कांग्रेस क्रियाशील सदस्यता विवाद भोलिसम्म टुङ्ग्याउने शीर्ष नेताहरुबीच सहमति

लोकपथ
39
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता शनिबार दिउँसोसम्म टुङ्ग्याउने सहमति भएको छ ।

शुक्रबार भएको शीर्ष नेताहरुको बैठकले सार्वजनिक हुन बाँकी रहेका १२ जिल्लाको क्रियाशील सदस्यता शनिबार दिउँसो १ बजेसम्म टुङ्ग्याएर निर्वाचन समितिलाई सार्वजनिक गर्न दिने सहमति भएको एक नेताले जानकारी दिए ।

त्यस्तै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गरी क्रियाशील सदस्यताको टुंगो लगाएर समयमै महाधिवेशनको प्रक्रिया अघि बढाउने विषयमा समेत छलफल गरेका हुन् ।

‘कार्यदलले पहिले जुटाएको सहमति बमोजिम हालसम्मको कार्यान्वयनको अवस्थाबारे बिफ्रिङ भयो । त्यसपछि अब त्यसको कसरी समाधान खोज्ने? भन्ने विषयमा छलफल भएको हो,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘भोलि दिउँसोसम्म सदस्यताको टुंगो लगाउने सहमति भएको छ ।’

यही असोज ५ गते वडा अधिवेशन हुन बाँकी रहेका २० जिल्लाको वडा अधिवेशन गर्ने कार्यतालिका छ ।

तर, हालसम्म २० मध्ये ८ जिल्लाकोमात्र क्रियाशील सदस्यता सार्वजनिक गरिएको छ । अझै १२ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन नसक्दा ती जिल्लाहरुमा केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि खटाउन सकेको छैन ।

प्रदेश नम्बर २ का सबै जिल्ला र अन्य प्रदेशका केही जिल्लाहरुको वडा अधिवेशन असोज ५ गते गर्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?