अमेरिकाद्वारा नेपाल ६ विकेटले पराजित

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत शुक्रवार सम्पन्न खेलमा संयुक्त राज्य अमेरिकाले नेपाललाई ६ विकेटले पराजित गरेको छ।

ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५५ रनको अर्धशतकिय पारी खेल्दा ओपनर कुशल भुर्तेलले ३६ रनको योगदान दिएका थिए। त्यस्तै नेपालका लागि डेब्यू गरेका युवा खेलाडी गुलशन झाले २८ रनको पारी खेल्दा अन्य ब्याट्सम्यान भने सस्तोमै पविलियन फर्केका थिए।

नेपाललाई ४८ ओभरमा नै समेट्ने क्रममा अमेरिकाका कप्तान तथा तिब्र गतिका बलर सौरभ नेत्रभल्करले सर्वाधिक ४ विकेट लिएका थिए। त्यस्तै अर्का तिब्र गतिका बलर काइल फिलिपले ३ विकेट लिंदा गोरे, हाचिनसन र केनिगेले समान १-१ विकेट लिएका थिए।

जवाफमा १७५ रनको सामान्य लक्ष्य अमेरिकाले मात्र २९.३ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो। अमेरिकाका लागि ओपनर स्टेभन टेलरले सर्वाधिक ९२ रन बनाउन सफल भए।

May be an image of one or more people, people playing sport and people standing

त्यस्तै अन्य ब्याट्सम्यान मोनांक पटेल र जसकरण मल्होत्राले क्रमशः अविजित ३८ र ३६ रन बनाएका थिए। नेपालको लागि स्पिनर सन्दीप लामिछाने तथा करण केसीले समान २-२ विकेट लिएका थिए।

विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा अब नेपालले आईतवार आयोजक राष्ट्र ओमानसँग अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?