त्यही एउटा तस्बिर : विष्णु माझी कहिले हुन्छिन् सार्वजनिक ?

कालो, रातो र बीचमा थोरै हरियो पुवाँलोको माला । चिल्लो पारेर कोरेको कपाल । आकाशे रंगको सामान्य फूलबुट्टे सारीमा सजिएको एउटा उज्यालो अनुहार ।

यही एउटा तस्बिर छ, जसले १५ वर्षदेखि गायिका विष्णु माझीलाई प्रतिबिम्बित गर्दै आएको छ ।

विष्णु माझी अर्थात् नेपाली लोकदोहोरी गीतमा चर्चित र लोकप्रिय नाम । सुरीलो स्वरकी धनी । या भनौँ नेपाली लोकदोहोरी गीतको पर्यायवाची नाम ।

नेपालकी सर्वाधिक लोकप्रिय मात्रै नभएर सर्वाधिक महँगी गायिका पनि हुन् माझी । नेपालमा चलेका अरु गायक गायिकाभन्दा १० गुनाभन्दा बढी पारिश्रमिक उनले लिनेगरेको चर्चा छ ।

उनका अवाजले भरिएका गीतहरू जति धेरै चर्चा हुन्छन्, त्योभन्दा धेरै उनी भने सधैँ गुमनाम छिन् । कहाँ र कसरी बसेकी छिन् कसैलाई थाहा छैन । थाहा छ त केवल उनलाई अनि उनका श्रीमान् सुन्दरमणि अधिकारीलाई ।

उनका दश हजारभन्दा बढी गीत सुनेका नेपाली श्रोतारुले विष्णु माझी भन्नेबित्तिकै त्यही एउटा फोटो सम्झिन्छन् । गीत सुन्छन् । नाच्छन्, हाँस्छन् अनि रुन्छन् पनि ।

यतिधेरै प्रिय गायिकालाई हेर्न र देख्न सबै लालयित छन् । त्यो दिन पर्खिएर बसेका छन् । जुन दिन विष्णु माझीले सबैलाई स्टेजबाट नमस्ते भन्दै हालखबर सोध्नेछिन् । अनि गाउनेछिन् स्वतन्त्र आकासमा धित मर्नेगरी आफ्ना मनका भाका ।

तर, त्यो दिन कहिले आउँछ या आउँदैन भन्ने कसैलाई थाहा छैन ।

उनको जादुमय सुरिलो आवजको त सधैँ चर्चा हुन्छ नै । तर त्योभन्दा बढी उनको जिन्दगीका बारेमा चर्चा हुने गर्छ ।

त्यसैले पनि उनका हरेक गीत सार्वजनिक हुँदा मिडियादेखि आम श्रोता दर्शकहरूमा विभिन्न किसिमका चर्चा हुनेगरेका छन् । तर हालसम्म पनि कसैले यथार्थ कुरा बाहिर ल्याउन सकेका छैनन् ।

बाहिर हल्ला चलेको र धेरैले भन्ने गरेको कुरा उनलाई आफ्नै श्रीमान् सुन्दरमणि अधिकारीले बन्धक बनाएर राखेका छन् । पैसा कमाउनको लागि प्रयोग गरेका छन् । उनले पाउने सबै पारिश्रमिक अधिकारीले नै लिनेगरेका छन् । उनको साथमा मोबाइल समेत छैन । सबै कुराबाट उनलाई बन्धक बनाएर राखिएको छ ।

हरेक चिया पसलदेखि चोक–चोकमा विष्णु माझीका बारेमा हुने कुरा हन् यी ।
तर के बाहिर हल्ला चलेजस्तै उनलाई बन्धक नै बनाइएको छ त ?

को हुन् विष्णु माझी ?

स्याङ्जा जिल्लाको रत्नपुर गाविस–६ चापाकोटस्थित कालीगण्डकी नदीको किनारमा जन्मिएकी विष्णु माझी परिवारकी जेठी छोरी हुन् । सामान्य पशुपालन र खेतीमा निर्भर उनको परिवारलाई वर्षमा ६ महिना पनि राम्रोसँग खान पुग्दैनथ्यो ।

उनी सानैदेखि लोकगीत गाइरहन्थिन् । गरिब परिवारमा जन्मिएको कारण ५ कक्षासम्म पढेपछि खर्चको अभावले उनले पढ्न पाइनन् । बीचमै स्कुल छाड्नु प¥यो ।

सानैदेखि विष्णुको सुरिलो आवाज सुन्दै आएका लोकगायक नारायण लेकालीले उनलाई औपचारिक रूपमा संगीतमा ल्याएका हुन् ।

