८ कार्तिक २०७८, सोमवार

केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिँदै भोजपुर

२०७८,आश्विन,२,शनिवार १७:२२


भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरका जनताले विद्युत उपभोग गर्न पाएको करिब ४० वर्ष पुगेको छ । सिक्तेल खोला जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले विसं २०३८ देखि उपभोग गर्दै आएका छन् ।

दुई सय ५० किलोवाट क्षमताको उक्त जलविद्युत् गृहमा उत्पादन भएको विद्युत्ले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो । स्थानीयस्तरमा उत्पादन भएको यो विद्युत आयोजनाको गृह कक्ष तत्कालीन माओवादी विद्रोहीले भत्काइदिएपछि लामो सयम भोजपुर अन्धकारमयसमेत बनेको थियो । यहाँ यो बाहेक विद्युतको अन्य कुनै विकल्प पनि थिएन ।

मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचेअनुरुप काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइन विस्तारको पहल थलिएको हो । त्यो अवधिमा छिटफुटरुपमा पेल्टीसेट, ससाना विद्युत आयोजना सञ्चालनमा थिए । ग्रामीण भेगका अधिकांश स्थानीयले भने सोलार सेट, टुकीबत्ती, दियालोलगायत बालेर आफ्नो जनजीवन चलाउँदै आएको अवस्था थियो । भोजपुरको विद्युतको इतिहास बोकेको सो विद्युत गृह भने हाल बन्द छ ।

हिले–भोजपुर ३३ केभी राष्ट्रिय प्रसारणलाइन विसं २०६७ कात्तिक १९ देखि भोजपुरमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युतको प्रसारण लाइनबाट यहाँका ५० दशमलव ३३ प्रतिशत जनता मात्र लाभान्वित छन् । हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको छ । काममा ढिलाइ हुँदा विद्युत प्रावधिकरणले गरेको कामप्रति यहाँका स्थानीय तह तथा नागरिक असन्तुष्ट देखिएका छन् ।

केन्द्रीय प्रसारण लाइन यहाँका प्रायः सबै स्थानीय तहमा पुर्‍याउने कोसिस भइरहेको छ । पूणर्रुपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिँदैन । सबै भन्दाबढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत मानिसले केन्द्रीय प्रसारण लाइनको विद्युत उपभोग गरिरहेका छन् । बाँकीले स्थानीयस्तरमा उत्पादन भएको विद्युत उपभोग गरिरहेको गाउँपालिकाले जनाएको छ । ती स्थानमा पनि केन्द्रीय लाइन विस्तारको काम भइरहेको गाउँपालिकाको भनाइ छ ।

यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ । दोस्रोमा केन्द्रीय प्रसारणलाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ । यी दुई स्थानीय तहमा पनि पूणर्रुपमा केन्द्रीय प्रसारण लाइन विस्तार हुन् बाँकी छ । यहाँका केही नागरिकले स्थानीयस्तरका साना जलविद्युत् तथा सोलारको प्रयोग गरिरहेको अवस्था रहेको छ । भोजपुर नगरपालिकाका सबै वडामा विद्युत पुगेको भए पनि केही केही वडाका घरपरिवारमा विद्युत पुग्न केही समय लाग्ने भोजपुर नगरपालिका उपप्रमुख ममिता राईले जानकारी दिइन् ।

पौवादुङमा गाउँपालिकाको केही वडामा केन्द्रीय प्रसारणलाइन सञ्चालनमा रहेको भए पनि पूणर्रुपमा विस्तार भएको छैन । यो गाउँपालिकाका सबै क्षेत्रमा केन्द्रीय लाइन विस्तारका लागि बोलपत्र आह्वान भएर काम थालनी भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्र तीन हजारभन्दा बढी घरपरिवारको बसोबास छ । गाउँपालिकाले सबै क्षेत्रमा विद्युत् विस्तारका लागि ठूलो बजेट लाग्ने भएपछि दुर्गम क्षेत्रका स्थानीयवासीलाई लक्षित गरेर सौर्यबत्तीलगायत सामग्री वितरण गर्दै आएको छ । अहिले गाउँपालिका केन्द्र च्याङ्गे्रको केही भाग, वडा नं २ तिवारी भञ्याङको करिब ७० प्रतिशत, वडा नं १ श्यामशीला र वडा नं ५ सानोदुम्माको केही भागमा मात्र विद्युत् विस्तार भएको छ ।

