काठमाडौं। एएफसी महिला एसिया कप २०२२ अन्तर्गत छनोट चरणको खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (शनिवार) फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ।
उज्बेकिस्तानको राजधानी ताशकेन्तस्थित जार स्टेडियममा आजको खेल नेपाली समयअनुसार अपरान्ह ३:४५ बजेदेखि सुरु हुने तालिका रहेको छ। महिला एसिया कप छनोट चरणको समूह ‘एफ’ अन्तर्गत नेपालले आफूभन्दा बलिया टोली फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

‘चेली’ नामले चिनिने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको उज्बेकिस्तानसम्मको फुटबल यात्रा सजिलो भने पटक्कै रहेको छैन। सन् १९८६ डिसेम्बर १४ मा हङकङविरुद्ध पहिलो अन्तराष्ट्रिय खेल खेलेको नेपाली महिला टोलीले त्यस खेलमा १-० गोलले पराजय भोगेको थियो।
त्यस बेलादेखि सन् २०१० सम्म चेलीलाई अन्तराष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न निकै गाह्रो अवस्था रहेको थियो। घरेलु तथा राजनैतिक बाधा-अड्चनका कारण पनि चेलीको फुटबल यात्राले गति लिन सकेको थिएन।

‘फुटबल फर चेन्ज’लाई मूल मन्त्र मानेर बामे सरिरहेको चेलीको फुटबल यात्रामा सन् २०१० देखि भने सकारात्मक परिवर्तन आएको देख्न सकिन्छ। आफ्नो २४ वर्षको यात्रामा धेरै आलोचना तथा नकारात्मक परिस्थितिसँग लड्दै आएको नेपाली महिला फुटबलले मानौं सन् २०१० यता काँचुली फेरेको छ।
सन् २०१० यता साफ महिला फुटबल च्याम्पियनसिप तथा ११औं सागमा रजत पदक जित्न सफल महिला टोलीले नेपाली फुटबलमा नयाँ छाप छोड्न सफल भयो। २२ वर्षपछि चेलीको फिफा वरियतामामा पनि सुधार आएको थियो।

हाल १०१औं स्थानमा रहेको नेपाली महिला फुटबल टोलीले पछिल्लो सन् २०१९ मा आयोजित १३औं सागमा रजत पदक जितेको थियो। दक्षिण एसियाली महिला टोलीमा नेपाल अहिले भारत पछिको बलियो टिममा पर्दछ। ११औं साग तथा १३औं साग फाइनलमा नेपालले भारतविरुद्ध नै पराजय भोगेको थियो।
११औं सागमा ५-० गोल अन्तरले पराजित भएको नेपाल सन् २०१९ को १३औं सागमा भने १-० गोलले पराजित भएको थियो। चेलीको फुटबल स्तर माथि पुगेको पुष्टि यहाँबाट पनि भएको छ।

चेलीका लागि फिलिपिन्स र हङकङविरुद्धको खेल निकै नै महत्वपूर्ण रहनेछ। सन् २०२२ मा भारतमा आयोजना हुने एएफसी महिला एसिया कप खेल्ने सपना त छँदै छ, तर आफूभन्दा बलिया टोलीसँग प्रतिस्पर्धा गरेर नै आफ्नो स्तरमा वृद्धि गर्न सकिन्छ।
फिलिपिन्स

फिफा वरियता: ६८
पहिलो अन्तराष्ट्रिय खेल: सन् १९८१
एएफसी महिला एसिया कपमा
खेल: ९
सर्वोत्कृष्ट प्रदर्शन: छैटौं (सन् २०१८)
नेपालविरुद्ध
खेल: १ (सन् १९९९)
जित: १
गोल अन्तर: ५-०
हङकङ

फिफा वरियता: ७६
पहिलो अन्तराष्ट्रिय खेल: सन् १९७५
एएफसी महिला एसिया कपमा
खेल: ५७
सर्वोत्कृष्ट प्रदर्शन: सन् १९७५-२००३ (४ पटक चौथो स्थान)
सन्: २००६-२०१८ (छनोट हुन असफल)
नेपालविरुद्ध
खेल २: (पहिलो पटक सन् १९८६)
जित: २
नतिजा: १-०, ३-०
सन् २०२२ एएफसी महिला एसिया कपको लागि १२ राष्ट्रले छनोट खेलमा प्रतिस्पर्धा गर्दैछन्। सन् २०१८ महिला एसिया कपका तीन सर्वोत्कृष्ट टोलीले स्वतः प्रतियोगितामा स्थान बनाइसकेका छन् भने नेपाल लगायतका अन्य देशले छनोट खेल खेल्दै छन्।
महिला एसिया कप सन् २०२३मा आयोजना हुने महिला विश्वकपको लागि पनि प्रारम्भिक छनोट प्रतियोगिता हुनेछ। एसिया कपका टप ५ टोलीले सन् २०२३ महिला विश्वकपमा स्थान प्राप्त गर्नेछन् भने अर्को दुई टोलीले प्लेअफ चरणका खेल खेल्नेछन्।

समग्रमा भन्नु पर्दा, चेलीले उज्बेकिस्तानमा निकै नै महत्वपूर्ण प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। अस्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्सको नेतृत्वमा ताशकेन्त्त पुगेका चेलीलाई सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी उर्फ साम्बाको कमी त अवश्य पनि हुनेछ, तर नेपालले उनीबिना नै हङकङ र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नु पर्नेछ। फिलिप्सले नेपालले राम्रो तयारी तथा मैत्रीपूर्ण खेल खेलिसकेको कारण चेलीको लक्ष्य जित नै रहेको पनि बताइसकेका छन्।
सेप्टेम्बरको महिनामा उज्बेकिस्तानको मौसम लगभग २९-३० डिग्री सेल्सियस हुने गर्दछ। नेपाली चेलीका लागि मौसम पनि त्यस्तो गार्हो हुने देखिँदैन। अब मात्र जितको प्रतीक्षा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया