फुटाइयो नगरपालिकामा लगाइको ताला

RSS
91
Shares

लहान । विभिन्न माग गर्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा लगाएको ताला फुटाइएको छ ।

नगरपालिकाबाट भएको कामकाज र त्यसमा भएको खर्चको हिसाब पटकपटक माग गर्दै आए पनि सुनुवाइ नभएपछि गत बिहीबार स्थानीयवासीले नगरपालिकामा चौंथो पटक तालाबन्दी गरेका थिए ।

स्थानीयवासीले नगरपालिकामा लगाएको ताला कार्यवाहक नगरप्रमुख रोहिणीकुमारी यादव र उनका श्रीमान् सञ्जीवकुमार यादवले फुटाइदिएको स्थानीयवासी प्रदीप साहले जानकारी दिए ।

आफूहरुले उठाएका मागको कुनै सम्बोधन नै नगरी जबर्जस्ती ताला फुटाएकाले स्थानीयवासीले कार्यवाहक नगरप्रमुख यादवविरुद्ध केहीबेर नाराबाजीसमेत गरेका थिए । नगरपालिकामा व्यापक अनियमितता भएको र विभिन्न विकास निर्माणका काममा भएको प्रगति र गरिएको लगानीका बारेमा सूचना माग गर्दासमेत सूचना नदिएको स्थानीयवासीको आरोप छ ।

यसअघि पनि पटकपटक स्थानीयवासीले हिसाब सार्वजनिक गर्नुपर्नेलगायत मागसहित तालाबन्दी गरेका थिए । घुस प्रकरणमा सो नगरपालिकाका नगरप्रमुख सूर्यनाथ मण्डल निलम्बनमा परेपछि उपप्रमुख यादवले कार्यवाहक नगरप्रमुखका रुपमा कार्य सम्हाल्दै आएका छन् ।

कार्यवाहक नगरप्रमुख यादवले स्थानीयवासीले उठाएका माग एक/दुई दिनभित्रै सम्बोधन गरी समस्या समाधान गरिने बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?