उपप्रमुख राईले भनिन्, “पटकपटक काठमाडौँमा पुगेर विद्युत विस्तारका लागि बोलपत्र आह्वान गरेर कामको थालनी गर्न त सफल छौँ । ठेकेदारले केही वडामा पोल ल्याएर खसालेको छ, तर पछिल्लो समयमा आएर काममा प्राधिकरणका कारण बाधा पुगेको अवस्था छ । प्राधिकरणले सामान दिन आनाकानी गरेपछि ठेकेदारले काम अगाडि बढाउन सकेको छैन । म आफैँ प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर यस विषयमा जानकारी गराउँदा समेत कामअघि बढ्न सकेको छैन । यसतर्फ प्राधिकरणको ध्यान जान आवश्यक छ ।”

गाउँपालिकामा विद्युत् विस्तारका लागि रु चार करोड ४० लाखको बोलपत्र आह्वान गरेर कामको थालनी गरेको विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । त्यो रकममध्ये जनशक्ति व्यवस्थापन तथा अन्य प्राविधिक कामका लागि रु ९९ लाख ५३ हजार ६३३ खर्च हुने कार्यालयको भनाइ छ ।

हतुवागढी गाउँपालिकामा पनि केन्द्रीय प्रसारण लाइन विस्तार भए पनि लक्ष्यअनुसारको काम हुन नसकेको गाउँपालिकाको भनाइ छ । हालसम्ममा केन्द्रीय लाइन गाउँपालिका केन्द्र र आसपासका क्षेत्रमा वितरण भएको छ । केन्द्रीय लाइनले दुई वटा वडाका करिब ५०र५० प्रतिशत जनताले उपभोग गरिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राई जानकारी दिए । षडानन्द नगरपालिकाका करिब केन्द्रीय र स्थानीय गरी ७० प्रतिशत जनता विद्युत्को पहुँचमा रहेको उपप्रमुख मेरिका राईले जानकारी दिनुभयो । यहाँ १४ वटा रहेका छन् । सबै वडामा भने पूणर्रुपमा विद्युतीकरणका लागि काम भइरहेको नगपालिकाले जनाएको छ ।

साल्पासिलिछो गाउँपालिकामा पनि केन्द्रीय प्रसारणलाइन विस्तारको थालनी भएको छ । अन्य स्थानीयको तुलनामा यहाँ काम ढिला सुरु भएको हो । वडा न १ र २ कुलुङसम्म केन्द्रीय लाइन विस्तार भएर परीक्षण भइरहेको गाउँपालिकाल अध्यक्ष महेश राईले जानकारी दिए । उनले भने, “अन्य स्थानीय तहमा पनि केन्द्रीय प्रसारणलाइन विस्तार सुरु भएको छ । अन्य स्थानीय तहको तुलनामा यहाँ काम पछि सुरु भएको हो । असोजसम्ममा गाउँपालिका केन्द्र चौकी डाँडासम्म विस्तार गर्ने हाम्रो लक्ष्य छ ।”

केही समयअघिबाट मात्र केन्द्रीय लाइन विस्तार भएकाले यहाँका स्थानीय स्थानीयस्तरमा उत्पादन भएको विद्युत्लाई प्रयोग गर्दै आएका छन् । यहाँ आठ वटाको हारहारीमा पेल्टी सेट जडान गरेर विद्युत् निकालिएको अध्यक्ष राईले जानकारी दिए । अध्यक्ष राईका अनुसार यहाँका करिब ५० प्रतिशत जनता विद्युत्को पहुँचमा रहेका छन् । त्यस्तै दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिकामा सबैभन्दा कम चार प्रतिशत मात्र जनता विद्युत्को पहुँचमा रहेका छन् । यहाँ केन्द्रीय विद्युत विस्तारका लागि चार वर्षअघिबाट कामको थालनी गरिएको भए पनि प्रगति नभएको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए ।