त्यतिबेला विष्णु १३ वर्षकी थिइन् । नारायण स्थानीय विद्यालयका शिक्षक र त्यो भेगमा राम्रो चलेका गायक पनि थिए । ०५८ सालतिर नारायणले चापाकोटमा एउटा प्रतियोगिता आयोजना गरेका थिए । त्यही प्रतियोगितामा भाग लिन आएकी विष्णु प्रथम भइन् ।

विष्णुुको स्वर मन परेपछि नारायणले आफ्नो जोडी बनाएर अन्य प्रतियोगितामा भाग लिने निर्णय गरे ।

उनीहरूले विभिन्न दोहोरी गीत प्रतियोगितामा सँगै भाग लिएर पुरस्कार जित्न थाले ।
पहिलो पटक उनीहरूले बुटबल महोत्सवमा गीत गाएर दोस्रो भएका थिए । त्यसपछि २०६१ मा पाल्पा महोत्सवमा आयोजित प्रतियोगितामा प्रथम भए ।

सोही प्रतियोगितामा भाग लिन आएका थिए हाल उनका श्रीमान् सुन्दरमणि अधिकारी । पहिलो पटक सुन्दा नै सुन्दरमणि विष्णुको आवाजमा लोभिए ।

उनी विभिन्न दोहोरी प्रतियोगिताहरूमा भाग लिँदै आए पनि उनी खासै सफल हुन सकेका थिएनन् । विष्णुसँग जोडी बनाएर गाउन पाए आफू पनि सफल हुन्थेँ भन्ने मोह उनलाई जाग्यो ।

पछि सुन्दरमणिले ०६१ वैशाख ७ मा एक हप्ताका लागि भनेर लेखनाथ महोत्सवमा विष्णुलाई लिएर गए । उक्त महोत्सवमा आयोजित लोकगीत प्रतियोगितामा सुन्दरमणि र विष्णुको जोडी पहिलो भयो ।

त्यसपछि सुन्दरमणिले विष्णुलाई काठमाडौं लिएर आए ।

बिमा कुमारी दुरा, लक्ष्मी न्यौपाने, सिर्जना विरही थापा, शर्मिला गुरुङहरूको लोकप्रियता रहेको त्यो समयमा विष्णु उनीहरूको विकल्पका रूपमा देखा परिन् ।

सुरुदेखि नै उनको गीत लोकप्रिय बन्न थाले । उनका भैँसी पालेर, ड्राइभर दाइ, बटौलीको बस, नहेर्नु लुकेरलगायत गीत चर्चित भएपछि उनलाई गीत दिनेहरूको ओइरो लाग्न थाल्यो । लोकदोहोरी क्षेत्रमा सबैको सपनाको गायिका बन्न पुुगिन् उनी ।

त्यसपछि दिनमै ५ देखि ७ वटासम्म गीत रेकर्ड गर्न थालिन् । उनीसँग काम गर्न चाहनेले सुन्दरमणिसँग डिल गर्नुपथ्र्यो र अहिले पनि पर्छ ।

उनले गउनेबित्तिकै गीत चल्न थालेपछि उनको पारिश्रमिक बढ्दै गयो । अहिले उनी सर्वाधिक महँगी गायिकाको रूपमा चिनिन्छिन् ।

पछिल्लो समय उनले सेलेक्टेड गीत मात्र गाउने र परिश्रमिक पनि धेरै भएका कारण संख्यात्मक रूपमा उनका गीत कम आउँछन् । तर गुणात्मक हिसाबले भने उत्कृष्ट गीत मात्र आउने गरेका छन्।

उनले हालसम्म १० हजारभन्दा बढी गीत गाइसकेकी छिन् ।

उनका ड्राइभर दाइ, बटौलीको बस, भैँसी पालेर, नहेर्नु लुकेर, कसलाई सोध्ने होला, सानु कहाँ छौ ?, धर्ती कुनको, शीतल दिने पीपल समी छ, लालुपाते नुघ्यो, भुइँतिर, मै छोरी सलल.., न जाऊ है सानु पँधेरीमा, त्यो मन रुन्न होला र ?, पूर्वको मेची नि हाम्रै हो, घामले नि पोलिदयो, डाँडै फुर्के सल्लो, हरे शिव राम, रुमाल हल्लाई हल्लाई, मुटु जलाई, भैटै हुन्न होला र, सालको पातको टपरी हुनी, लालुमै, बोकेझार, पिडालु, झुम्का झलक्क, साँइलो, चरी जेलैमालगायत अधिकांश गीत सर्वाधिक लोकप्रिय छन् ।

 

याे पनि : गीतमा भनेजस्तै जेलजीवन नै बिताइरहेकी छिन् त विष्णु माझी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?