भरतपुर अस्पताललाई ५० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

लोकपथ
130
Shares

भरतपुर । भरतपुर अस्पताललाई भरतपुर महानगरपालिकाले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

महानगरपालिकाले अस्पताललाई ५० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । महानगर प्रमुख रेनु दाहालले अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्ण पौडेललाईस्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

इसिजी मेसिनसहित कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री महानगरले हस्तान्तरण गरेको हो । सो अवसरमा भरतपुर महानगरप्रमुख दाहालले कोभिड–१९ को उपचारमा भरतपुर अस्पतालले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरिएको बताइन् । काठमाडौँलगायत विभिन्न जिल्लाबाट हेलिकोप्टरबाट कोभिडका बिरामी उपचारका लागि भरतपुर आएको भन्दै कोभिड उपचारमा कुनै कमी हुननदिएको उनको भनाइ थियो ।

स्वास्थ्य सामग्रीको सही सदुपयोग गर्दै सेवालाई अझ बढी प्रभावकारीरूपमा प्रयोग गर्न उनले आग्रह गरिन् । मित्रराष्ट्र चीनको सिगात्से सिटी र बेइजिङ एग्रो बायोटिकले महानगरलाई उपलब्ध गराएको स्वास्थ्य सामग्री भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको हो ।

सो अवसरमा प्रदेशसभा सदस्य गीता वाग्लेले भरतपुर अस्पतालको सेवा प्रभावकारी भइरहेको बताइन् । अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले भरतपुर महानगरबाट अस्पतालको विकासमा निरन्तर सहयोग भइरहेको भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । कार्यक्रममा मेडिकल सुपरिटेण्डेन्ट पौडेलले सबैको सल्लाह र सुझाव अनुसार नै अस्पताललाई अगाडि बढाउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?