अध्यक्ष राईले भने, “चार वर्षअघिबाट हाम्रो क्षेत्रमा विद्युत विस्तारको काम सुरु भएको छ । पहिलो पटक गरिएको बोलपत्रबाट हतुवागढीको घोडेटारबाट खम्बा र तार टाङ्ने काम भयो । त्यसपछि पुनः दोस्रो पटक पुनःकरिब अढाइ करोडको टेन्डर आह्वान भयो । त्यसले पनि काम सके भनेर गयो । फेरि अन्तिममा पौने तीन करोड जतिको टेन्डर आह्वान भएको भन्ने सुनेको छु । काम भएको छैन् । नौ वटा स्थानीय तहमध्ये केन्द्रीय लाइन विस्तार नभएको स्थानीय तह हाम्रो मात्र हो ।” अरुण गाउँपालिकामा पनि केही ठाउँमा विद्युत् विस्तार भए पनि पूणर्रुपमा विद्युत् सेवा पुग्न सकेको छैन् ।

थपिँदैछन् जलविद्युत आयोजना
भोजपुरमा पनि जलविद्युतका क्षेत्रमा लगानी बढिरहेको छ । इष्टर्न हाइड्रोपावर र टक्सार पिखुला खोला हाइड्रो पावरको निर्माण सम्पन्न भएर यसको उत्पादन राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।

इष्टर्नबाट पाँच र टक्सार पिखुवा खोला हाइड्रोपावरबाट आठ गरी दैनिक १३ मेगावाट विद्युत उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख सुधीरकुमार रायले जानकारी दिए । यी विद्युत गृहबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

उत्तरी क्षेत्रमा अवस्थित चिर्खुवा खोला अपर र लोअर दुई वटा आयोजना निर्माण भइरहेका छन् । चार दशमलव सात मेगावाटको अपर चिर्खुवाको काम ६० प्रतिशत काम सकिएको निर्माण कम्पनीका सहायक लेखापाल रविन बुढाथोकीले जानकारी दिए ।

यसको पाइपलाइन तीन किलोमिटर रहेको छ । त्यस्तै चार दशमलव छ मेगावाटको लोअर इर्खुवाको पनि काम सुरु हुने चरणमा रहेको लेखापाल बुढाथोकीको भनाइ छ । त्यस्तै जिल्लाको सबैभन्दा ठूलो इर्खुवा खोला जलविद्युत आयोजनाको काम पनि तीव्रगति भइरहेको छ । १५ मेगावाट क्षमता रहेको यो आयोजना दुई वर्षअघिबाट सुरु भएको हो । दुई दशमलव पाँच किलोमिटर पाइपलाइन भएको यस आयोजनाको दुई दशमलव तीन किलोमिटर पाइपलाइन सुरुङ रहेको छ ।

सोही खोलामा १५ मेगावाट क्षमताको अपर इर्खुवा खोला आयोजना निर्माणको तयारी भइरहेको लगानीकर्ताले बताएका छन् । त्यस्तैगरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको सिमानामा पर्ने श्याम खोलाबाट पनि सात मेगावाट क्षमताको विद्युत् आयोजना सञ्चालनको तयारी भइरहेको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,२,शनिवार १७:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा

कृष्ण अधिकारी- काठमाडौं । कोइला र प्राकृतिक ग्यास अभावसँगै अहिले विश्वव्यापी रुपमै ऊर्जा सङ्कट निम्तिएको छ । कोइला र प्राकृतिक ग्यासका

काठमाडौं । सल्यानमा जीप दुर्घटना भएको छ । सल्यानबाट दाङ जाँदै गरेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ

टीकापुर । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा

ताजा समाचार

वालुङ समुदायको फुटुक पर्व आजदेखि सुरु
 २०७८,कार्तिक,८,सोमवार १०:३१
नेताका कुरा, किन हुँदैनन् पूरा ?
 २०७८,कार्तिक,८,सोमवार १०:०९
वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७