प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा अनन्त चतुर्दशीको मेला शुरु

लोकपथ
56
Shares

बैतडी । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्रा सुरु भएको छ ।

हरेक वर्ष अनन्त चतुर्दशीका दिन सो मन्दिरमा ठूलो जात्रा लाग्ने गरेको भए पनि भाद्र शुक्ल त्रयोदशीबाट सुरु भई भाद्र शुक्ल पूर्णिमाका दिन सकिन्छ ।

यो मेलालाई स्थानीय भाषामा ठूली जात भनिने र धेरै श्रद्धालुहरुले तीन रात मन्दिरमा बस्ने चलन रहेकाले निकै घुँइचो लाग्ने गरेको छ । यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रही आएको छ । मेलामा निङ्गलाशैनी भगवतीको भण्डार घरबाट भण्डार ल्याएर मन्दिरमा राख्ने र पूर्णिमाको बिहान फेरी घरमै पु¥याइन्छ । साथै सोराडी र बैतडाको जात यो मेलाको मुख्य आकर्षण हो ।

निङ्गलाशैनी भगवती मन्दिरमा असोज र चैतको महिना लाग्ने जात्रामा बली दिने चलन रही आएको भए पनि यो जात्रामा भने बली दिने चलन नरहेको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहराले बताए । निङ्गलाशैनी भगवती मन्दिरमा हरेक महिना नित्य पूजाआजा हुने गरेको र विशेष पर्वमा जात्रा लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए । दशैँको बेला महाष्टमीको दिन सो मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ ।

पौष शुक्ल पूर्णिमा, चैतको नवरात्री, अनन्त चतुर्दशीको अवसरमा मन्दिरमा विशेष पूजाआजासहित मेला लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । जात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थी आउने गर्दछन् । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा भीडभाड नहोस् भनेर अस्थायी पसल भने राख्न नदिएको वडाध्यक्ष बोहराले जानकारी दिनुभयो । मेला अवधिभर देहीमाण्डौँ बजार क्षेत्रमा मदिरा निषेध गरिएको छ ।

गत वर्ष भने कोरोना महामारीका कारण अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला पहिलो पटक रोकिएको थियो । यसैबीच जात्राको अवसरमा दशरथचन्द नगरपालिकाले पनि असोज ३ र ४ गते सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?