जसको अधिकार संसदको दुईतिहाईलाई मात्रै छ । अरुसँग छैन । तर अन्यत्रैबाट यस प्रकारका काम हुन थालेका छन् र राजनीतिक उद्देश्यमा ति प्रयोग हुन थालेका छन् । जुन खतरनाक कुरा हो देशका लागि ।’

अध्यक्ष ओलीले सरकारले संविधान दिवसको अवसरमा दिइने विभुषणहरु नेताका आफ्नो परिवार र नातागोता भित्रका मानिसहरुलाई दिइएको भन्दै तिखो आलोचना गरे । संविधान दिवसको दिन सहिदका आमाबुबा, सहिदका सन्तान, घाइतेहरुले तक्मा पाउनुपर्नेमा नेताका श्रीमती र बुबाले तक्मा पाउनु बिडम्बना भएको उनको टिप्पणी छ । उनले सरकारले ७० दिनमा पनि पूर्णता पाउन नसकेको प्रति आलोचना गरे । उनले भने– ‘७० दिनमा सरकारले पूर्णता पाउन सकेको छैन । कति हाइसञ्चो हेर्नुस् त । कति हाइसञ्चो । आज संविधान दिवस । यो संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यतिबेला जनताको पराक्रमी सन्तानले सम्मानित हुन पाउनुपर्ने । सम्मानित भएको अनुभुती गर्न पाउनुपर्ने । गर्व गर्नुपर्ने । बा लाई सम्मान । श्रीमतिलाई सम्मान । कस्तो बिडम्बना यस देशको कस्तो भोका जुकाहरु पुगेका छन् शासनमा ? लाज लाग्छ संविधान दिवसका दिन बोल्दा । संविधान दिवसका दिन त संविधान ल्याएकोमा, लोकतन्त्र पाएकोमा, यो सफलता पाएकोमा सहिदका सन्तानले गर्व गर्न पाउनुपर्ने । सहिदका आमा बाबुले गर्व गर्न पाउनुपर्ने । घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने । आज त बाउको मुख हेर्ने दिन हो ? श्रीमतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ? कस्तो लालसा ? कस्तो भोक ? कस्तो आकांक्षा ?’

उनले नयाँ संविधान बनेपछि राजनीतिक परिवर्ननको लागि संघर्ष गर्नुपर्ने दिनको अन्त्य भएको उल्लेख गरे । नेपालको परिवर्तनको लागि अब हिंसा आवश्यक र स्वीकार्य छैन भन्ने स्पष्ट पारेको पनि उनको भनाई छ । अध्यक्ष ओलीले नेपाली समाजलाई स्थायित्व र समृद्धिको दिशामा अगाडी बढाउन संविधानले मार्गदर्शन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?