सुदूरपश्चिममा संविधान दिवस : छैन हर्षोल्लास, थरुहटले कालो दिवसको रुपमा मनाउँदै

लोकपथ
260
Shares

धनगढी । आज नेपालको संविधान जारी भएको दिन । २०७२ साल असोज ३ गते जनताले चुनेका जनप्रतिनिधिहरूको सर्वोच्च संस्था संविधान सभाले ऐतिहासिक रुपमा नेपालको संविधान जारी गरेको दिन । विगतमा तीन दिनसम्म धुमधामसहित संविधान दिवस विविध कार्यक्रमसहित मनाउने गरिन्थ्यो । तर, यस वर्ष भने भीडभाडका कुनै पनि कार्यक्रम आयोजना गरिएका छैनन् ।
नेपालको संविधान जारी भएको सातौं वर्षको अवसरमा सुदूरपश्चिम प्रदेशमा विगतका वर्षहरूको तुलनामा थोरै कार्यक्रम मात्रै तय गरिएका छन् ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा रहेको संविधान दिवस मूल आयोजक समितिले प्रदेशभरी भीडभाड हुने गरी कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

विगतमा प्रदेश सरकारले तीन दिनसम्म सरसफाई, रक्तदान, फलफूल, प्रभातफेरि, प्रवचन लगायतका कार्यक्रम आयोजना गर्दै आएको थियो ।

संविधान दिवसको मुल दिन (असोज ३ गते) प्रदेशका नौ वटै जिल्लामा बाजागाजासहित प्रभातफेरी निकाल्ने गरिएको थियो । त्यस्तै, दिवसको तेस्रो दिन विभिन्न खेलकुद प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरी मनाइने गरिन्थ्यो ।

यस वर्षभने संविधान दिवस मूल आयोजक समितिले कोरोना महामारीलाई कारण देखाउ“दै विषयगत मन्त्रालय तथा मातहातका कार्यालयमा व्यानर टाँग्ने र राती दीप प्रज्ज्वलन गर्ने कार्यक्रम तय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन ।

शनिबारदेखि सोमबारसम्म प्रदेश सरकारका मन्त्रालय तथा विषयगत कार्यालयको मुलद्वारमा सातौ संविधान दिवसको नाराअंकित ब्यानर टाँगिएका छन्। त्यस्तै, सबै मन्त्रालय तथा मातहतका कार्यालयहरूमा राती दीप प्रज्ज्वलन गरिने छ ।
मन्त्री जोशीले दिवसका अवसरमा रेडियो संवाद, प्रचार–प्रसार लगायतका कार्यक्रम गरिने बताइन । उनले भनिन– संघीय सरकारबाटै भीडभाड हुने गरि कुनै पनि कार्यक्रम आयोजना नगर्न भनिएको छ । त्यसैले हामीले कुनै पनि त्यस्ता कार्यक्रम तय गरेका छैनौ ।

हरेक वर्ष जल्छ संविधान, थरुहटको कालो दिवस

संविधान सभाले २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गर्यो । संविधान जारी भएदेखि नै थरुहट÷थारुवान संयूक्त संघर्ष समितिले सो दिनलाई कालो दिवसका रुपमा बनाउने गरेको छ ।

सरकारले दीपावलीसहित संविधान दिवस मनाइरहँदा थरुहट/थारुवान संघर्ष समितिले भने संविधानका केही धारा, उपधारा जलाउने गरेका छन् ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाका अनुसार संविधानको धारा १८, २२ र ३२ तथा अनुसूचि ४ प्रति बढि विरोध रहेको छ ।
यस पटक थरुहट/थारुवान राष्ट्रिय मोर्चाले कैलालीको जोशीपुरमा आज आइतबार खबरदारी सभा आयोजनाको घोषणा गरेका छन् ।

मोर्चाका प्रवक्ता माधव थारुले जिल्लाभरीका थारु नेताहरूको सहभागितामा थारु अधिकारका लागि विरोध सहित संविधानका धाराहरू जलाउने कार्यक्रम रहेको बताए ।

‘हाम्रो निष्कर्षमा यो सफल संविधान होइन । यो अपुरो संविधान हो । त्यसैले यसमा संशोधन नगरिकन कार्यान्वयन गरियो भने सफल हुँदैन’ प्रदेश सभा सदस्य मालामती रानाले भनिन, अहिलेको सरकारको गतिविधि हेर्दा यो विफल भएको छ । सरकार असफल भएको कारणले संविधान कार्यान्वयन हुन सकेको छैन । उहाँहरु संविधान दिवस भव्य तरिकाले मनाउँदै हुनुहुन्छ । हामी यो संविधान दिवस ‘कालो दिन’ भनेर मनाइरहेका छौं ।’ उनले संविधान संशोधनका धेरै चुनौति रहेको बताइन ।

उनले प्रदेशहरूको सही सिमांकन नभएको, नागरिकताको सवाल बाकी नै रहेको बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?